८० हजारमा मोटरसाइकल बेचेर घाँस खेती गरेका गोकर्ण अहिले महिनामै कमाउँछन् लाखौं



रेसुङ्गा । पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् । नेपालमा सम्भावना नभएको भन्दै युरोपेली र खाडी मुलुकमा जाने युवायुवतीको लर्को लागिरहेको छ । नेपालमै केही गर्नुपर्दछ भन्ने सोच अपवादमा मात्र भेटिन्छ ।

त्यही एउटा अपवादको पात्र बनेका छन्, गुल्मीका २३ वर्षीय गोकर्ण नेपाली ।

गुल्मीको इस्मा गाउँपालिका–३ गहतेका नेपालीले ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर काम गरिरहेका छन् । उनको मुख्य बुझाई ‘सम्भावना खाडीमा होइन, झाडीमा भेटिन्छ’ भन्ने रहेको छ । मुख्य गरि घाँस खेती गरिरहेका नेपालीले झाडीमा मेहनत गरेर अर्थोपार्जन गर्ने बताउँछन् । उनले खाडी मुलुकमा जानुको सट्टा झाडीमा मेहनत गर्न सुझाउँछन् ।

उनले साउन २०७६ देखि ८० हजार रुपैयाँमा घाँस खेती सुरु गरेर त्यसलाई अहिले ५० लाख रुपैयाँभन्दा बढीको बनाएका छन् । उनले गत जेठदेखि भदौसम्ममा १९ लाख रुपैयाँको घाँसको बिरुवाहरू बिक्री गरे । उनीसँग गुल्मीका स्थानीय तहसँगै छिमेकी जिल्ला पाल्पा, अर्घाखाँची, प्यूठान र बाग्लुङका कृषकहरुले बिरुवाहरू खरिद गर्ने गरेका छन् ।

उनीसँग अहिले रु ३१ लाख बराबरका इपिल–इपिल, राइखन्यु र नेपियरलगायत ४४ प्रकारका घाँसहरू छन् । उनले कूल एक सय २० रोपनी जग्गामा घाँस खेती गरेका छन् । सो जग्गामध्ये ८० रोपनी गोकर्ण आफ्नै हो भने बाँकी ४० रोपनी लिजमा लिएका छन् ।

बिहानदेखि साँझसम्मको समय खेतबारीमा व्यतीत गर्ने गोकर्णले घाँसखेतीसँगै बाख्रापालनसमेत गरिरहेका छन् । उनले घाँस बिक्री नभएको समस्यालाई दीर्घकालीन समाधानको उपाय बाख्रापालनलाई रोजेको बताउँछन् ।

नेपालीको आधुनिक खोर निर्माण गरी त्यसमा ३६ वटा बाख्रा राखेका छन् । भौतिक संरचना र माउ बाख्रा खरिदसँगै कूल छ लाख रुपैयाँ लगानी गरेका उनी गोकर्णले आम्दानीको सुरुआती चरणमा रहेको बताउँछन् ।

गोकर्णले सुरु गरेको घाँस खेती र बाख्रापालनबाट रोजगारीसमेत सिर्जना भएको छ । आफसँगै दिनभर अर्का एक र मौसमी रुपमा १०÷१२ गरी औसतमा दैनिक आठजनाले फर्ममा रोजगारी पाएका छन् ।

यीबाहेक आमा विष्णु नेपाली, भाइ करण र बहिनी गोमा पनि गोकर्णलाई हरेक क्षण सहयोग गर्छन् ।

‘कृषि र पशुपालनमा व्यवस्थित लगानी गरेमा रोजगारी सिर्जना हुन्छ’, गोकर्णले भने ।

उनले आफ्नो फर्ममा कामदार अभाव हुने गरेको गुनासो गर्छन् । स्थानीयले आफ्नै गाउँमा काम गर्न हिच्किचाअट मान्ने गरेको अनुभव गोकर्णसँग छ । राम्रै तलब सुविधामा पनि कामदार नपाएको समस्या उनले झेलिरहेका छन् ।

गोकर्णले आफू घाँस खेतीमा पशुपालनबाटै प्रेरित भएको बताउँछन् । पशुपालन धेरै ठाउँमा गरिरहेको देख्नुभएका उनले पशुको आहार व्यवस्थापन सहरबाट भइरहेको देखे । आहारको व्यवस्थापन आफैँले गर्न सकेमा आम्दानीको स्रोत बढ्नेमा उनको बुझाइ थियो । त्यसपछि आफू घाँस खेतीमा प्रेरित भएको उनले बताए ।

अझै पनि घाँस खेतीमा कमी भएकाले अरूले यो व्यवसाय सुरुआत गरेमा पनि निकै फाइदा पुग्ने उनको धारणा छ । आफू घाँस खेती र बाख्रापालनबाट निकै सन्तुष्ट रहेको भन्दै गोकर्णले पशुपालन व्यवसाय बढिरहेसम्म लगानी नडुब्ने बताउँछन् । आफ्नो बुबा चिन्ताबहादुरलाई ४० वर्षको अल्पायुमा गुमाएका गोकर्ण पेसाप्रति विचलित नभई अडिग छन् । उनी हरेक परिस्थितिसँग जुधेर अगाडि बढ्नुपर्ने बाध्यता सबैमा हुने सुझाउँछन् ।

गोकर्ण पहिले सामान्य मोटरसाइकल चढ्थे । केही गर्ने हुटहुटीले उनले मोटरसाइकल बेचेर घाँस खेतीमा लगानी गरेका थिए । उनले ८० हजार रुपैयाँमा मोटरसाइकल बेचेर घाँसको बीउ तथा बिरुवा ल्याएर रोपेका थिए । पछि त्यही घाँसको खेतीबाट भएको आम्दानीले पुनः नयाँ मोटरसाइकल किनेर चढ्न सफल भएको बताउँछन् उनी । उनले यसलाई सफलताको रूपमा लिएका छन् ।

वार्षिक चार महिना घाँसको हाहाकार हुने भएकाले आपूm घाँस भण्डारणमा जुट्न थालेको गोकर्णले बताउँछन् । फागुनदेखि जेठ महिनासम्मको सुक्खायाममा घाँसको हाहाकार हुने गर्छ । त्यो समयका लागि वर्षायाममा घाँस भण्डारण गर्न आफू लागिरहेको उनले बताए ।

‘मैले चार महिनाका लागि घाँस भण्डारण गर्ने सोच बनाएकाले इस्मा गाउँपालिका र कृषि ज्ञान केन्द्रसँग पनि सहयोगको अपेक्षा राखेको छ’, गोकर्णले भने ।

घाँस खेती गरेर अन्य पालिकामा निर्यात गर्दा पनि आफूलाई गाउँपालिकाको सहयोग नगरेको भन्दै जनप्रतिनिधिहरुले हौसला दिएमात्र पनि पुग्ने उनको भनाइ छ ।

रासस/सन्तोष महतारा


क्लिकमान्डु