४ बीमा कम्पनीले कात्तिकभित्रै एकीकृत कारोबार गर्ने, अन्यको कहिले ?



काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि हालसम्म १७ वटा बीमा कम्पनीले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ती कम्पनीलाई समितिले सैद्धान्तिक सहमति समेत दिईसकेको छ ।

सैद्धान्तिक सहमति पाएका ती कम्पनीहरूले एकीकृत कारोबार गर्ने मिति समेत तोकिसकेका छन् । जसमध्ये ४ वटा कम्पनीले कातिक महिनाभित्रै एकीकृत कारोबार गर्ने भएका छन् ।

सूर्या लाइफ र ज्योति लाइफ, प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफ, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स र सानिमा र जनरल इन्स्योरेन्सले कात्तिकभित्र एकीकृत कारोबार गर्ने भएका हुन् ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले पहिलो पटक मर्जरमा जाने सम्झौता गरेका थिए । वैशाख २२ गते हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले एक आपसमा गाभ्ने/गाभिने सहमति गरेका थिए ।

यी दुई कम्पनीले एकीकृत करोबार शुरू गरिसकेका छन् ।

अन्य कम्पनीले पनि एकीकृत कारोबार गर्ने मिति तय गरेका छन् ।

समितिकाअनुसार मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले कात्तिक १ गतदेखि एकीकृत कारोबार गर्ने भएका छन् । ज्योति लाइफ र सूर्या लाइफबीच असार १२ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरको सम्झौता गरेका थिए । यी कम्पनीले पनि कात्तिक १ गतेदेखि नै एकीकृत करोबारको थालनी गर्ने भएका छन् ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले असार २७ गते सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सिद्धार्थ र प्रिमियरले पनि कात्तिक महिनाभित्रमा नै एकीकृत कारोबार गर्ने भएका छन् ।

सानिमा लाइफ र रिलायन्स लाइफ, सानिमा जनरल र जनरल इन्स्योरेन्सले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेका थिए । यी कम्पनीले पुसभित्र एकीकृत कारोबार गर्ने छन् ।

असार ३० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेका सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलले चैतमा एकीकृत कारोबार थाल्ने भएका छन् ।

सानिमा र जनरल इन्स्योरेन्सले कात्तिक १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी कम्पनीले असार २९ गते सम्झौतापत्रमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका सानिमा लाइफ र रिलायन्सले पुस महिनादेखि एकीकृत कारोबार थाल्ने समितिले जनाएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीले पनि पुस मसान्तभित्र एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।

असार ३२ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले फागुन महिनादेखि एकीकृत करोबार गर्ने भएका छन् ।

गत चैत १० गते बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो ।

समितिको नयाँ व्यवस्थाअनुसार बीमा कम्पनीहरूले २०७९ चैत मसान्तसम्ममा तोकिएको चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरूले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ थियो ।


क्लिकमान्डु