लिखित कागज गराएर बाराको टाँगियाबस्तीमा बल्यो बिजुली



काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा विद्युत पुगेको छ ।

नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन ।
जसले गर्दा टाँगियाका स्थानीय अँध्यारोमा बस्न बाध्य बनेका थिए ।

नेपाल विद्युत प्राधिकरणले करिब दुई करोड ३४ लाख रुपैयाँ खर्च गरेर शनिबारबाट टाँगियाबस्तीमा वत्ति बालेको छ ।
टाँगिया बस्तीमा करिब एक हजार ४७६ घरधुरी रहेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालकहरु, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले फागुनमा टाँगियाबस्तीको स्थलगत भ्रमण गरी टाँगिया बस्तीलाई अँध्यारोमा राख्न नहुने भन्दै तत्काल विद्युतीकरण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।

ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व गरिने स्थातान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो ।

प्राधिकरणका सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ बत्ति जडान गरिएको बताए ।

प्राधिकरणले करिब ७ किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको छ । रुख नकाट्नका लागि जंगल क्षेत्रमा कभरड कन्डक्टर-इन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ । टाँगियाबस्तीमा विद्युत उपलब्ध गराउन एक सय केभिए क्षमताका चार थान बितरण ट्रान्सफर्मर जडान गरिएको छ ।


क्लिकमान्डु