नेपाल लाइफले सेयरधनीलाई १२६ प्रतिशतसम्म लाभांश दियो, कुन वर्षमा कति ?



all logos final

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २०५८ साल वैशाख २१ गतेदेखि जीवन बीमा व्यवसाय शुरू गरेको हो । इन्स्योरेन्सले सेयरधनीहरूलाई आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष २०७७/७८ सम्म लाभांश दिएको तथ्यांकले देखाएको छ ।

नेपाल लाइफको १० वर्षको लाभांश इतिहास हेर्दा कम्पनीले लगानीकर्तालाई न्यूनतम १४ प्रतिशतदेखि अधिकतम १२६.३१ प्रतिशतसम्म लाभांश वितरण गरेको देखिन्छ ।

कम्पनीले आर्थिक वर्ष २०६८/६९ मा लगानीकर्तालाई १२६.३१ प्रतिशत लाभांश दिएको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई १४.७३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । जुन लाभांश हालसम्मकै कम हो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीलाई १५.७८ प्रतिशत बोनस सेयर दिने भएको छ । यस्तै, कम्पनीले कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । कम्पनीले गरेको यस प्रस्ताव बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेसँगै लगानीकर्ताले पाउनेछन् ।

आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीले लगानीकर्तालाई ५१ प्रतिशत लाभांश दिएको थियो । उक्त आवमा इन्स्योरेन्सले सेयरधनीलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी सो बराबरको लाभांश वितरण गरेको थियो ।

आव २०७४/७५ मा इन्स्योरेन्सले ४८.५ प्रतिशत, आव २०७३/७४ मा ७०.५ प्रतिशत, आव २०७२/७३ मा २६.३१ प्रतिशत, २०७१/७२ मा २६.३१ प्रतिशत, २०७०/७१ मा ६८ प्रतिशत र २०६९/७० मा ९८.५ प्रतिशत लाभांश वितरण गरेको तथ्यांक छ ।

यस्तै, इन्स्योरेन्सले आर्थिक वर्ष २०६८/६९ मा सेयरधनीलाई ७० प्रतिशत बोनस सेयर र ५६.३१ प्रतिशत नगद गरी कुल १२६.३१ प्रतिशत लाभांश दिएको थियो ।

जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँको व्यवसाय गरेका छन् ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीहरूको व्यवसाय ९.३५ प्रतिशतले घटेको हो । गत आवमा कम्पनीहरूले १६ अर्ब १६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

तथ्यांकअनुसार जीवन बीमा व्यवसायको ३२ प्रतिशत हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । साउन महिनामा नेपाल लाइफले कुल जीवन बीमा व्यवसायको ३१.७० प्रतिशत बजार हिस्सा ओगटेको हो ।

साउन महिनामा नेपाल लाइफले ४ अर्ब ७७ करोड रूपैयाँ संकलन गरेको छ । गत आवको तुलनामा इन्स्योरेन्सले ०.२९ प्रतिशतले व्यवसाय बढाएको हो । गत आर्थिक वर्षको साउन महिनामा इन्स्योरेन्सले ४ अर्ब ७६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।


क्लिकमान्डु