चालु आवको अन्त्यसम्ममा बीमाको पहुँच ५०% पुग्ने, दलका घोषणापत्रमा बीमालाई समेट्न पहल



काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा नेपालमा बीमाको पहुँच ५० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

चालु आवको अन्त्यसम्ममा जीवन बीमाको पहुँच ५० प्रतिशत नागरिकमा पुग्ने अनुमान गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

गत आवमा सरकारले एक तिहाइ जनतामा बीमाको पहुँच पुर्‍याउने लक्ष्य लिएको थियो । सरकारले लिएको लक्ष्यभन्दा बढी जनसंख्यामा बीमाको पहुँच पुगेको उनको भनाइ छ ।

‘गत आवमा बीमाको पुहँच एक तिहाइ जनतामा पुर्‍याउने सरकारको लक्ष्य थियो । तर, सरकारको लक्ष्यभन्दा बढी जनतामा बीमाको पहुँच पुगेको छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘स्थानीय निकायसँग समन्वय गरी गरेको कार्यक्रमले गर्दा बीमाको दायरा बढेको हो ।’

समितिको तथ्यांकअनुसार गत आवको अन्त्यमा जीवन बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३८.२६ छ । वैदेशिक रोजगार बीमासहित जीवन बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ४१.२६ छ ।

अघिल्लो आवमा वैदेशिक रोजगार बीमाबाहेक जीवन बीमाको दायरामा आएको जनसंख्या प्रतिशत २५.२३ र वैदेशिक रोजगार बीमासहति बीमाको दायरामा आएको जनसंख्या प्रतिशत २७.५३ थियो ।

बीमा समितिले बीमाको पहुँच बढाउन बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । स्थानीय तहहरूमा बीमासम्बन्धी जनचेनामूलक कार्यक्रमहरू अभियानका रूपमा संचालन गर्दै आएको समितिले अब भने राजनीतिक दललाई उनीहरूको घोषणापत्रमा बीमालाई राख्न पहल गर्ने भएको छ ।

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ । प्रमुख राजनीतिक दलका घोषणापत्रमा बीमा गर्ने खालका कार्यक्रम समावेश गर्न समितिले अनुरोध गर्ने भएको हो ।

उनकाअनुसार समितिले सबै राजनीतिक दललाई उनीहरूका घोषणापत्रमा बीमाका एजेण्डा समावेश गर्न अनुरोध गर्ने तयारी गरेको छ ।

‘आगामी मंसिरमा हुने निर्वाचनमा दलहरूका घोषणापत्रमा बीमालाई एजेण्डा बनाउन अनुरोध गर्ने तयारी छ,’ पौडेलले भने,‘दलहरूलाई भेटेर उनीहरूका घोषणापत्रमा बीमालाई पनि समावेश गर्न आग्रह गर्ने छौं ।’

राजनीतिक दलहरूले घोषणापत्रमा बीमालाई समावेश गर्दा बीमाको जनचेतना बढ्ने विश्वास समितिले लिएको छ ।

बीमा समितिको तथ्यांकअनुसार चालु आवको साउन महिनामा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेक बीमाको दायरामा आएको जनसंख्या प्रतिशत १६.६८ प्रतिशत छ ।

यस्तै, म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ४१.१५ प्रतिशत छ । भने, म्यादी र लघु म्यादी जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३८.२६ प्रतिशत छ ।


क्लिकमान्डु