नाडा इभि एक्स्पो हुँदै, ९ वटा ब्राण्डका चार पांग्रे गाडीसहितको सहभागिता



काठमाडौं । नाडा इभि एक्स्पो हुने भएको छ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही असोज ६ देखि ९ गतेसम्म नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी ‘सिएटद्वारा प्रायोजित नाडा इभि एक्स्पो २०२२’ आयोजना हुन लागेको हो ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ भने युएसएआईडी क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सन्चालन गर्ने भएको छ ।

एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ भने, सह–प्रायोजकमा शिखर इन्स्योरेन्स् कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती डिजिटल पेमेन्ट रहेको जनाइएको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

बर्तमान समयमा विद्युतिय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढदै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ ।

वातावरण मैत्री विद्युतिय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दे आयोजना गर्न लागिइएको एक्सपोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् । एक्स्पोमा ९ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहने छ ।

चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्घि गर्न एवं सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा विश्वस्त रहेको आयोजकको भनाइ छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड–भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् ।

आजदेखि असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्तीद्वारा २५ प्रतिशत क्यास ब्याकको अफर राखेको छ । ४ दिन सम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४०,००० आगन्तुकहरुले अवलोकन गर्ने आयोजकको विश्वास छ ।


क्लिकमान्डु