आइफोन १३ र १४ बीच के के फरक छन् ?



एजेन्सी । गत बुधबार राती भएको ‘फार आउट’ कार्यक्रममार्फत् टेक कम्पनी एप्पले चार नयाँ आइफोनसँगै अन्य उत्पादनहरु सार्वजनिक गर्यो । कम्पनीले १४औं जेनेरेसनका चार आइफोन, तीन एप्पल वाच र एयरपोड प्रो सार्वजनिक गरेको हो।

एप्पलले नयाँ उत्पादन सार्वजनिक गरेसँगै त्यसभन्दा अघिल्लो जेनेरेसनका उत्पादनसँग तुलना हुनु स्वभाविक नै हो । अहिले पनि आइफोन १४ सँग यसअघिका आइफोन १३ अन्तर्गतका फोनहरुको तुलना भइरहेको छ ।

एप्पलले हाल १४औं जेनेरेसनका चार आइफोनहरु सार्वजनिक गरेको छ, जसमा ‘आइफोन १४’, ‘आइफोन १४ प्लस’, ‘ आइफोन १४ प्रो’ र ‘आइफोन १४ प्रो म्याक्स’ रहेका छन् । यी सबै फोनहरुले फाइभ जी सपोर्ट गर्नेछन् ।

हेर्दा आइफोन १४ र आइफोन १३ जुम्ल्याहाजस्तै देखिन्छन् । थोरै ठूलो र सानोको भिन्नता मात्रै आवरणमा देखिने भएतापनि नयाँ आइफोन र अघिल्लो जेनेरेसनको आइफोनबीच थुप्रै भिन्नताहरु रहेका छन् । क्यामेराको सेन्सरमा परिवर्तन गरिएको छ ।

सुरक्षाका लागि सेटेलाइनमार्फत सन्देश पठाउन सकिने सुविधा पनि १४औं जेनेरेसनका सबै फोनमा रहेको छ । सँगै फोनमा अघिल्लो जेनेरेसनको आइफोनमा भएको भन्दा केही शक्तिशाली ‘ए फिफटिन बायोनिक चिपसेट’ राखिएको छ, जसको जिपियु ‘फाइभ कोर’को रहेको छ ।

१४औं जेनेरेसनका आइफोनहरुमा आइफोन मिनि उपलब्ध छैन । कम्पनीले उक्त मोडललाई बन्द गरेको छ ।

के के फरक ?

आइफोन १४ र आइफोन १३ मा थुप्रै समानताहरु छन् । दुबै फोन सिसा र एल्मुनियमले बनेका छन् । आइफोन १४ मा सेरामिक सिल्डमार्फत् अगाडीको सिसालाई सुरक्षित बनाउने प्रयास गरिएको छ, जुन अघिल्लो पटक आइफोन १३ मा उपलब्ध थियो ।

तर, आइफोन १३ मा भएको फ्रन्ट क्यामेराको कटआउट आइफोन १४ मा छैन् । फोनमा हेर्दा उस्तै लाग्ने भए पनि फरक किसिमको कटआउट राखिएको छ, जसमा फोनमा भइरहेका क्रियाकलाप अनुसारको एनिमेसन हुने बताइएको छ ।

प्रकार

आइफोन १३ गुलाबी, निलो, मिडनाइट, हरियो, रातो र स्टारलाइट रंगमा उपलब्ध हुन्थ्यो भने यसपटकको आइफोन १४ भने मिडनाइट, स्टार लाइट, निलो, पर्पल र रातो रंगमा मात्रै उपलब्ध छ ।

आइफोन १३ मा नभएको अर्को फिचर भनेको आइफोन १४ ले फोनमा सेलुलर नेटवर्क (सिममार्फत् हुने नेटवर्क) नभएको अवस्थामा पनि आपतकालिन सन्देश पठाउन मिल्ने सुविधा थप गरेको छ । सँगै आइफोन १४ मा इसिम प्रयोग हुँदैछ ।

अमेरिकाका लागि इसिम प्रयोग हुने फोन उपलब्ध हुने कम्पनीले बताइसकेको छ भने अन्य देशका लागि यो सुविधामा के फरक हुन्छ भन्ने हाल सार्वजनिक भएको छैन ।

स्क्रिनको आकार

आइफोन १३ र आइफोन १४ को स्क्रिनको आकार उस्तै छ । दुवै फोन ६.१ इञ्च रहेका छन् । आइफोन १४ प्लसमा भने ६.७ इञ्जको स्क्रिन उपलब्ध छ । दुवै जेनेरेसनको फोनको स्क्रिन ब्राइटनेस १२ सय निट्स रहेको छ । आइफोन १४ र आइफोन १४ प्लसमा एप्पलको ए फिफटिन बायोनिक चिप प्रयोग भएका छन् । तर, अघिल्लो जेनेरेसनमा ‘फोर कोर’ जिपियु प्रयोग भएकोमा यसपटक भने ‘फाइभ कोर’ जिपियु प्रयोग भएका छन्।

क्यामेरा

दुवै जेनेरेसनको फोनमा रियर क्यामेराको मेगापिक्सल एउटै भए पनि कम्पनीले बताएअनुसार नयाँ जेनेरेसनको फोनमा क्यामेरा सेन्सरलाई थप सुधार गरिएको छ । फ्रन्ट क्यामेराको पक्षमा भने अघिल्लो पटक उपलब्ध नभएको अटो फोकसको उपलब्धता यसपटकको फोनमा छ । सँगै फोनको एपरेचरलाई १.९ मिलिमिटरसम्म झारिएको छ ।

ब्याट्री

अघिल्लो जेनेरेसनको आइफोन १३ मिनि र आइफोन १३ मा भएकोभन्दा यसपटक आइफोन १४ र आइफोन १४ प्लसमा ब्याट्रीलाई सुधार गरिएको कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार आइफोन १४ ले २० घण्टासम्म सञ्चालन हुने ब्याट्रीको क्षमता बोकेको छ भने आइफोन १४ प्लसले २६ घण्टासम्मको क्षमता बोकेको छ । अघिल्लो जेनेरेसनका आइफोन १३ मा यो क्षमता १९ घण्टा थियो भने आइफोन १३ मिनिमा १७ घण्टा थियो ।

आइफोन १४ को तौल आइफोन १३ को भन्दा केही कम छ । अघिल्लो आइफोन १३ को तौल १७४ ग्राम थियो भने यसपटक आइफोन १४ को तौल १७२ ग्राम रहेको छ ।

आइफोन १४ प्रो र प्रो म्यासमा के छन् विशेषता ?

आइफोन १४ र १४ प्लसमा धेरै सुविधा घटबढ नगरेको भए पनि कम्पनीले आइफोन १४ प्रो र १४ प्रो म्यासमा भने थुप्रै परिवर्तनहरु गरेको छ ।

१४ प्रोमा ६.१ इञ्जको ओलेड डिस्प्ले छ भने १४ प्रो म्याक्समा यसको आकार ६.७ इञ्च पुगेको छ । दुवै फोनमा सँधै अन भइरहने डिस्प्ले रहेका छन् । डिस्प्लेको रिफरेस सेट १२० हर्ज प्रति सेकेण्ड रहेको छ । ब्राइटनेसको पक्षमा पनि १६ सय निट्ससम्म सामान्य अवस्थामा र २ हजार निट्ससम्मको ब्राइटनेस उज्यालो ठाउँमा प्राप्त हुने कम्पनीको दाबी छ ।

आइफोन १४ प्रोको तौल २०६ ग्राम छ भने १४ प्रो म्याक्सको तौल २४० गम छ ।

आइफोन १४ प्रो र प्रो म्यासमा ब्याट्री पनि लामो समयसम्म टिक्ने राखिएको कम्पनीको दाबी छ । जसअनुसार आइफोन १४ प्रोमा २३ घण्टासम्मको प्लेब्याक र आइफोन १४ प्रो म्याक्समा २८ घण्टासम्म्को प्ले ब्याक उपलब्ध छ ।

यसअघिको जेनेरेसन र यहि जेनेरेसनका पनि आइफोन १४ र १४ प्लसले प्रयोग गरेको ए फिफटिन प्रोसेसरको ठाउँमा आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सले ए सिक्सटिन प्रोसेसरको प्रयोग गरेका छन् ।

फोनमा भएको क्यामेरा पनि ‘प्रो क्यामेरा’ भएको कम्पनीको दावी छ । जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासँगै १२ मेगापिक्सलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको टेलिफोटो लेनस दुवै फोनमा रहेको कम्पनीले जनाएको छ ।

दुबै प्रकारका फोनको फ्रन्ट क्यामेरामा १२ मेगापिक्सलको ट्रु डेप्थ क्यामेरा रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु