कैदीवन्दीको स्वास्थ्य उपचार थप व्यवस्थित हुने, स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि बन्यो



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कैदी तथा थुनुवालाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्ने कार्यविधि, २०७९ बनाएको छ ।

बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा (३) को उपदफा ३ मा वृद्धाश्रम, अनाथलाई, बालसुधार गृह दगायतका संस्थाहरूमा आश्रित व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्नुपर्ने प्रावधान भएकाले देशका विभिन्न कारागारमा रहेका कैदी तथा थुनुवाहरूको स्वास्थ्य बीमा गर्न आवश्यक देखिएकाले यस कार्यविधि बनाएको हो ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि बनाइएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

सरकारले चालु आवमा कैदीवन्दीहरूको स्वास्थ्य उपचारलाई थप व्यवस्थित गर्न स्वास्स्थ्य बीमा कार्यक्रममा आवद्ध गर्ने लक्ष्य लिएको थियो ।

यो कार्यविधि तत्काल प्रारम्भ हुने बोर्डको भनाइ छ । कार्यविधि स्वीकृत भएपछि कारागार व्यवस्थापन विभाग र स्वास्थ्य बीमा बोर्डबीच कैदी तथा थुनुवाहरूको स्वास्थ्य बीमा गर्ने सम्बन्धमा सम्झौता भएपछि बीमा कार्यक्रम अघि बढ्ने छ ।

सम्बन्धित कारागार कार्यालयहरूले स्वास्थ्य बीमा बोर्डले तोकेबमाजिमको विवरण भरी बोर्ड वा बोर्डले तोकेको कार्यालयमा पठाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन सम्बन्धित कारागारले नजिकको दर्ता सहयोगी वा अनलाइन माध्यमबाट दर्ता गर्न सक्नेछन् ।

कारागारबाट प्राप्त भएका विवरणहरूका आधारमा बोर्डले स्वास्थ्य उपचार बीमाको व्यवस्था गरी परिचयपत्र उपलब्ध गराउने छ । कम्तीमा एक वर्ष कैद अवधि बाँकी रहेका कैदी तथा थुनुवालाई मात्रै यस कार्यविधि अनुसारको स्वास्थ्य उपचार दिने बोर्डले जनाएको छ ।

बीमा गरिएको कैदी तथा थुनुवाहरूको बीमालेख वापतको रकम कारागार व्यवस्थापन विभागले बोर्डलाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ । बीमालेख जारी भएका कैदी तथा थुनुवाहरूको बीमा योगदान रकम प्रति परिवार ३५ सय रूपैयाँ तोकिएको छ ।

कार्यक्रममा सहभागि भएका कैदी तथा थुनुवा बीमितहरूले बोर्डले बीमा कार्यक्रममा तोकिए बमोजिमको सेवा सुविधाहरू प्राप्त गर्नेछन् ।

स्वास्थ्य बीमा बोर्डले कैदी तथा थुनुवालाई उपलब्ध गराएको परिचयपत्रको नामनामेसी र संख्याको विवरण कारागार व्यवस्थापन विभागमा पठाएपछि १५ दिनभित्र ती बीमितको योगदान रकम स्वास्थ्य बीमा बोर्डलाई एकमुष्ट भुक्तानी दिईने व्यवस्था कार्यविधिले गरेको छ ।


क्लिकमान्डु