बीमाको बिजनेशः निर्जीवनको व्यवसाय ५० प्रतिशतले बढ्यो, जीवनको ९ प्रतिशतले घट्यो



काठमाडौं । गत आर्थिक वर्षको साउन महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ४९.६८ प्रतिशतले बढेको छ । तर, जीवन बीमा कम्पनीहरुको व्यवसाय भने ९.३५ प्रतिशतले घटेको छ ।

सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा १९ अर्ब ५३ करोड २९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

जुन अघिल्लो आवको तुलनामा ०.३४ प्रतिशतले कम हो । कम्पनीहरूले गत आवको साउन महिनामा १९ अर्ब ६० करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

चालु आवको साउन महिनामा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा कम्पनीहरूले ९.३५ प्रतिशतले व्यवसाय घटेको हो ।
अघिल्लो आवमा कम्पनीहरूले १६ अर्ब ६१ करोड रूपैयाँ संकलन गरेका थिए ।

साउन महिनामा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ४७ करोड ५४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय ४९.६८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ९९ करोड रूपैयाँ संकलन गरेका थिए ।

समितिका अनुसार बैदेशिक रोजगार बीमालेखको संख्या ५१.१९ प्रतिशतले बढेर ८ लाख ७८ हजार ७७१ वटा बिक्री भएका छन् ।

तथ्यांकअनुसार साउन महिनामा म्यादि, लघु म्यादि र बैदेशिक रोजगार जीवन बीमालेखसहित ५ प्रतिशत घटाएर लिएको बीमालेख संख्या १ करोड २४ लाख ७८ हजार ९०५ वटा रहेको समितिले जनाएको छ । अघिल्लो आवमा यस्तो बीमालेखको संख्या ८१ लाख ८६ हजार ५६२ वटा थियो ।

समितिकाअनुसार चालु आवको साउन महिनामा बीमा कम्पनीहरूको कार्यालय संख्यामा ९.८७ प्रतिशतको वृद्धि हुँदै ३ हजार ३६६ वटा पुगेको छ । २०७८ साउनमा ३ हजार ६१ वटा थिए ।

यस्तै, बीमा कम्पनीहरूमा कार्यरत कर्मचारीको संख्या ११ हजार ८३० जना रहेको छ । जुन अघिल्लो आवको तुलनामा ८.८८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीहरूमा कार्यरत कर्मचारीको संख्या १० हजार ८६५ जना रहेको समितिले जानकारी दिएको छ ।

तथ्यांकअनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेक बीमाको दायरामा आएको जनसंख्या प्रतिशत १६.६८ प्रतिशत छ ।

त्यसैगरी, म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ४१.१५ प्रतिशत छ भने म्यादी र लघु म्यादी जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३८.२६ प्रतिशत छ ।


क्लिकमान्डु