पतञ्जली र आइएमईबीच सम्झौता, भारतमा रहेका पतञ्जलीका आउलेटबाट नेपालमा पैसा पठाउन सकिने



काठमाडौं । पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारी सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भारतमा बसोबास गर्ने नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार र आइएमई इन्डियातर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।

हरितालिका तीजको अवसरमा आयोजित एक विशेष कार्यक्रमकावीच मंगलबार दिल्लीमा उक्त समझदारी पत्र आदानप्रदान भएको हो ।

समझदारी पत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उनीहरूको परिवारका सदस्य वा नातेदारहरूलाई पैसा पठाउनको लागि एक सुविधाजनक एवम् सहज माध्यम थपिएको बताए ।

आचार्य बालकृष्णले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गरे ।

बैंकको शाखा भ्रमणको बोझ एवम् लामो आवेदन फारम भर्ने तनाव वा कुनै औपचारिकता पुरा नगरी यस्तो सेवा लिन सकिने आचार्य वालकृष्णले बताए ।

हरेक वर्ष हजारौँ नेपाली विभिन्न कारणले भारतका विभिन्न क्षेत्रमा प्रवेश गर्दछन्, जसमध्ये रोजगारी मुख्य कारण हो । प्रत्येक भारतीय सहरमा पतञ्जली आयुर्वेदका आउटलेटहरू भएकाले तिनीहरू व्यापक रूपमा पहुँचयोग्य छन् । आउटलेटहरूमा सजिलो पहुँचको कारण भारतमा कार्यरत नेपालीहरूले पैसा पठाउने सेवाहरू प्रयोग गर्न कुनै पनि स्थानहरूमा जान सक्छन् ।

विदेशमा बसोबास गर्ने धेरै नेपालीहरूले नेपालमा रेमिट्यान्स पठाउन आफ्नो मनपर्ने ब्राण्डको रूपमा आइएमईको प्रयोग गर्छन् ।

एक स्तरको विश्वासलाई कायम राख्न र बलियो बनाउन आइएमई इण्डियाले भारतको एक प्रतिष्ठित कम्पनी पतञ्जली आयुर्वेदसँग सहकार्य गरेको छ ।

यस सहकार्यको फलस्वरूप भारतमा बसोबास गर्ने नेपालीले अब नेपालमा रहेका आफ्ना परिवारलाई सहज रूपमा पैसा पठाउन सक्नेछन् र पठाएको रकम नेपालका आफन्तले आफ्नो बैंक खाता वा मोबाइल वालेटमा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । नेपालभर विस्तारित संजाल भएको आइएमई पे वा आइएमई एजेन्टहरूबाट रेमिटेन्स प्राप्त गर्न सजिलो हुने विश्वास पतञ्जली आयुर्वेद र आइएमई इन्डिया लिएका छन् ।

कार्यक्रममा राजदूत डा. शंकर शर्मा, पतञ्जली आयुर्वेद, पतञ्जली समूहद्वारा प्रवर्धित भरुवा सोलुसन प्रालिका उच्च पदस्थ कर्मचारीहरू आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्याकारी अधिकृत खिलेन्द्र पौडेल, आइएमई लिमिटेडका निर्देशक सचिन ढकाल, आइएमई इन्डियाका उच्च पदस्थ कर्मचारीहरू लगायत इन्डियामा बसोबास गर्दै आउनुभएका नेपाली समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


क्लिकमान्डु