आइपीओ निष्कासनको तयारीमा रहेको डिसहोमको आम्दानी ४.१४ प्रतिशतले घट्यो



काठमाडौं । आइपीओ निष्कासनको तयारी गरेको डिस मिडिया नेटवर्कको आम्दानी ४.१४ प्रतिशतले घटेको छ ।

कम्पनीको आम्दानी सन् २०२० को तुलनामा सन् २०२१ मा ४.१४ प्रतिशतले घटेको हो । सन् २०२० मा ५ अर्ब १३ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो कम्पनीले सन् २०२१ मा ४ अर्ब ९२ करोड मात्रै आम्दानी गर्न सफल भएको छ । कम्पनीको आम्दानी सन् २०१९ मा ४ अर्ब २५ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

देशभर ८५ वटा डिलर, ३५ सयभन्दा बढी सब–डिलर र १३ सयभन्दा बढी फ्रेन्चाइजमार्फत् सेवा दिँदै आएको कम्पनीमा हङकङको स्यान्ड मार्टिन इन्टरनेशनल होल्डिङ प्रालिको मात्रै ४७ प्रतिशत सेयर स्वामित्व छ ।

सन् २०१० देखि डिसहोमको सुविधा दिँदै आएको कम्पनीले सन् २०२२ को अप्रिलसम्ममा ९ लाख ७० ग्राहक बनाएको छ । २०७ च्यानलमध्ये ६१ वटा एचडी र १४६ वटा एसडी कन्टेन्टको सुविधा दिँदै आएको कम्पनीको मात्रै २१ वटा आफ्नै च्यानल छन् ।

साथै, कम्पनीले ओभर टु टप (ओटीटी) सर्भिसमार्फत् ‘डिसहोम गो’ एप सार्वजनिक गरेको छ । जसमा १ सय लाइभ नेटवर्कसहित प्रिमियम लिनर च्यानल छन् ।

हेमराज ढकाल अध्यक्ष रहेको सय कम्पनीमा ६ जना निर्देशक छन् । ढकाल आइएमई ग्रुप अफ कम्पनी, आइमएमई जनरल इन्स्योरेन्सको अध्यक्ष र चन्द्रागिरि हिल्सका निर्देशक समेत हुन् । साथै, कामना विकास बैंकको अध्यक्ष रहेको सुदीप आचार्य कम्नीको सञ्चालक हुन् ।

कम्पनीले सन् २०२० को फेब्रअरीमा इन्टरनेट सर्भिस प्रोभाइडरअन्तर्गत डिस होम फाइबरनेट ब्रान्ड सार्वजनिक गरेको थियो । उक्त सेवाको आम्दानी बढ्दो क्रममा रहेको कम्पनीको दाबी छ ।

कम्पनीले काठमाडौं, हेटौंडा र डल्केबरमा फाइबर इन्टरनेटको ब्यान्डविथ बढाउनका लागि २० लाख र विराटनगर र बुटवलमा १० लाख रुपैयाँ खर्च गरी डेन्स वेभ लेन्थ–डिभिजन मल्टीप्लेक्सिङ निर्माण गरेको छ ।

कम्पनीले १३० वटा पोइन्ट अफ डिस्ट्रिब्यूसन निर्माण गरिसकेको छ । साथै, कम्पनीले प्राधिकरणसँग अन्डरग्राउन्ड तार जडानका लागि समेत अनुमति लिएको जनाएको छ ।

कम्पनीले सन् २०१४ मा १०८ मेगाहर्जको ३ वटा ट्रान्स्पोन्डर र सन् २०२२ मा ४८६ मेगाहर्ज क्षमताको ४.५ ट्रान्स्पोन्डर सञ्चालन गर्दै आएका छन् ।

कम्पनीले सन् २०२१ मा १.०२ प्रतिशतले नाफा घटेको जनाएको छ । साथै, सन् २०२१ मा इन्टरनेट सेवा आइएसपीबाट ८० लाख आम्दानी गर्न सफल भएको छ ।

सन् २०२२ को मार्चसम्ममा ५७ वटा इन्टरनेट सेवा प्रदायकका २० लाख इन्टरनेट प्रयोगकर्ता छन् ।

कम्पनीलाई केयर रेटिङ नेपालले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको रेटिङ गरेको छ । जसमा कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १२ करोड ९९ लाख रुपैयाँ अर्थात् ट्रीपल बी र अल्पकालीन कर्जाका लागि २ अर्ब ७५ करोड रुपैयाँ अर्थात् एथ्री रेटिङ दिएको छ ।

आइपीओ निष्कासनको तयारी
कम्पनीले सर्वसाधरणका लागि आइपीओ निष्कासन गर्ने समेत तयारी गरेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन समेत दिएको छ । आइपीओ निष्कासनका लागि सन् २०१७ मा कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।

कम्पनीले २३ लाख ८५ हजार ९२९ कित्ता बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको आइपीओ निष्कासनपछि कुल चुक्ता पुाजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।


क्लिकमान्डु