प्रहरी प्रवक्ता भन्छन्- विमानस्थलबाट पक्राउ गरिएका व्यक्तिलाई चोरीको आरोप लागेको छ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएका सुन व्यवसायी सन्तोष लामिछानेलाई चोरीको आरोप लागेको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिएका छन् ।

प्रहरीको विशेष ब्यूरोले बुधबार दिउँसो विमानस्थलबाट ३८औं इन्डिया इन्टरनेशनल ज्वेलरी शो २०२२ मा भाग लिनका लागि मुम्बई जान लागेका लामिछानेलाई शंकास्पद भन्दै पक्राउ गरेको थियो ।

‘प्रहरीको विशेष ब्यूरोलाई लामिछाने चोरीमा संलग्न भएको सूचना प्राप्त भएको थियो,’ प्रवक्ता राईले भने, ‘विशेष ब्यूरोको टोली विमानस्थल पुग्दा लामिछाने विमानभित्र प्रवेश गरिसकेकाले विमानलाई रोक्दै नियन्त्रणमा लिनु परेको हो ।’

राईले उनी के कस्तो कसुरमा संलग्न भएका हुन् भन्ने विषयमा अध्ययन गरिरहेको बताए ।

प्रहरी महानिरिक्षकको मातहत रहने प्रहरीको विशेष ब्यूरोले देशभर भएका अपराध घटनामा संलग्न भएका व्यक्तिलाई नियन्त्रणमा लिने काम गर्छ । पक्राउ परेका लामिछाने कस्तो चोरीमा संलग्न भएका हुन् भन्ने विषयमा प्रहरीले जानकारी दिन सकेको छैन ।


क्लिकमान्डु