पोलिसी सरेण्डरको अवधि बढाउने तयारीमा बीमा समिति, ५ वर्षपछि मात्रै त्याग्न पाइने



काठमाडौं । बीमा समितिले बीमा पोलिसी सरेण्डर (समर्पण, त्याग)गर्ने अवधि बढाउने तयारी गरेको छ ।

बीमालेख खरिद गरेको ५ वर्षपछि मात्रै पोलिसी त्याग्न पाउने व्यवस्था गर्न आवश्यक तयारीमा समिति जुटेको हो ।

यसअघि समितिले बीमालेख खरिद गरेको १ वर्षमै पोलिसी सरेण्डर गर्न सक्ने व्यवस्थालाई कडाई गर्दै ३ वर्ष पुर्याएको थियो ।

समितिले जीवन बीमालेख सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कायम गरेको थियो । समितिले कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न नपाउने व्यवस्था छ । तर, पनि कम्पनीहरूमा पोलिसी त्याग्ने क्रममा सुधार भने देखिएको छैन ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमालेख खरिद गरेको ५ वर्षपछि मात्रै सरेण्डर गर्न पाउने व्यवस्था गर्नका लागि छलफल भईरहेको बताए । उनकाअनुसार पोलिसी सरेण्डरको दर रोक्ने पहिलो प्रयास सफल नभएपछि पुनः अवधि बढाउन लागिएको हो ।

‘सरेण्डर र ल्याप्सको रेसियो धेरै देखियो । बजारको अवश्था हेरेर सरेण्डर गर्न पाउने समय अवधि बढाउन लागिएको हो । जसका लागि छलफल भइरहेको छ,’ पौडेलले क्किमाण्डूसँग भने, ‘अवधिमा बढाएर सरेण्डरलाई निरूत्साहन गर्नु हाम्रो उद्देश्य हो ।’

उनकाअनुसार बीमितले योजनाबद्ध रूपमा समेत पोलिसी त्याग्ने गर्छन् । योजनाबद्ध रूपमा पोलिसी त्याग्ने विकृति बढ्न थालेपछि समय बढाउन लागिएको उनले बताए ।

‘प्लानिङ गरेर समेत सरेण्डर गर्ने गरेको अवस्था छ,’ उनले थपे, ‘शंकास्पद लागेको कम्पनीमा गई अध्ययन पनि गर्ने कार्य भइरहेको छ ।’

बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको दर बढेको उनले बताए ।

बीमालेख खरिद गर्नुपूर्व नै आफ्नो आय, आम्दानीलाई मध्यनजर गरेर आफुलाई सुहाँउदो बीमा पोलिसी खरिद गर्दा सरेण्डर गर्नुपर्ने समस्या नआउने उनको भनाइ छ ।

बीमालेख सरेण्डर गर्ने प्रवृति नेपालमा मात्रै नभई संसारभरि नै छ । ऐनमा नै पोलिसी सरेण्डर गर्न पाउने व्यवश्था रहेको हुँदा बीमा बजारमा खासै असर नपर्ने बीमा विज्ञ भोजराज शर्मा बताउँछन् । तर, कतिसम्म सरेण्डर गर्ने हो त्यसको सीमा भने तोकिनु पर्ने र अध्ययन गर्नुपर्ने कुरामा उनको जोड छ ।

‘लिमिट कति हो, कसैको १/२ प्रतिशत हुन्छ, कसैको ५/१० प्रतिशत हुन्छ,’ शर्माले क्किमाण्डूसँग भने, ‘दुईदेखि ३ प्रतिशतसम्म पनि भयो भने त्यो मान्य हुन्छ ।’

बीमालेख सरेण्डर हुनुको मुख्य कारण आर्थिक संटक नै रहेको उनको दावी छ । आर्थिक संकटका साथै मिस सेलिङले पनि पोलिसी सरेण्डरको दर बढ्ने उनको भनाइ छ ।

‘आर्थिक संकट पर्यो भन्दै पोलिसी सरेण्डर गर्छु भन्दा बोल्नै मिल्दैन,’ शर्माले थपे, ‘सरेण्डर गर्ने चलन संसार भरिनै छ, कानूनले नै सरेण्डर गर्न पाउने व्यवस्था गरेको छ ।’

तर, सरेण्डरको दर धेरै भयो भने अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।

‘धेरै सरेण्डर भयो भने चेक चाँही गर्नूपर्छ, किन भयो भनेर अध्ययन गर्नूपर्छ,’ शर्माले भने ।

व्यक्तिको आयको स्रोतलाई मध्यनजर नगरि बढी रकमको बीमा गर्दा सरेण्डरको दर बढ्ने गरेको उनको तर्क छ । बीमा गर्नुपूर्व नै आर्थिक स्थितिलाई असर नपर्ने गरि सो रकमले उक्त बीमालेखलाई निरन्तरता दिनसक्ने गरि बीमालेख खरिद गर्यो भने सरेण्डरको मात्रा कम हुने उनको बुझाइ छ ।

‘बीमकले बीमालेखअन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखी ऋण प्रदान गर्न सक्नेछ ।’

समितिद्धारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८मा उल्लेख छ ।

उक्त निर्देशिकाले बीमा पोलिसी समर्पण मूल्य समेत निर्धारण गरेको छ ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकम समेत जोडिने छ  ।


क्लिकमान्डु