उच्च अदालतको आदेशले रोकियो फुलबारी रिसोर्टको लिलामी प्रक्रिया



काठमाडौं । उच्च अदालत पाटनको आदेशसँगै पोखराको फुलबारी रिसोर्टको लिलामी प्रक्रिया रोकिएको छ ।

फुलबारी रिसोर्टले नेपाल बैंकको नेतृत्वमा सह–वित्तीयकरणमा लिएको ऋण नतिरेपछि रिसोर्ट लिलामीमा गएको थियो ।

नेपाल बैंकले असार ३ गते ३५ दिनको सूचना जारी गर्दै फुलबारी रिसोर्टको लिलामी प्रक्रिया अगाडि बढाएको थियो ।

३५ दिने सूचना नजिक आउन थालेपछि फुलबारी रिसोर्टका संस्थापक पियुषबहादुर अमात्यले बैंकविरुद्ध उच्च अदालत पाटनमा लिलामी रोक्न माग गर्दै मुद्दा दर्ता गरका थिए ।

उच्च अदालत पाटनले साउन १५ गतेसम्मका लागि लिलामी रोक्न कारण देखाउने आदेश दिदै अन्तरिम आदेश दिने वा नदिने भनेर छलफलको लागि बोलाएको छ । उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलाशले तत्कालका लागि लिलामी प्रक्रिया रोकेको हो ।

साउन १५ गतेसम्मका लागि फुलबारी रिसोर्टको लिलामी प्रक्रिया रोकिएको नेपाल बैंकका सूचना अधिकारी प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

नेपाल बैंकको नेतृत्वमा वाणिज्य बैंक तथा सञ्चय कोषले ऋण दिएको ३० वर्षभन्दा बढी सकेको छ । फुलबारीले २० वर्षदेखि सावा तथा ब्याज भुक्तानी तिरेको छैन । ३ अर्बभन्दा बढी रकम लिन बाँकी रहेको नेपाल बैंकले जनाएको छ ।


क्लिकमान्डु