गरिब वर्गलाई बीमाको पहुँचमा ल्याउन अनुदान आवश्यकः अध्यक्ष सिलवाल



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले आर्थिकरूपले सबल व्यक्तिलाई बीमाका लागि प्रोत्साहित गर्न र सीमान्तकृत एवम् गरीब बर्गलाई बीमाको पहुँचमा ल्याउन अनुदानको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा गण्डकी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा नागरिकको जोखिम हस्तान्तरण गर्ने प्रमुख वित्तीय औजार भएकाले आम नागरिकमा बीमाको पहुँच पुर्याउनका लागि सरकारी सेवासँग बीमालाई आवद्ध गरेर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

अध्यक्ष सिलवालले देशको संघीय संरचना अनुरूप बीमा समितिले विभिन्न ३ वटा प्रदेशमा प्रदेश कार्यालय स्थापना गरिसकेको बताए ।

आगामी आर्थिक वर्ष २०७९÷०८० मा गण्डकी प्रदेशमा पनि समितिको प्रदेश कार्यालय स्थापना गर्ने उनले जानकारी दिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आम नागरिकसम्म बीमाको पहुँच पुर्याउन विशेष संयन्त्र निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले असङ्गठित क्षेत्रका मजदूरहरूलाई पनि सामाजिक सुरक्षा कार्यक्रमसँग जोड्नका लागि समेत बीमाको भूमिका महत्वपूर्ण हुने भएकाले बीमाको पहुँच विस्तारमा प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए ।

गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले प्रदेशमा कृषि तथा पशुपन्छी बीमा कार्यान्वयनमा समस्या देखिएको र बीमा दाबी भुक्तानी पनि समयमा हुन नसकेको बताए ।


क्लिकमान्डु