महंगीको मारः १० वस्तुको आयात घट्दा पनि १५ अर्बभन्दा बढी बाहिरियो, विदेशी मुद्रा सञ्चितिमा चाप



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनासम्म नेपालमा कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब २८ करोड डलर मात्रै छ । यसको अर्थ हो, नेपालले यो रकमले ६.५७ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न सक्छ ।

गत वर्षको असार मसान्तमा यस्तो रकम ११ अर्ब ७५ करोड डलर थियो । अर्थात् १० महिनामा विदेशी मुद्रा सञ्चिति २१.१ प्रतिशतले घटेको छ ।

कोरोना महामारीले वैश्विक अर्थतन्त्रमा पारेको असर, रुस र युक्रेनबीचको युद्ध, चीनमा लकडाउनका कारण आपूर्ति श्रृंखलामा देखिएको अवरोध, डलरको भाउ बढेको तथा विश्वभर बढेको महंगीको नेपालको अर्थतन्त्रमा समेत देखिएको हो ।

विश्वका अधिकांश देशमा ब्याजदर वृद्धिका कारण भएको मूल्यवृद्धिका कारण आयातमा निर्भर अर्थतन्त्र भएको नेपालमा पनि असर परेको हो । जसका कारण कम परिमाणमा वस्तु आयात हुँदा पनि अर्बौ रुपैयाँ बढी विदेशी मुद्रा बाहिरिएको छ । जसका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परिरहेको छ ।

यसका लागि सरकारले विभिन्न वस्तुको आयातमा कडाइ गरे पनि महंगीका कारण विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको छ ।

बढ्दो मुद्रास्फीतिका कारण नेपालले चालु आर्थिक वर्षको ११ महिनामा वस्तु आयातमामा गत आवको सोही अवधिको तुलनामा करिब ४ खर्ब रुपैयाँको बढी आयात गर्नु परेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको जेठ महिनासम्ममा १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको वस्तु आयात भएका छ । जबकी गत आवको सोही अवधिमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ बराबरको मात्रै आयात भएको थियो ।

अत्यधिक मूल्यवृद्धिका कारण नेपालीहरु उपभोक्ताको बजेट मात्रै बढेको छैन । विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा त छैन भन्ने संकेत समेत गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार ११ महिनामा दैनिक उपभोग्य सामग्रीलायतका केही वस्तुहरुको आयात घट्दा समेत बाहिरिने रकम उच्च देखिएको छ । अर्थात् परिमाणमा कम आयात भए पनि त्यसवापत खर्च हुने विदेशी मुद्रा धेरै देखिएको छ ।

आयात घट्दा समेत १५ अर्ब बढी बाहिरियो
नेपालले ११ महिनाको अवधिमा गत वर्षको तुलनामा कम आयात गरेपनि मूल्यवृद्धिले गर्दा बढी रकम बाहिरिएको छ ।

नेपालले आयात गरेको क्रुड भटमासको तेल, मोबाइल, कोइला, औषधि, कच्चा सन्फ्लावर तेल, मकै, बार÷रोड, मोटरसाइकल, प्लास्टिक र सेरामिक कम आयात हुँदासमेत बढी रकम बाहिरिएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले गत आवको ११ महिनामा क्रुड भटमासको तेल ३९ करोड ८ लाख १३ हजार ५६४ लिटर आयात गर्दा जम्मा ४४ अर्ब ६२ करोड ३ लाख ८० हजार रुपैयाँ खर्च गरेको थियो । तर चालु आवको सोही अवधिमा क्रुड भटमासको तेल ७ करोड ३ लाख २९ हजार ९५२ कम लिटर अर्थात् ३२ करोड ४ लाख ८३ हजार ६१३ लिटर आयात गर्दा ८ अर्ब ६३ करोड ४७ लाख बढी रुपैयाँ खर्च गरेको छ । जसमा साे परिणाममा आयात गर्दा नेपालले ५३ अर्ब २५ कराेड ५१ लाख रुपैयाँ खर्च गरेकाे छ ।

त्यस्तै, मोबाइलको हकमा ९ लाख ६७ हजार ७४६ सेट मोबाइल कम आयात हुँदा ३ अर्ब ९१ करोड ८५ लाख रुपैयाँ बढी रुपैयाँ, कोइला ९ करोड ५९ लाख ८० हजार ८८१ केजी कम आयात हुँदा १० अर्ब ६४ करोड ९३ लाख बढी रकम बाहिरिएको छ ।

त्यसैगरी औषधी, कच्चा सन्फ्लावर तेल, मकै, बार÷रोड, तोरीको दाना, प्लास्टिक र सेरामिक परिणाममा कम आयात भए पनि बढी रकम खर्च गर्नु परेको छ ।

थामिनसक्नु मूल्यवृद्धि
गत आवको वैशाख महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा घिउ तथा तेलमा २४.८६ प्रतिशत मूल्यवृद्धि भएको छ । त्यसैगरी फलफूलमा १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा ११.३० प्रतिशत, दाल तथा गेडागुडीमा १०.५३ प्रतिशत मूल्यवृद्धि भएको छ ।

केन्द्रीय बैंकका अनुसार गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायातमा २१.८१ प्रतिशत, शिक्षामा ११.६४ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिमा ८.२१ प्रतिशत मूल्यवृद्धि भएको छ ।

साथै, खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ७.१३ प्रतिशत र गैरखाद्य तथा सेवाको ८.४५ प्रतिशत छ ।

नेपालले अधिकांश खाद्य तथा पेय पदार्थ, गैरखाद्य तथा सेवा विभिन्न देशबाट आयात गरी खपत गर्दै आएका छन् । जसमा अन्तर्राष्ट्रिय बजारमै वस्तुको मूल्यवृद्धिले गर्दा खर्बौ रुपैयाँ बाहिरिएको छ ।

नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पेट्रोलियम पदार्थ गत वर्षको तुलनामा बढी आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । सो अवधिमा गत वर्षको तुलनामा डिजेल ५ प्रतिशत, पेट्रोल २६ प्रतिशत र एलपीजी ग्यास ११ प्रतिशतले बढी आयात गरेको छ ।

नेपालले ११ महिनाको अवधिमा गत वर्ष ७९ अर्ब ४५ करोड ३ लाख ७८ हजार रुपैयाँको १५ लाख ३० हजार ११७ किलोलिटर डिजेल आयात गरेको थियो भने चालु आवको सोही अवधिमा नेपालले १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार रुपैयाँको १६ लाख २ हजार ४०८ किलोलिटर बढी डिजेल आयात गरेको छ । जसमा गत वर्षभन्दा नेपालले ७२ हजार २३१ किलोलिटर बढी डिजेल आयात गरेको देखिन्छ ।

गत वर्षको तुलनामा आयात बढेको वस्तु
नेपालले समीक्षा अवधिमा गत वर्षको तुलनामा पेट्रोल १ लाख ३८ हजार ७५२ किलोलिटर, एलपीजी ग्याँस ४ करोड ७७ लाख ७३ हजार १३७ केजी बढी आयात गरेको छ ।

साथै, कच्चा पाम तेल १९ करोड २ लाख ४८ हजार ३१६ केजी, सुन १६ लाख ३५ हजार ग्राम, भ्याक्सिन १ लाख ६३ हजार १२ केजी र आइरन/स्टील (६०० एमएम/३ एमएमभन्दा कमको छड)१७ करोड ३२ लाख ३४ हजार केजी, फेरस वस्तु २० करोड ८५ लाख ७१ हजार ३९० केजी आयात भएको छ ।

कच्चा भटमास ३ करोड ९४ लाख ५५ हजार ६०३ केजी, चाँदी ७ करोड ९६ लाख २५ हजार २८० ग्राम, एटीएफ ५ लाख ३० हजार ४५७, अन्य भटमास ७ करोड ६३ लाख ६४ हजार ७२४ केजी, ६०० एमएम र ४७५ एमएमको छड २ करोड ८० लाख ७१ हजार ५१५ केजी र ल्यापटप ५५ हजार ६४४ पिस बढी आयात भएको तथ्यांक छ ।


अरिष्मा मोक्तान