
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सांसदको शपथपछि मात्र प्रधानमन्त्री नियुक्त हुने भएका छन् । चैत १२ गते प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको सपथ तय भएकामा त्यसपछि मात्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया चालिने भएको हो ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमतसहित १८२ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रियालाई तीव्रता दिएको छ । बिहीबार काठमाडौंको एक होटलमा बसेको रास्वपा शीर्ष नेताहरूको बैठकले आगामी चैत १३ गते नयाँ प्रधानमन्त्रीको शपथ गराउने गरी आन्तरिक तयारी अघि बढाएको हो।
बैठकले निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेर प्रतिव्दन राष्ट्रपतिलाई बुझाएसँगै सरकारको खाका र शक्ति बाँडफाँटबारे प्रारम्भिक छलफल गरेको छ । रास्वपा स्रोतका अनुसार चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण भएलगत्तै भोलिपल्टै प्रधानमन्त्रीको नियुक्ति र शपथ गराउने तयारी छ ।
‘हामीले १३ गते नयाँ प्रधानमन्त्रीले शपथ लिने गरी छलफल गरेका छौं । यद्यपि, हामीले मात्र मिति तय गरेर पुग्दैन, राष्ट्रपति कार्यालय र अन्य सम्बन्धित निकायसँग भोलिदेखि नै परामर्श सुरु गर्छौं,’ स्रोत भन्छ । बालेनको शपथसँगै सोही दिन सानो आकारको मन्त्रिमण्डल समेत गठन गर्ने तयारी छ ।
रास्वपाले निर्वाचन अघि नै बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । करिब दुई–तिहाइ मत प्राप्त गरेको रास्वपाले बालेनलाई नै संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्री बनाउने तयारी गरेको छ । यद्यपि, बालेनलाई संसदीय दलको नेता बनाउन पार्टीको विधान बाधक छ ।
नयाँ सरकार गठनको चर्चासँगै मन्त्रिमण्डलमा को-को सहभागी होलान् भन्ने चासो चौतर्फी बढेको छ । रास्वपा स्रोतका अनुसार चैत १२ गते सांसदहरूको शपथ सकिएपछि मन्त्रीहरूको नाम टुंगो लाग्नेछ । यद्यपि उपसभापती डा. स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने पक्का छ । रास्वपा सभापति लामिछानेले चुनावअघि नै वाग्लेलाई बजेट लेख्न सुरू गर्न भनेका थिए ।
‘१२ गतेको शपथपछि अन्य प्रक्रिया अघि बढ्छन् । मन्त्रिमण्डलको आकार र व्यक्तिको विषयमा छलफल भइरहेको छ, तर अहिलेसम्म कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन,’ एक शीर्ष नेता भने । स्रोतका अनुसार रास्वपाले विज्ञता र कार्यक्षमताका आधारमा मन्त्रीहरू चयन गर्ने मापदण्ड बनाएको छ । १८२ सिटसहित एकल सरकार गठन गर्न लागेकाले मन्त्रिमण्डलमा रास्वपाकै सांसदमात्र हुनेछन् ।
संघीय संसद् सचिवालयले चैत १२ गतेका लागि सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरिसकेको छ । सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको मल्टिपर्पस हलमा २७४ जना सांसदलाई शपथ खुवाइनेछ । त्यसअघि सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ लिनेछन् । केसीले अन्य सांसदहरूलाई शपथ गराउनेछन् ।
यता चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने गरी तयारी गरिएको छ ।









प्रतिक्रिया