मर्जर कमिटिमा बीमा कम्पनीका अध्यक्ष बस्न नपाउने



काठमाडौं । गाभ्ने, गाभिने वा प्राप्ति गर्ने कम्पनीहरूको संयुक्त मर्जर समितिमा संचालक समितिका अध्यक्ष समितिको सदस्य हुन नपाउने भएका छन् ।

बीमा समितिले गाभ्ने, गाभिने वा प्राप्ति (एक्विजिसन) गर्ने कम्पनीहरूको संयुक्त मर्जर समितिमा सम्बन्धीत कम्पनीका अध्यक्ष तथा लेखापरिक्षण समितिका संयोजक समिति सदस्य बन्न नपाउने व्यवस्था गरेको हो ।

मर्जर तथा एक्विजिसनको लागि गठित संयुक्त मर्जर समितिमा संलग्न संस्थाका सञ्चालकहरू मध्येबाट कम्तीमा १ जना र बढीमा ३ जनासम्म सदस्य तोक्न सकिने समितिले जनाएको छ ।

कुनै विज्ञ व्यक्तिलाई आवश्यकताअनुसार राय सुझावको लागि उक्त समितिमा आमन्त्रित गर्न सक्ने व्यवस्था समितिले गरिदिएको छ ।

सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदन प्राप्त गरेपछि संयुक्त मर्जर समितिले मूल्यांकन प्रतिवेदनमा सिफारिस गरिएको सेयर श्वाप अनुपातलाई यथावत स्वीकार गर्न सकिने छ ।

मर्जर समितिले सिफारिस गरेको स्वाप रेसियोमा १० प्रतिशतले तलमाथि हुने गरी सिफरिस गर्न सकिने र यस्तो निर्णय लिँदा साना लगानीकर्ताको हितलाई ध्यानदिनुपर्ने समितिले जनाएको छ ।

संयुक्त मर्जर समितिले सेयर श्वाप अनुपात सम्बन्धमा निर्णय लिँदा साना लगानीकर्ताहरूको हितलाई समेत मध्यनजर गर्नुपर्ने समितिले बताएको छ ।

समितिले कम्पनीहरू गाभ्ने गाभिने तथा प्राप्ति कार्य सम्पन्न गर्न समयबद्ध कार्यतालिका तयार गर्नुपर्ने जनाएको छ । जसमा कम्पनी गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ दफा ७ बमोजिम मूल्यांकनकर्ताको नियुक्ति मिति र विवरणसहित ऐन बमोजिम मूल्यांकन प्रतिवेदन पेश गर्ने मिति समेत उल्लेख गर्नुपर्छ ।


क्लिकमान्डु