गुरुयोजना बनाएर मात्रै रेलमार्गको कार्य अगाडि बढाउन विकास समितिको निर्देशन



काठमाडौं । विकास तथा प्रविधि समितिले गुरुयोजना बनाएर मात्रै रेलमार्गको कार्य अगाडि बढाउन निर्देशन दिएको छ । रेल तथा मेट्रोरेल विकास आयोजनाको छलफलमा कार्यक्रमपश्चात समितिले सो निर्देशन दिएको हो ।

समितिका सभापति कल्याणी कुमारी खड्काले रेल पूर्वाधारको आयोजना शुरु भई यति समय बित्दा पनि हालसम्म गुरुयोजना नबनाइकन कार्य अगाडि बढाउन नहुने बताइन् ।

राष्ट्रको महत्वपूर्ण आयोजना शुरु गर्दा रेलमार्गको अल्पकालिन, मध्यकालिन र दीर्घकालिनको खाका तयार गरी गुणस्तरीय रुपमा आयोजना अगाडि बढाउन भौतिक मन्त्रालय र रेल विभागलाई खड्काले निर्देशन दिइन् ।

‘यस आयोजनामा गुणस्तरमा पनि कमी आएको छ । रेलमार्गको गुणस्तरीय रुपमा कार्य अगाडि बढाउनुपर्ने देखिन्छ,’ उनले भनिन् ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रको ठूला–ठूला आयोजनामा गुरुयोजनाबिना कार्य अगाडि बढाउनु भनेको दुखदायी रहेको बताए । उनकाअनुसार सरकारले सबैभन्दा पहिलो गुरुयोजना निर्माण गरी कार्य अगाडि बढाउनुपर्नेमा अहिलेसम्म गुरुयोजना बिना नै कार्य अगाडि बढाउँदा समस्या आउनेछ ।

रेलमार्गको कार्य अगाडि बढाउनका लागि बजेटको पनि समस्या रहेको बताउँदै आगामी दिनमा द्रुत गतिमा सञ्चालनमा लागि बजेटमा पनि जोड दिनुपर्ने उनको भनाइ छ । साथै, रेलमार्ग कहिले बन्छ भन्ने थाहा छैन ।

तर, सरकारले रेलमार्गमा पर्ने क्षेत्रहरूको जग्गा रोक्का गरेर राखेको छ । उक्त जग्गा रेल बन्ने भए मुआब्जाको व्यवस्था गर्नुपर्ने र रेलमार्ग नबन्ने भए जग्गा फुकुवा गर्नुपर्ने उनले बताए । उनकाअनुसार सरकारले श्रोत सुनिश्चित नभएसम्म जनताको जग्गा लामो समयसम्म रोक्का राख्न हुँदैन ।

सांसद मिना झाले पनि गुरुयोजना बनाएर मात्रै कार्य अगाडि बढाउनुपर्ने बताइन् ।

रेल विभागका महानिर्देशक दिपक कुमार भट्टराईले आयोजनाको मुख्य समस्या गुरुयोजना रहेको बताए । उनकाअनुसार सरकारले हालसम्म अल्पकालिन, मध्यकालीन र दीर्घकालीन योजना विकासको खाका नहुँदा लगानी सुनिश्चितता नरहेको र अन्योलता रहेको छ । साथै, रेलमार्गमा मुआब्जा निर्धारणको स्पष्ट नीतिगत व्यवस्था नहुँदा लामो समय लाग्ने र विवादरहित नहुने उल्लेख गरे ।


क्लिकमान्डु