रिङरोडभित्र मोनोरेल र मेट्रोरेल चलाउन असम्भवः यातायातमन्त्री यादव



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री रेणु कुमारी यादवले रिङरोडभित्र मोनोरेल र मेट्रोरेल चलाउन असम्भव रहेको बताएकी छिन् । यातायातमन्त्री यादवले विकास तथा प्रविधि समितिमा रेल तथा मेट्रोरेल विकास आयोजनाको छलफल कार्यक्रम यस्तो बताएकी हुन् ।

‘काठमाडौंभित्र बाक्लो बसोबास छ । मोनोरेल र मेट्रोरेल चलाउँदा स्टेशन कुन ठाउँमा राख्ने ? मोनोरेलमा चढ्ने व्यक्ति कुन ठाउँमा चढ्ने र कुन ठाउँमा ओर्लने ? बीच–बीचमा हुने स्टेशनको कुनै योजना छैन । त्यसैले मोनोरेलको कुरा नै हुँदैन । चल्न नै सक्दैन,’ मन्त्री यादवले भनिन् ।

काठमाडौंमा ठूला–ठला घरहरू छन् । उक्त घरहरू हटाएर ठूलो स्थानको व्यवस्था गर्नुपर्ने हुन्छ । जसमा सरकारले ठूलो रकम मुआब्जाको व्यवस्था गर्नुपर्ने हुँदा सरकारले सो रकम दिन नसक्ने अवस्थामा रिङरोडभित्र मनोरेल र मेट्रोरेल चल्न सक्ने सम्भावना निकै न्यून रहेको मन्त्रीले बताइन् ।

‘अहिले रिङरोडबाहिर मेट्रोरेल सञ्चालनमा ल्याउने योजना बनाएको छ । रिङरोडको कति टाढा स्थानबाट मेट्रोरेल चलाउन सक्छौं,’ मन्त्री यादवले भनिन्, ‘मेट्रोरेल जमिनभित्रबाट चलाउनुपर्ने हुँदा धेरै घरहरू भत्काउनुपर्ने देखिन्छ । त्यसैले रिङरोडमा मोनोरेल र मेट्रोरेल चलाउन असम्भव छ ।’

मन्त्री यादवले पेट्रोलियम पदार्थको महंगीमा जनताले गाडी किनेर चढ्न नसक्ने अवस्थामा पुगेको बताउँदै भविष्यमा विद्युतीय रेल सञ्चालन गर्नेमा जोड दिनुपर्ने बताइन् । ‘विद्युतीय रेल चलाउन सकेमा आर्थिक उन्नतिमा फड्को मार्न सकिन्छ । साथै, अहिलेको अवस्थालाई हेर्दा रेल चलाउन जरुरी रहेको छ,’ उनले भनिन् ।

नेपालमा सडकहरू धेरै बनिसकेको छ र सडकमा गाडी चल्नेबाहेक अन्य नाफा केही कमाउन सकेको छैन । जथाभावी सडक मात्रै रहेको छ । पहाडदेखि सबै ठाउँमा सडक खनेको छ । तर, सडकमा कति गाडी चल्न सक्छ । त्यो सडकले आर्थिक स्थितिमा कस्तो टेवा पु¥याएको कुनै तथ्याङ्क नभएको उल्लेख गरिन् ।

‘नेतादेखि सबैले सडक निर्माण गर्न जोड दिन्छन् । तर, सो ठाउँमा सडक कति महत्व र कहाँ चाहिन्छ भन्ने लेखाजोखा छैन । देशको आर्थिक भार बढी लिएपनि नाफा भने निकै कम छ, उनले भनिन् । त्यसैले आगामी दिनमा सडकभन्दा पनि बढी रेललाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाउनुपर्नेमा जोड दिनुपर्ने बताइन् ।

सरकारले विभिन्न क्षेत्रमा रेल चलाउने भन्दै बजेट विनियोजन गरेको छ । सरकारले सम्भावित क्षेत्रहरूमा अध्ययनसँगै कार्य अगाडि बढाउनका लागि कार्यक्रम र बजेट अगाडि बढाएको छ । तर, उक्त कार्यक्रमको लागि बजेट निकै कम भएको मन्त्रीले बताइन् ।


क्लिकमान्डु