बजेटले खर्बपति चौधरी खुसी, भने- ठूलो आर्थिक रुपान्तरण हुनेछ



बजेटलाई हरेक दृष्टिकोणबाट हेर्दा सुझबुझपूर्ण आएको छ । स्वदेशी उद्योगलाई प्रवद्र्धनदेखि रोजगारी सृजना, खर्च र निर्णयका विषयमा राम्रो सम्बोधन गरेको छ ।

विदेशबाट आउने युवालाई सही उद्यम व्यवस्थापन सँधै अव्यवस्थित थियो । यो विषय धेरै समयदेखि थाँती थिए ।

युवा स्वरोजगार गलत दिशातिर गइरहेको थियो । रोजगार सृजनाको दृष्टिकोणबाट यसलाई सही दिशामा ल्याउन जरुरी थियो । यसलाई सहितरिकाले सम्बोधन गरेको छ ।

त्यसैगरी, फाइनान्सियल क्षेत्रमा निजी क्षेत्रको पुँजी, भेन्चर क्यापिटल, डिजिटल बैंकलगायतका विषय सम्बोधन गर्ने बजेट आएको छ ।

उद्योग स्थापनको दृष्टिकोणबाट हेर्ने हो भने पनि निकै राम्रो कार्यक्रम आएका छन् । नेपालमा उत्पादन प्रचुर सम्भावना भएका वस्तुको निर्यातमा अनुदान दिने कार्यक्रम आएको छ ।

शिक्षाको क्षेत्रमा पनि धेरै किसिमका नयाँ-नयाँ प्रयोग गर्ने कार्यक्रम आएका छन् । सातै प्रदेशमा ठूलो स्तरमा मेडिकल कलेज बनाउने घोषणा भएको छ । नेपालमात्र मात्र नभएर बाहिरबाट पनि पढ्न आउने वातावरण बनाउने घोषणा भएको छ ।

भूकम्प र कोभिडपछि रियल स्टेट सुसुप्त अवस्थामा थियो । यस्तो अवस्थामा विदेशीले पनि विदेशी मुद्रामा किन्न सक्ने नीति आएको छ । मलाई लाग्यो यसले ठूलो स्केलको आर्थिक रुपान्तरण गर्नेछ ।

यसले नेपालमा ठूलो संख्यामा रोजगार सृजना गर्ने सामथ्र्य र सोच यो बजेटले लिएको छ ।

यो सोँचलाई अक्षरस कार्यान्वयन गर्न सक्ने हो भने ठूलो परिवर्तन गर्न सक्ने क्षमता छ । यो बजेट कुनै पनि दृष्टिकोणबाट महत्वकांक्षी पनि देखिँदैन । राजश्व संकलन वा खर्चको दृष्टिकोणबाट असम्भव भन्ने देखिँदैन ।

अर्को महत्वपूण कुरा खर्च नियन्त्रण गर्ने कुरामा बजेट निकै सतर्क भएको देखिन्छ । कर संकलनका कुरामा, करको दायरमा ठूलो बनाउने कुरामा पनि यसले राम्रो सम्बोधन गरेको छ ।

बजेटले जहाँ नियन्त्रण गर्नुपर्ने हो त्यहाँ नियन्त्रण गर्ने प्रयास गरेको छ । जहाँ खोल्नु पर्ने आवश्यकता देखेको छ, त्यहाँ अझ फराकिलो बनाउने घोषणा गरेको छ । वर्तमान समयअनुसार नयाँ सोचअनुसारको बजेट आएको छ ।


क्लिकमान्डु