प्रोडक्ट डिजाइन र दायित्वको मूल्याङ्कनमा एउटै एक्चुरीको भर
काठमाडौं । बीमा समितिको पछिल्लो तथ्यांक हेर्दा बीमाको दायरामा आएको जनसंख्या ३७.३४ प्रतिशत छ । बीमा कम्पनीहरूले १ खर्ब ३१ करोड रूपैयाँ भन्दा धेरैको व्यवसाय गरेका छन् ।
केही वर्षयता बीमाको गतिविधि बढेपनि सोही अनुपातमा दक्षजनशक्ति उत्पादन हुन सकेको छैन ।
सात दशक लामो बीमा व्यवसायको इतिहासमा अपेक्षाकृतरूपमा बीमाको दायरा विस्तार हुन सकेको छैन । त्यसैगरी बीमाको विकास पनि हुन सकेको छैन ।
अझै पनि बीमामा दक्ष जनशक्तिको अभाव छ ।
व्यवसायको आकार र दायरा बढ्दै गर्दा बीमा क्षेत्रका लागि चाहिने जनशक्ति उत्पादन गर्नमा भने नेपाल पछि नै छ ।
बीमा क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति हो एक्चुरी ।
नेपालले बीमा क्षेत्रका लागि चाहिने महत्वपूर्ण जनशक्ति एक्चुरी उत्पादन गर्न सकेको छैन ।
बीमा बजार बढ्दै गएको र बीमाको दायरामा आएको जनसंख्या पनि बढ्दै गएको तर एक्चुरीको पाटोमा भने नेपाली बीमा बजार कमजोर भएको सरोकारवालाहरू बताउँछन् ।
नेपालमा हाल ४१ वटा बीमा कम्पनी सञ्चालनमा छन् । तर, ती सबै कम्पनी विदेशी एक्चुरीको भर पर्दै आएका छन् ।
आफ्नै देशमा एक्चुअरी नहुँदा बीमा कम्पनीहरू मात्रै होइन बीमा कम्पनीहरूको नियामक निकाय बीमा समिति समेत विदेशी एक्चुरीको भर पर्दै आएको छ । जसकारण विदेशी एक्चुरीलाई वर्षेनी करौडौं रूपैयाँ बुझाउनुपर्ने बाध्यतासमेत छ ।
हाल १९ वटा जीवन बीमा कम्पनीमा आ-आफ्नै १/१ जना एक्चुरी छन् । कम्पनीहरूले एक्चुअरी नियुक्ति गर्दा समितिको स्वीकृति लिर्नुपर्छ ।
समितिबाट स्वीकृत भएका एक्चुअरीले मात्रै बीमा कम्पनीमा काम गर्ने मौका पाउँछन् ।
बीमा क्षेत्रका मूख्य काम बीमाशुल्क निर्धारण गर्ने, बीमा दाबी पर्ने संख्याहरूको पूर्वानुमान लगाउने, कम्पनीको सम्पत्ति वा दायित्वको अवस्थाको मूल्याङ्कन गर्ने तथा बोनस दर निर्धारण गर्ने लगायतका अन्य काम एक्चुरीले गर्छन् ।
साथै एक्चुरीले सोको दायित्वको मूल्यांकन सम्बन्धी कार्य गर्छन् ।
आफ्नै देशमा एक्चुरी नहुँदा विदेशी एक्चुरीको भर पर्दै आएका नेपाली बीमा कम्पनीहरूले पोलिसी बनाउन र दायित्वको मूल्याङ्कन गर्न एउटै एक्चुरी राख्छन् ।
जुन कुरा बीमा व्यवसायका लागि राम्रो नहुने विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार जुन एक्चुरीले प्रोडक्ट बनाएको हो, त्यही एक्चुरीले भ्यालुएसन गर्नु हुँदैन ।
एक्चुरीको अभावमा एउटै एक्चुरीले पोलिसी डिजाइन गर्ने र मूल्याङ्कनको काम पनि उसैले गर्दा विकृति देखिने विज्ञहरू बताउँछन् ।
तर, स्वेदशमा एक्चुरीको अभाव हुँदा प्रोडक्ट डिजाइन र सोको मूल्याङ्कनको लागि एउटै एक्चुरीको भर पर्नुपर्ने बाध्यता रहेको बीमकहरू बताउँछन् ।
‘बीमा कम्पनीहरूमा पोलिसी डिजाइजन गर्ने र त्यसको दायित्वको मूल्याङ्कन एउटै एक्चुरीले गर्ने अभ्यास ठिक होइन,’ एक विज्ञले क्लिकमाण्डूसँग भने,‘ जुन एक्चुअरीले प्रोडक्ट डिजाईन गर्यो, सोही एक्चुरीले मूल्याङ्कन गर्दा उसले आफ्नो प्रोडक्ट नराम्रो छ भन्दैन । मैले जे चिज बनाएको छु, त्यो चिजलाई कहिले पनि नराम्रो हो भन्न सक्दिन ।’
एक्चुरी कुनै विश्वविद्यालयको औपचारिक उपाधि नभईकन चार्टर्ड एकाउण्टेण्टजस्तै पेशागत उपाधि हो ।
एक्चुरीलाई बीमा क्षेत्रसँग जोडेर मात्रै हेर्ने गरिन्छ । तर, यो जनशक्तिको आवश्यकता अर्थतन्त्रको विकासका लागि सरकारी तथा निजी क्षेत्रमा उत्तिकै महत्व हुने विज्ञहरु बताउँछन् ।
विश्वको कुनै एक संस्थाबाट एक्चुरीको उपाधि हासिल गरेका व्यक्तिले जुनसुकै देशमा पनि काम गर्न पाउने व्यवस्था छ ।
बीमा कम्पनीहरूको वित्तीय विवरण तयार पार्नेदेखि लिएर नयाँ बीमा योजना बनाउन एक्चुरीको आवश्यकता पर्छ ।
हाल बीमा कम्पनीहरूले आफ्नो सबै विवरणहरू विदेशी एक्चुरीलाई पठाँउछन् । ती एक्चुरीले स्वीकृत गरेको फाइल कम्पनीहरूले बीमा समितिमा पेश गर्छन् ।
बीमा कम्पनीहरूबाट प्राप्त भएको फाइल समितिले आफ्नो एक्चुरीलाई पठाउँछ । समितिको एक्चुरीले स्वीकृत गरेपछि बीमा कम्पनीहरूको वित्तीय विवरण बीमांकीय मूल्याकंन भएको ठहरिन्छ ।
बीमाङ्की छात्रवृत्तिमा आकर्षण देखिएनः बीमा समिति
बीमा समितिले बीमाङ्की पढ्ने विद्यार्थीरूलाई प्रोत्साहन हुने गरी छात्रवृत्ति स्वरूप सीमित रकम दिने व्यवस्था गरेको थियो ।
बीमाङ्की जनशक्तिको उत्पादनलाई प्रोत्साहन हुने गरी छात्रवृत्तिको व्यवस्था गर्न विभिन्न निकायबाट समितिलाई माग हुँदै आएको थियो ।
उक्त मागलाई संबोधन गर्दै समितिले छात्रवृत्तिको व्यवस्था गरे पनि विद्यार्थीहरूले नै रुचि नदेखाएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
बीमाङ्की पढ्नका दागि छात्रावृत्ति दिने भन्दा पनि विद्याथीहरूको आकर्षण नदेखिएका कारण त्यस्तो व्यवस्था बन्द गरिएको उनको भनाइ छ ।
‘बीमा क्षेत्रका लागि चाहिने महत्वपूर्ण जनशक्ति एक्चुरी हुन् । तर, स्वदेशमा अहिले सम्म ती जनशक्ति उत्पादन गर्न सकिएको छै,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने, ‘स्वदेशमा नै एक्चुरी उत्पादन गर्ने उद्देश्यले हामीले छात्रावृत्तिको योजना पनि ल्यायौं । तर, आकर्षण देखिएन ।’
उनकाअनुसार हाल बीमा समितिमा पनि वेलायती बीमाङ्की आवद्ध छन् । वेलायती बीमाङ्कीकै भरमा आफ्ना काम कारबाही गर्दै आएको उनले बताए ।
१९ जीवन बीमा कम्पनीमा सबै विदेशी बीमाङ्की
नेपालमा एक जना पनि एक्चुरी छैनन् । केही नेपालीले एक्चुअरीको उपाधि हासिल गरेका भए पनि उनीहरू नेपालमा छैनन् ।
केही महिनाअघि बीमा समितिले १९ जीवन बीमा कम्पनीले समितिसँग पेस गरेको एक्चुरीलाई स्वीकृत दियो ।
समितिले उपलब्ध गराएको एक्चुरीको तथ्यांकअनुसार सबै जीवन बीमा कम्पनीमा विदेशी बीमाङ्की कार्यरत छन् ।
निर्देशिकाअनुसार अनुभव भएका बीमाङ्कीलाई मात्रै जीवन बीमा कम्पनीले बीमाङक्ी नियुक्त गर्नु पर्ने व्यवस्था छ । साथै, नेपालमा दर्ता भएका एउटा बीमा कम्पनीको बीमाङ्की भई कार्य गरिरहेको बीमाङ्कीलाई अर्को कम्पनीको बीमाङ्की नियुक्त गर्न पाउने छैनन् ।
बीमाङ्की पढाउँदै गणित विज्ञान स्कुल
देशमा खड्किएको एक्चुरीको अभावलाई कम गर्न भन्दै त्रिभुवन विश्व विद्यालय अन्र्तगत गणित विज्ञान स्कुलले २०७३ सालदेखि बीमाङ्की पढाउँदै आएको छ ।
स्कुलमा शुरूका वर्षहरूमा २८/३० जना विद्यार्थी भर्ना हुन जान्थे । तर, अहिले भने सो विषय पढ्नका लागि आकर्षण बढ्दै गएको स्कुलको भनाइ छ ।
प्लस टु अध्ययन समाप्त गरेका जुनसुकै संकायका विद्यार्थीले पनि यो विषय अध्ययन गर्न पाउँछन् । तर, १०० पूर्णाङ्कको गणित भने पढेको हुनुपर्नेछ । प्रत्येक सेमेस्टरमा एउटा विषयको ७५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा हुन्छ । जसमध्ये ४५ अंकको फाइनल, ३० पूर्णाङ्कको आन्तरिक हुन्छ । आन्तरिकमा ६ अंक, गृहकार्यको ६ अंक, ६ अंक हाजिरी र ६ अंकको प्रस्तुतिकरणको अंक जोडिन्छ ।
गणित स्कूलमा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । स्कुलमा ३६ जनाको कोटा छ । जसमध्ये ४ जनालाई छात्रवृत्ति प्रदान गरिन्छ । कलेजले लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुनेले स्वतः छात्रवृत्ति पाउँछन् ।
हाल सो स्कुलमा अध्ययन गरिरहेका केही विद्यार्थीहरूले नेपालका जीवन बीमा कम्पनीमा जागिर समेत पाएका छन् । अबका केही वर्षमा बीमाङ्कीको अभाव मेटिने विश्वास विद्यालयको छ ।