बीमा कम्पनीमा ‘एक्चुरी’को भूमिका: रोशन ज्ञवालीको लेख
बीमा कम्पनीमा एक्चुरीको मुख्य भूमिका भनेको प्रडक्ट प्राइसिङ र एक्चुरियल भ्यालुएसन नै हो भन्ने बुझाइ रही आएको छ । किनकी यो कार्य गर्नैपर्ने भनेर नियामक निकाय बीमा समितिबाट तोकिएको छ । के कुनै बीमा कम्पनीमा एक्चुरीको भूमिका यतिमै सीमित हुन्छ त ?
यस आलेखमा हामी एक्चुरीले के के काम गर्छ । र, कुनै कम्पनीको वित्तीय स्थायित्व र कम्पनीमा भ्यालू क्रियट कसरी गर्छ भनेर चर्चा गर्नेछौं ।
हालसालै बीमा कम्पनीमा कार्यरत एकजना मित्रसँग अनौपचारिक कुरा हुँदा फलानो कम्पनीको जस्तै प्रडक्टका लागि काम गर्दैछु भन्नु भयो । जसको अर्थ उहाँको एक्चुरीबाट प्रिमियम रेट उपलब्ध भइ बीमा समितिले स्वीकृती दिएपछि बजारमा बेच्न सकिन्छ भन्नु हो । जुन आफैमा सकारात्मक कार्य हो ।
किनकी कस्टमरलाई अर्को ‘प्रडक्ट च्वाइस’का रुपमा उपलब्ध हुन्छ । तर यदि उक्त कम्पनीले केही फिचर थपघट गरी प्रिमियम घटाएर ल्यायो भने के त्यो कम्पनीका लागि दीर्घकालीन रुपमा फाइदाजनक हुन्छ त ? अब बीमा कम्पनीको प्रडक्ट बनाउने कार्यको चर्चा गरौं ।
क) रिसर्च/प्रडक्ट डिजाइन/प्राइसिङ
यस अन्तर्गत बजारमा कस्तो खालको पोलिसीको आवश्यकता छ र त्यसको प्रडक्ट साइकल कतिसम्म हुनसक्छ भनेर बीमा प्रोफेशनल्स, बीमा अभिकर्ता, म्यानेजमेन्ट टिम, कस्टमर, विद्यार्थीआदिबाट प्रतिक्रिया अनि र सल्लाह सुझावका आधारमा गरिन्छ । पोलिसी डिजाइनमा कति र कस्तो प्रकारको सुविधा दिने, शुल्क कति लिने, खर्चआदिको लेखाजोखा गरिन्छ र यसमा धेरै प्रकारको सिनारियोहरु बनाइन्छ । किनकी यसले बीमाको प्रिमियममा असर गरेको हुन्छ ।
अनि आउँछ, प्राइसिङ/प्रोफिट टेस्टिङ । जुन एउटा पोलिसीलाई आधार मानेर तयार गरिएको बीमा दरले सम्पूर्ण खर्च कटाएर पोलिसी अन्त्य हुँदासम्म कति मार्जिन दिन्छ भनेर हेरिन्छ । यो वर्तमानमा ल्याइएको मूल्य हो । खर्च भन्नाले कमिसन खर्च, पोलिसी जारी गर्दा र व्यवस्थापन गर्न लाग्ने खर्च, बीमाको जोखिम खर्च, रिजर्भ राख्दा हुने खर्च, कर वापत हुने खर्चआदि पर्छ भने आम्दानीमा लगानीको प्रतिफल, रिजर्भमा हुने कमाइ र एसेसट सेयरमा हुने कमाइ पर्दछन् । एसेट सेयरबाट बोनस कति दिने भनेर हिसाब निकालिन्छ ।
जीवन बीमामा बोनस निर्धारण गर्ने एक्चुरी भ्यालुएसन के हो र कसरी गरिन्छ ?: रोशन ज्ञवालीको लेख
अब एउटा पोलिसीलाई पोर्टफोलियो लेभलमा वा यस्तै खालका यति यति संख्यामा पोलिसी बिक्री हुन्छन् भन्ने आधारमा सम्पूर्ण उमेर समूहका लागि बीमादर निकालिन्छ । यसरी बीमादर निकाल्दा धेरै सिनारियोहरुमा निकालिन्छ । जस्तो कि ब्याजदर घटबट हुँदा, खर्च बढ्दा, बीमा मृत्युदर बढ्दा वा घट्दा, प्रिमियम रेट अनि प्रोफिटाविलिटीमा कस्तो असर पर्छ भनेर हेरिन्छ । यदि कुनै उमेर समूह, टर्ममा नेगेटिभ प्रोफिट (कम नाफा) भएमा त्यसलाई शुरुमै सम्बोधन गर्न सकिन्छ ।
कुनै सुविधा ग्यारेन्टी गरेको छ कि छैन । डबल बीमांकहरु गरेको छ कि छैन, आजीवन बीमा छ कि छैन भन्ने कुरा पनि हिसाबमा ल्याइन्छ । किनकि यिनीहरुले कम्पनीको आवश्यक पुँजीमा असर पारेको हुन्छ । त्यस्ता खालका प्रडक्ट बढी जोखिमयुक्त हुन्छन् । जसका लागि कम्पनीको आवश्यक पुँजी बढ्न जान्छ । यस कार्यको महत्व आगामी दिनमा अझ बढेर आउँछ किनकी नेपालमा पनि जोखिममा आधारित पुँजी लागू हुने देखिन्छ । यसका लागि बीमा समितिले आवश्यक गृहकार्य गरिरहेको छ ।
अतः अप्टिमम रेटमा सबै पोलिसी बिक्री गर्दा नाफा नै हुने गरी प्राइसिङ गर्न कम रिस्क भएको प्रडक्ट बनाउन र यदि रिस्की प्रडक्ट ल्याउनु परेमा पनि आवश्यक पुँजीको विश्लेषण गर्न एक्चुरीको अथक परिश्रम र समय आवश्यक छ ।
ख) एक्सपेरियन्स स्टडिज
एक्सेरियन्स स्टडिज भन्नाले कुनै कम्पनीमा प्राइसिङ अनि भ्यालुएसन गर्दा प्रयोग हुने प्यारमिटरको स्थितीलाई बुझाउँछ । प्रति इकाईमा हुने खर्च, बीमा मृत्युदर, ल्याप्स आदिको अवस्था के कस्तो छ भनेर गरिने अनुसन्धान हो । यस्तो अनुसन्धान ३ देखि ५ वर्षलाई आधार मानेर गरिएको हुन्छ ।
माथि उल्लेखित उदाहरणमा कुनै कम्पनीले बीमादर घटबट गरेर पोलिसी बजारमा ल्याए पनि उक्त बीमादर आफ्नो कम्पनीको अनुभवसँग म्याच नहुन पनि सक्छ । जस्तो कि यो कम्पनीको प्रतिइकाई खर्च बढी छ र यसको राम्रोसँग अध्ययनबिना प्रिमियम घटाएर बजारमा ल्याए पनि यसले जति नै बढी व्यापार गरे पनि दीर्घकालीन नाफा भने कम हुन वा नहुन पनि सक्छ । त्यसैगरी कम्पनीको ब्राण्ड हेरेर पनि बीमितको व्यवहार पनि फरक हुन सक्छ । जसले ल्याप्स, सरेन्डर जस्ता प्यारामिटरलाई असर पार्दछ । त्यसैले एक्चुरीले यी सम्पूर्ण प्यारामिटरको अध्ययन गर्नुपर्छ ।
ग) नाफाको अध्ययन, विश्लेषण र रणनीति
यस अन्तर्गत कम्पनीले कुनै निश्चित समयमा वा समयसम्म गरिएको व्यापारले कति नाफा वा भ्याल्यु जेनेरेट गर्यो भन्ने कुराको विश्लेषण गदर्छ । भ्यालू अफ न्यू बिजनेस र इम्बेडेड भ्याल्यु रिपोर्टिङ यसका प्रमुख रिपोर्टहरु हुन् । विकसित देशका यी नियामक निकायको आवश्यकता भए पनि नेपालमा यी काम निकै कम कम्पनीले मात्रै गर्दै आएका छन् ।
यो कार्य सम्पन्न गर्नका लागि एक्चुरीले विशेष प्रकारको मोडल बनाएर हिसाब गर्दछ । जुन बढी समय लाग्ने र खर्चिलो हुन जान्छ । यस कार्यले कुन प्रडक्ट नाफामा छ ? कुन छैन ? बेचिएका प्रडक्टमध्ये कुन समय अवधिको प्रडक्ट नाफामा छ र कुन उमेर समूहको प्रडक्टले बढी नाफा दिन्छ भनेर विश्लेषण गरिएको हुन्छ । जसले गर्दा कम्पनीलाई नाफायोग्य सेग्मेन्ट र बीमा अभिकर्तालाई आकर्षित गर्न प्रोत्साहित गर्छ ।
घ) पुनर्बीमा, अन्डर राइटिङ र अपरेसन
नयाँ प्रडक्टहरुको अन्डर राइटिङ निर्देशिका निर्माण गर्न, पुनर्बीमा दर, नेगोसिएसन गर्न, पुराना अन्डर राइटिङ निर्देशिकाहरुलाई समय सापेक्ष सरलिकृत संशोधन गर्न, कम्पनीको जोखिमको अवस्थाका आधारमा पुनर्बीमा जोखिम धारण गर्न, प्रणाली डिजाइन र विकास गर्न एक्चुरीको भूमिका महत्वपूर्ण हुन्छ । नेपालमा यी कार्य गर्नका लागि पुनर्बीमामा भर पर्नुपर्ने बाध्यता छ । पुनर्बीमाको प्राविधिक सहयोग लिने काम राम्रो काम भए पनि नेगोसिएसन गर्नुपर्ने पक्षसँग सहयोग माग्दा उनीहरुकै पक्ष हावी हुन सक्ने सम्भवना रहन्छ । त्यसैले सम्झौता नेगोसिएसन गर्न पनि एक्चुरीको भूमिका रहन्छ ।
ङ) रिस्क म्यानेजमेन्ट
बीमा समितिले २०७६ फागुन १४ गते बीमा कम्पनीमा जोखिम विभाग हुनुपर्ने भनेर निर्देशिका जारी गर्यो । यसमा ओआरएसए, आरबीसी, एएलएम र समग्रमा इआरएम जस्ता बृहत कार्य गर्नुपर्ने हुन्छ । यसमा कम्पनीको जोखिमको आधारमा पुँजी निर्धारण गर्न, बोनस दिगो गर्न र सम्पत्ति तथा दायित्व मिलान गर्ने र त्यही अनुसारको लगानी नीति बनाउने ताकी आवश्यक बोनस दिन नसकेर भविष्यमा घटाउन नपरोस ।
च) एक्चुरीयल भ्यालुएसन
आवश्यक मात्रामा रिजर्भ निर्धारण गर्न र बीमितिलाई उपयुक्त बोनस दिन एक्चुरी भ्यालुएसन गरिन्छ । अहिले यो वार्षिक भए पनि भविष्यमा हरेक तीन महिना वा हरेक मासिक रुपमै गर्नुपर्ने हुनसक्छ । यसका अलावा बीमाको नयाँ लेखा प्रणाली अन्तर्गत आइएफआरएस-१७ पनि निकट भविष्यमा शुरु गर्नुपर्ने हुन्छ । यो कार्यले बीमा कम्पनीको नाफालाई स्थायित्व र दिगो राख्न सहयोग पुग्छ ।
छ) वित्तीय योजना, बिजनेस र बजेट विश्लेषण
कम्पनीले निर्धारण गरेको बजेट अनुसार सबै सूचकहरु सही अवस्थामा छन् कि छैनन् । तलमाथि के भए र किन भए भन्ने कुराको विश्लेषण गरिन्छ । सामान्यतयाः नाफा नोक्सान र वासलातको प्रोजेक्सन गरी तयार पार्ने र यसलाई कम्पनीको यकिन वित्तीय विवरणसँग तुलना गरी व्यवसायिक निर्णय लिन सजिलो हुन्छ ।
माथि उल्लेखित कार्यहरु जीवन बीमासँग मात्र सम्बन्धित छन् । जसका लागि पूर्णकालिन एक्चुरीको नै आवश्यकता पर्छ । नेपालमा यस्तो दक्ष जनशक्ति नभएकाले एक्चुरी अध्ययनरत विद्यार्थीलाई नै कम्पनीले यी कार्यहरुमा समावेश र क्षमता अभिवृद्धि गराउदै लैजानु पर्ने देखिन्छ ।
पूर्णकालिन र विदेशी एक्चुरीको कस्ट बेनेफिट हिसाब गर्दा पनि यो कुरा अपरिहार्य नै देखिन्छ । झट्ट हेर्दा परिणाम नदेखिए पनि दीर्घकालीनरुपमा बीमा कम्पनी, बीमित, बीमा समिति र समग्र राष्ट्रलाई नै यो सानो कार्यले ठूलो टेवा पुग्छ, किनकी यी सबै काम विदेशीहरुलाई लगाउनु परेको अवस्थामा देशबाट हरेक वर्ष बाहिरिने रकम कैयन गुणाले बढ्ने निश्चित छ ।
(लेखक प्रिन्सिपल रिस्क कन्सल्टिङका सह-संस्थापक हुन्, उल्लेखित बिचार लेखकका निजी हुन्)