भान्छामा विद्युतीय चुल्हो प्रयोग गर्न उर्जामन्त्री भुसालद्वारा सेनापति शर्मासमक्ष आग्रह
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र प्रधानसेनापति महारथी प्रभुराम शर्माले भेट भएको छ ।
मन्त्रालयमा आइतबार भएको भेटवार्तामा उनीहरुबीच जलविद्युतको विकास तथा खपतका विषयमा छलफल भएको छ ।
मन्त्री भुसालले विद्युत खपत प्रवर्द्धनका लागि सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेकी थिइन् । सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै भुसालले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न मन्त्रालय तयार रहेको बताइन् ।
उनले आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि सेनापति समक्ष आग्रह गरिन ।
‘विद्युत खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ, आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगादन आवश्यक छ,’ उनले भनिन् ।
महारथी शर्माले नेपाली सेनाको भान्सा विद्युतिकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए ।
‘हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न शुरु गरेका छौं, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौं,’ उनले भने ।
सेनाले पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न शुरु गरिसकेको जानकारी दिँदै उनले आफू पनि विद्युतीय गाडी नै चढ्दै आएको बताए ।
यसअघि ऊर्जामन्त्री भुसालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत खपतका विषयमा विभिन्न चरणमा छलफल गरिसकेकी छन् ।