कोरोना बीमाको दाबी भुक्तानीको समस्या एकमुष्ठरुपमा छिट्टै समाधान हुन्छः अध्यक्ष सिलवाल



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् ।

ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा मंगलबार आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले भने, ‘अर्थमन्त्रीज्यू कोरोना बीमाको दाबी भुक्तानी दिन प्रतिबद्ध हुनुहुन्छ । अब समस्या समाधान हुन्छ ।’

उनले एकमुष्ठरुपमा नै समस्या समाधान हुने बताए ।

उनले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थमन्त्री र अर्थमन्त्रालयका सचिव लगायत पदाधिकारीहरुसँग निरन्तर छलफल गरेको बताउँदै बीमा समितिबाट विकल्प सहितको प्रस्ताव पठाइएको समेत उल्लेख गरे ।

चालू आर्थिक वर्षमा बीमा दाबी फर्र्छौट उल्लेखनीय रुपले बढेको र बीमा दाबी भुक्तानीका सम्बन्धमा बीमा समितिमा परेका उजूरीमाथि छानबिन गरी शीघ्र किनारा लगाउने काम भइरहेको बताए ।

चालू आर्थिक वर्षको पहिलो आठ महिनामै बीमाको दायरा विस्तार सरकारले चालू आर्थिक वर्षका लागि लिएको ३३.३३ प्रतिशतको लक्ष्यभन्दा पनि बढेर ३५ प्रतिशत नाघेको जानकारी दिए ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म २६.३० प्रतिशत रहेको बीमाको पहुँच चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा बढेर ३५.४४ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ । यो संख्या अझै बढ्दै जाने उनको भनाइ छ ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्नका लागि जोड दिँदै आएको बताए ।


क्लिकमान्डु