कोरोनाका कारण घटेको गार्मेन्टको आयात र निर्यात दुबै बढ्यो



काठमाडौं । कोरोना महामारीका कारण फस्टिएका क्षेत्रमध्येको एक हो, गार्मेन्ट उद्योग ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लागू भएको लकडाउनका कारण आयात ठप्प भयो । जसको फाइदा स्वदेशी गार्मेन्ट उद्योगले उठाए । त्यसअघि आयातित कपडासँग प्रतिष्पर्धा गर्नु उद्योगीका लागि चुनौती थियो ।

तर कोरोनाका कारण भने गार्मेन्ट उद्योगमा उर्जा थपिएको व्यवसायीहरुको भनाइ छ ।

कोरोना अघि र पछिको अवस्था हेर्दा बजारमा आयातित कपडालाई स्वदेशी कपडाले बिस्थापित गर्न थालेका छन् । यद्यपि बजारमा स्वदेशी उत्पादनका कपडा बढे पनि आयात भने घट्न सकेको छैन ।

थ्रेड गार्मेन्टका सञ्चालक कृष्णराज तिमल्सिनाले कोरोनाका कारण गार्मेन्ट अझ बढी फस्टाउने मौका पाएको बताउँछन् ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्ममा २५ अर्ब ५८ करोड ९६ लाख रुपैयाँको आयात भइसकेको छ । जुन गत आवको सोही अवधिको तुलनामा करिब ५ अर्ब रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा २० अर्ब ५४ करोड ३२ लाख रुपैयाँको गार्मेन्ट आयात भएको थियो ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालले ३० अर्ब १० करोड ३१ लाख रुपैयाँ बराबरको रेडिमेट गार्मेन्ट आयात भएको थियो भने आव २०७६/७७ मा कोरोनाका कारण आयात २४ अर्ब २ करोड ५ लाख रुपैयाँमा सीमित भएको थियो ।
त्यसैगरी, आव २०७५/७६ मा ३१ अर्ब ८२ करोड ६५ लाख रुपैयाँ, आव २०७४/७५ मा १६ अर्ब ५ करोड ७४ लाख रुपैयाँ र आव २०७३/७४ मा १३ अर्ब ४७ करोड ९७ लाख रुपैयाँको आयात गरेको थियो ।

निर्यातमा सुधार हुँदै
लकडाउन हटेसँगै निर्यातमा पनि सुधार देखिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष फागुन मसान्तसम्म ४ अर्ब ८२ करोड ७५ लाख रुपैयाँको निर्यात भएको छ । जबकी ३ अर्ब ७८ करोड ३८ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा ५ अर्ब ३१ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख ६३ हजार गोटा पोषाक विभिन्न मुलुकमा निर्यात गरेको थियो ।

आव २०७६/७७ मा भने ४ अर्ब ८७ करोड ३८ लाख रुपैयाँका ९१ लाख ७६ हजार पिस र आव २०७५/७६ मा ६ अर्ब ३४ करोड ३१ लाख रुपैयाँको १ करोड २२ लाख ६२ हजार पिस निर्यात भएको थियो ।


अरिष्मा मोक्तान