कोरोना संक्रमणको २ वर्षः इन्टरनेटले मार्यो फड्को, थपिए एक दर्जन कम्पनी



काठमाडौं । विश्वब्यापी रुपमा कोरोना संक्रमण फैलिएको २ अर्बको अवधिमा अनलाइनमा आधारित व्यवसाय फस्टाएसँगै एक दजर्न नयाँ इन्टनेट कम्पनी थपिएका छन् ।

लकडाउनको अवधिमा इन्टरनेट माग वृद्धि भएसँगै नयाँ कम्पनीहरु पनि थपिएका हुन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको विवरणमा २०७६ चैतदेखि हालसम्म ११ वटा इन्टरनेट सेवा प्रदायक कम्पनी दर्ता भएको उल्लेख छ । नेपालमा २०७६ चैतदेखि कोरोना संक्रमण फैलिएको थियो । कोरोना संक्रमण शुरु भएसँगै अहिलेसम्म प्राधिकरणमा ११ वटा नयाँ कम्पनी दर्ता भएका छन् ।

ती कम्पनीहरुमा फायरवल्र्ड कम्युनिकेसन, नेपाललिंक कम्युनिकेसन, इलिंक नेट, एयरसन इन्टरनेट, खप्तड नेट, स्वीफ्ट नेटवर्क एण्ड कम्युनिकेसन, डिजी लिंक नेटवर्क, युनिट नेटवर्क, आइटेल नेटवर्क, इनोभेटिभ कम्युनिकेसन सिस्टम र कालिका नेट रहेका छन् ।

यो अवधिमा नयाँ कम्पनी दर्तामात्र होइन, दर्ता भएका कम्पनी सञ्चालनमा आउनेको संख्या पनि एक दर्जनभन्दा धेरै छ ।
दुई वर्षमा थप १३ वटा नयाँ कम्पनी सञ्चालनमा आएका छन् । दुई वर्षअघि ४० वटा इन्टरनेट सेवा प्रदायक सञ्चालनमा रहेकोमा यस वर्षको मंसिर महिनामा ५३ पुगेका छन् । सञ्चालनमा आएका कम्पनीहरु मध्ये कुनै कोरोना कालभन्दा अघि दर्ता भएका र कुनै कोरोना संक्रमणको समयमा दर्ता भएका छन् ।

यी कम्पनीसँगै अहिलेसम्म १३५ वटा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी दर्ता भएका छन् । यी कम्पनीमध्ये ५३ वटा सञ्चालनमा आइसकेका छन् ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको विवरण अनुसार कोरोना संक्रमण शुरु भएको २०७६ चैत महिनादेखि २०७८ मंसिरसमम इन्टरनेटका ग्राहक ७०.८७ प्रतिशतले वृद्धि भएका छन् ।

२०७६ चैत महिनामा फिक्स्ड लाइन इन्टरनेटका ग्राहक ११ लाख ५ हजार १ सय १७ थिए । त्योबेला सञ्चालनमा आएका इन्टरनेट सेवा प्रदायकको संख्या ४० थियो । २०७८ मंसिर महिनामा आइपुग्दा भने इन्टरनेटका ग्राहक १८ लाख ८८ हजार ३ सय ६४ पुगेका छन् । । पछिल्लो २० महिनामा ७ लाख ८३ हजार इन्टरनेटमा नयाँ ग्राहक थपिएका छन् ।

लकडाउनको अवधिमा अनलाइन कक्षा, वर्क फ्रम होम शुरु भएपछि इन्टरनेटको माग बढेको थियो । माग बढेसँगै यस व्यवसायमा आकर्षण पनि बढेको छ ।

विश्वभर नै अनलाइन माध्यमबाट कामहरु भइरहेको बेला नेपालमा पनि विभिन्न व्यवसाय, कार्यालय, स्कुल, कलेजहरु अनलाइन चलाउन सकिन्छ भनेर अनलाईन कक्षा, वर्कफ्रम होम चल्न शुरु भयो ।

लकडाउनको शुरुमा इन्टरनेटलाई मनोरञ्जनका हिसाबले प्रयोग भइरहेकोमा दोस्रो चरणमा भने यसलाई व्यवसायीकरुपमा प्रयोग गर्न थालियो । बच्चलाई पढ्नदेखि बाबुआमालाई काम गर्नलाई इन्टरनेट चाहिने भयो ।

‘यसले गर्दा इन्टरनेटको प्रयोग ह्वात्तै बढ्यो,’ नेपाल इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले भने, ‘युट्युव हेर्नेदेखि टिकटक प्रयोग ह्वात्तै बढे ।’ जसले गर्दा इन्टरनेटको खपत बढ्यो ।

शुरुशुरुमा मनोरञ्जनको रुपमा इन्टरनेटको प्रयोग भए पनि दुई तीन महिनापछि भने व्यवसायीक रुपमा यसको प्रयोग हुनथालेको पराजुलीको भनाइ छ । व्यक्ति उपभोक्तादेखि विभिन्न कम्पनी, व्यवसायीक प्रतिष्ठान, स्कुल, कलेजहरुले इन्रनेटको लागि पैसा खर्च गर्न थाले ।


क्लिकमान्डु