नेपाल र कतारबीच श्रम सम्झौता नवीकरण गर्न दुई देशका श्रममन्त्री सहमत



कतार । नेपाल र कतारबीच श्रम सम्झौता नवीकरणका लागि सहमति जुटेको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रममन्त्री डा. अल वीन समिख अल मारीसँग भेटवार्तापछि सम्झौता नवीकरणका लागि सहमति जुटेको हो ।

मन्त्री श्रेष्ठले नेपाल र कतारबीच श्रम सम्झौता नविकरणका लागि नेपाल सरकारले पठाएको मस्यौदाबारे मारीलाई जानकारी गराएका छन् ।

सो क्रममा कार्यदलस्तरमा छलफल गरी मस्यौदालाई छिट्टै अन्तिम रुप दिने र नेपालमा हस्ताक्षर समारोह आयोजना गर्ने सहमति भएको छ । मन्त्री श्रेष्ठले समकक्षी मारीलाई हस्ताक्षर समारोहमा उपस्थितिका लागि नेपाल आउन निमन्त्रणा गरेका छन् ।

गत मंसिरमा काठमाडौंमा भएको नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा भएका निर्णय कार्यान्वयनबारे पनि सो अवसरमा छलफल भयो । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो ।

कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणमा सघाउन नेपालले प्रस्ताव गरेको छ ।

नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले नेपालका सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न सहयोग गर्ने जनाएको थियो ।

भेटवार्तामा श्रमिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सामाजिक सुरक्षामा सहभागिता लगायतका बिषयमा पनि छलफल भएको छ । मन्त्री मारीले कतारमा आयोजना हुने विश्वकपमा नेपाली श्रमिक ल्याउन इच्छुक रहेको बताएका थिए ।

नेपाल र कतारबीच दौत्यसम्बन्ध स्थापना भएको करिब तीन दशक भइसकेको छ । श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारले सन् २००५ मा श्रम सम्झौता गरेका थिए ।


क्लिकमान्डु