सेयर बजारसँगै सुस्तायो कारोबार रकम



काठमाडौं । सेयर बजारमा भारी गिरावट आउँदा कारोबार रकम समेत न्यून बनेको छ ।

सुरुको केही मिनेट मात्रै बढेको बजारमा कारोबार अवधिभर गिरावट नै रह्यो । अन्तिम समयमा बजार १९.६५ अंकले घटेर परिसूचक २६३१.३२ बिन्दुमा रोकिएको छ ।

सेयर कारोबारको लागि यो साताको अन्तिम दिन बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.२२ अंकले घटेर ४९७.३७ बिन्दुमा रोकिएको छ । बिहीबार होलीका कारण सार्वजनिक बिदा छ । जसले गर्दा यो साताको लागि बुधबार अन्तिम कारोबार हो ।

२३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिनको कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको उपसूचक ११.९४, विकास बैंक ६०.९७, जलविद्युत ३३.११, फाइनान्स २९.५१, निर्जीवन बीमा ७७.२३, उत्पादन तथा प्रशोधन ४४.६२, माइक्रोफाइनान्स ९.२७, जीवन बीमा समूहको उपसूचक ५७.०७ अंकले घटेको छ ।

बजारमा भारी गिरावट आउँदा पनि इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै मैलुङ खोला जलविद्युत कम्पनी, सोल्टि होटल, ओरियन्टल होटल, नेपाल फाइनान्सका लगानीकर्ताले कमाउँदा यूनाइटेड इदी मार्दी आरबी हाईड्रोपावर, नेपाल टेलिकम, शिव श्री हाईड्रो, घलेम्दी हाईड्रोका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु