सिद्धि लक्ष्मी स्टिलको व्यापार ३ गुणाले बढ्यो, ३ अर्ब ३८ करोड कर्जाको रेटिङ



काठमाडौं । सिद्धि लक्ष्मी स्टिलको व्यापार तीन गुणाले बढेको छ । इक्रा नेपालका अनुसार लक्ष्मी स्टिलको व्यापार गत वर्ष तीन गुणाले बढेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ६३ करोड १६ लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले १ अर्ब २५ करोड ५९ लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । जसमा सो वर्षको तुलनामा गत वर्ष तीन गुणाले व्यापार बढाएको कम्पनीले जनाएको छ ।

समृद्धि स्टिल नामबाट बजारमा कम्पनीले छड बिक्री वितरण गर्दै आएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको सिद्धि लक्ष्मी स्टिल स्थापना भएको धेरै भएको छैन । तर, लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापना भई अटोमोबाइल क्षेत्र र उत्पादनमुलक क्षेत्र (चकलेट, प्लास्टिक र प्याकेजिङ) क्षेत्रमा निकै प्रख्यात रहेको कम्पनी रहेको हो ।

कम्पनीको कुल आम्दानीको ९९ प्रतिशत हिस्सा छडको रहेको छ । कम्पनीको व्यवस्थापनले तार, रड र स्ट्रक्चरको उत्पादन आफ्नो पोर्टफोलियोमा विस्तार गर्ने भएको छ । सो प्रोडक्ट उत्पादन गरे पनि ९० प्रतिशत व्यापार छडबाटै हुने अपेक्षा गरिएको छ ।

लक्ष्मी स्टिलले २०१९ को अक्टोबारबाट व्यापार शुरु गरेको थियो । कम्पनीले गत वर्ष ७ प्रतिशत अपरेटिङ मार्जिनसहित ३ अर्ब ६३ करोडको व्यापार गरेको छ । जसले गर्दा कम्पनी उकालोतर्फ लागेको कम्पनीले जनाएको छ ।

लक्ष्मी ग्रुप कम्पनी अन्तर्गतको सिद्धि लक्ष्मी स्टिलको स्थापना २०१७ मा नवपरासीमा स्थापना भएको थियो । उक्त कम्पनी गणेश बहादुर श्रेष्ठ र उनका तीन छोरा अन्जन श्रेष्ठ, निराकर श्रेष्ठ र निरन्जन श्रेष्ठको बराबर हिस्सा रहेको छ । कम्पनीले भारतबाट बिलेट आयात गरेर छड उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक क्षमता २ हजार केजी मेट्रिक टन रहेको कम्पनीको भनाइ छ । उक्त छड आन्तरिक बजारमा मात्रै माग भएको उल्लेख छ ।

कम्पनीले दीर्घकालिन कर्जाका लागि १ अर्ब २३ करोड ५० लाख रुपैयाँ रेटिङ गराएको छ । त्यसैगरी अल्पकालिन कर्जाका लागि २ अर्ब १५ करोड रेटिङ गराएको छ । जसमा इक्राले सो कम्पनीलाई एफोर रेटिङ दिइएको छ । कम्पनीले दीर्घकालिन तथा अल्पकालिन कर्जा गरेर ३ अर्ब ३८ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु