
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले निर्वाचनमा आफ्नो हारलाई ‘प्राविधिक विषय’ मात्र भएको टिप्पणी गरेका छन् । काठमाडौं क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु पाण्डेसँग पराजित भएपछि एक वक्तव्य जारी गर्दै घिसिङले मतदाताहरूलाई धन्यवाद दिनुका साथै आगामी कार्यदिशाबारे प्रष्ट पारे ।
भ्रष्टाचारविरुद्ध र सुशासनको माग गर्दै भएको ‘जेनजी’ विद्रोहपछि देशमा नयाँ शक्तिको उदय भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीलाई प्राप्त मत र सद्भावप्रति आभार व्यक्त गरे । चुनावमा पराजित भए तापनि जनताले दिएको माया र विश्वास आफ्नो लागि ठूलो ऊर्जा भएको उनको भनाइ छ।
पूर्वमन्त्री घिसिङले देशको विकास सुस्त हुनुमा दृष्टिकोण र कार्यान्वयनको अभाव मुख्य कारण रहेको बताए । उनले भने, ‘एउटा पुल बनाउन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने प्रणालीले विकास रोकिरहेको छ । देशलाई अब नाराले होइन, ठोस दृष्टिकोण र काम गर्न सक्ने नेतृत्वको खाँचो छ ।’
आफ्नो कार्यकालमा १८ घण्टाको लोडसेडिङ अन्त्य गरेको, विद्युत पहुँचलाई ९९ प्रतिशत पुर्याएको र नेपाललाई विद्युत निर्यातकर्ताको अवस्थामा पुर्याएको स्मरण गर्दै उनले साहसी निर्णय र दृढ नेतृत्व भए परिवर्तन सम्भव रहेको दाबी गरे । साथै, बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, मेलम्ची खानेपानीको पुनः सञ्चालन र बुढीगण्डकी तथा माथिल्लो अरुणजस्ता ठूला आयोजनाको मोडालिटी तय गर्नुलाई उनले आफ्नो उपलब्धिको रूपमा प्रस्तुत गरेका छन् ।
घिसिङले काठमाडौं-३ मा आफूलाई पराजित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र रास्वपाले पाएको भारी जनमतको सम्मान गर्दै सफलताको शुभकामना दिएका छन् । जनताको परिवर्तन र समृद्धिको आकांक्षा पूरा गर्न रास्वपा सफल हुनेमा उनले आशा व्यक्त गरे ।
तर, सरकारका कामकारबाहीमा भने आफ्नो पार्टीले सूक्ष्म निगरानी राख्ने उनले स्पष्ट पारे । ‘सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्दै जानेछ,’ कुलमानले भनेका छन् ।
चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता घिसिङले गरेका छन् । उनले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने प्रधानमन्त्री, सुरक्षा निकाय र कर्मचारी प्रशासनलाई पनि धन्यवाद दिएका छन् ।








प्रतिक्रिया