धितोपत्र बोर्डका अध्यक्षले गर्नैपर्ने कामहरु



पुँजी बजारमा आवश्यकता र चाहना दुबै छन् । कुनै पनि क्षेत्रको विकासमा चाहनाभन्दा पनि आवश्यकताले पहिलो प्राथमिकता पाउनु पर्छ । लगानीकर्ता के चाहन्छन् भन्दा पनि उनीहरुलाई के आवश्यक छ भन्ने छुट्याउन जरुरी छ ।

तर, आवश्यकतालाइ निमोठेर आफ्नो चाहना पूरा गर्न खोज्ने स्वार्थी समूह बजार र नियामक दुबैमा सक्रिय छन् । बोर्ड अध्यक्षले पुँजी बजारको विकास गर्न आवश्यकता वा चाहना के लाई प्राथमिकता दिन्छन् त्यो आगामी दिनले देखाउने छ । उनी बजारको आवश्यकता पूरा गर्न आएका हुन् वा चाहना पूरा गर्न भन्ने थाहापाउन केही दिनमात्र कुरे पर्याप्त हुनसक्छ । उनको कार्यकाल कुनै घडीले देखाउने समयभन्दा पनि एउटा टाइमरले देखाउने समय हो । यसैले उनी घडीभन्दा पनि टाइमर बोकेर अध्यक्षको पदमा आएका छन् ।

टाइमर बोकेर आएका बोर्ड अध्यक्षले बजारको आवश्यकता र लगानीकर्ताको अपेक्षाको लक्ष भेट्टाउछन् या भेट्टाउँदैनन् त्यो हेर्न बाँकी नै छ । तर, टाइमर शुरु भइसकेको छ ।

अध्यक्षको पद सम्हाल्दै गर्दा केही अन्तर्वार्तामा उनले भनेका छन् साना लगानीकर्ताको हितमा काम गर्छु । गर्नु पर्ने सानै नै हो । र, सानाका लागि नै हो । अहिले हामीलाई न ठुला गफ चाहिएको छ, न त ठुला काम नै । न त तारे होटलमा गएर कामविनाको पूmर्ति । ठुलो काम गर्न न समय छ, न आवश्यकता नै । सानै भए पुग्छ । सानो पुँजीका लागि । साना लगानीकर्ताका लागि । सानो बजारका लागि । सानो चित्त बोकेका ठुलाका विरुद्धका लागि । यसैले उनले आफ्नो कार्यकालमा घर बनाउन नसके पनि पुँजी बजारमा केही राम्रा र साना इटा मात्र थप्न सके भने यो बजार अनि यहाँका लगानीकर्ता निकै भाग्यमानी बन्न सक्थे ।

धितोपत्र बोर्ड अध्यक्षले के गर्ने भनेर सल्लाहको सुचिको बाढी नै लागि सकेको छ । उनलाई छनौट गर्ने समिति । उनलाई नियुक्ति गर्ने पार्टी । सफथ खुवाउने मन्त्री र उनको संस्था । उनका प्रतिस्पर्धी । स्वार्थी समूह । अनि आफैं पनि प्रतिस्पर्धाको नौटंकीबीच प्रथम भएर संस्था सम्हाल्न आइसके पछि आफुले आफैंलाई दिएका सल्लाहको सूचि आदि । अझ अर्थमन्त्रीले त कनिकुथी सल्लाहको केही बुँदे सुचि नै तयार गरेर लिखित नै बुझाए । यो सुचिले अर्थमन्त्री मात्र होइन, अर्थमन्त्रालयको नै पुँजी बजारप्रतिको बुझाई र प्राथमिकताको कुरुप यथार्थ झल्काउँथ्यो ।

यसैले यहाँ सल्लाहभन्दा पनि म चाँही आशाका केही सुचिहरु बनाउने कोशिस गरिरहेको छु । सबै नभए पनि केहि पूरा होलान् भन्ने विश्वास । जुन गर्नका लागि करिव दुई बर्ष पनि धेरै नै लामो समय हुनसक्छ ।

नयाँ स्टक एक्सचेन्ज तत्कालको कुनै आवश्यकता नै छैन । यो कसैको व्यवसाय विस्तार गर्ने चाहना मात्रै हो । सेयर बजारमा लगानी गर्न मार्जिन ऋणको सीमा बढाउनका लागि दौडधुप गर्नु पनि बजारको तत्कालको कुनै आवश्यकता होइन । यो पनि ऋण लिएर सेयर बजारमा सट्टेबाजी गर्नेहरुको एउटा चाहना मात्र हो । मार्जिन ट्रेडिङलाई शुरुवात गर्न नयाँ अध्यक्षले सके भने त्यो नै ठुलो कुरा हुन जान्छ ।

सेयर भएर पनि बिक्री गर्न नपाई छटपटाइरहेका मेचीदेखि महाकालीसम्मका लगानीकर्तालाई सेयर बिक्री गर्ने पहुँच दिनु अहिलेको पहिलो आवश्यकता हो । जो देशभित्रै बजार भएर पनि त्यसको पहुँचमा पुग्न सकेका छैनन् । देशभित्र मात्र हैन विदेशसम्म छरिएर रहेका प्राथमिक सेयरमा दश कित्ता सेयर पर्ने हरुको पहुँचमा सेयरको दोस्रो बजार पुर्याउनु बोर्ड अध्यक्षको पहिलो चुनौति हुनेछ । जसका लागि पुँजी, प्रविधि र रोजगारीसहितको प्रतिस्पर्धी सेयर ब्रोकर विस्तार गर्न जरुरी छ । जसका कारण गाँउगाँउमा पुगेका बैंकका नजिकैको शाखाको प्रयोग गरेर लगानीकर्ताले भएको सेयर बिक्री गरि खातामा पैसा पाउन सकुन् ।

मेचीदेखि महाकालीसम्मका दश कित्ता सेयर भर्नेहरुका समस्यालाई लिएर काम शुरु गरे भने बजारमा उनको उपस्थिति देखिने छ । तर, उनी यो गर्न तयार देखिँदैनन् । उनले आफ्नो उपस्थिति पाँचतारे होटेलबाट देखाउन खोजे यो नै उनको कमजोरी हो ।

बैकलाई ब्रोकर लाइसेन्स अध्ययनको विषय हो । र, यसमा थप अध्ययन आवश्यक छ भन्ने उनको अभिव्यक्तिबाट सहजै बुझन सकिन्छ कि नयाँ अध्यक्षले यसअघिका विवादित अध्यक्ष ढुंगाना र संसदको अर्थसमितिले बनाएको पंगु अध्ययन समितिको पुँजी बजारको विकस प्रतिको नकारात्मक भावनालाई निरन्तरता दिँदैछन् । अलवर्ट आइन्स्टाइनले भनेका छन् सोचको जुन तहबाट समस्या सिर्जना गरिएको छ, त्यही तहको सोचाइबाट समस्याको समाधान हुन सक्दैन । समस्या समाधान गर्न समस्या सिर्जना गर्नेको तहभन्दा फरक तहबाट सोच्न आवश्यक छ । वर्तमान अध्यक्षले अर्थसमिति र त्यसले बनाएको अध्ययन समितिको सोचभन्दा फरक तरिकाले सोच्न सकेनन् । र, चाहेनन् भने बजारका समस्या जहाँको त्यहीँ हुनेछन् हामीले दुईबर्ष व्यर्थमा बिताउने छौं ।

आफ्नै आँखा अगाडी लगानीकर्ताका छरपस्ट समस्या नदेखेर बैंकलाई ब्रोकर लाइसेन्सबारे अझै अध्ययन गर्न आवश्यक छ भन्नु ‘इन्स्यानिटी’वाहेक केही हुन सक्दैन । यसलाई अल्वर्ट आइस्टाइनले फरक परिणामको आश गरेर उही कुरा बारम्बार दोहोर्याएर गर्नु भनेका छन् भने अक्सफोर्ड शब्दकोषले अति नै मुर्खतापुर्ण र अविवेकी भनेर परिभाषित गरेको छ ।

लगानीकर्ताको चेतनाको स्तर, सुचनाको पहुँचलाई मध्यनजर राखेर भएको सेयर बिक्री गर्ने र बिक्री गरेको पैसा सहजै खातामा प्राप्त गर्न सक्ने पहुँच दिनु बजारको पहिलो आवश्यकता र नयाँ अध्यक्षको दायित्व हो । तर, उनको अभिव्यक्तिले ब्रोकरबाट चुनावी खर्च बटुल्ने बार्गेनिङको हतियार बनाउँदै गरेको प्रष्ट देखिन्छ ।

दश कित्ता बाँडफाँडलाई अझ बढी सुनिश्चित, पारदर्शी र व्यवस्थित बनाइनु पर्छ । सर्वसाधारणको लगानीप्रतिको उत्साहलाई कायम राख्न दश कित्ता र त्यससँग सम्बन्धित विषयलाई सम्बोधन गर्न सके त्यसले सेयर बजारमा पुँजी संकलनको निकै ठुलो आधार प्रस्तुत गर्ने छ । जस्तो बढीभन्दा बढी लगानीकर्ताको हातमा दश कित्ता पुर्याउन म्युचुअल फण्डलाई दिइँदै आएको प्राथमिक सेयर सुविधा खारेज गर्नु पर्छ । र, म्युचुअल फण्डलाई पनि प्राथमिक सेयरमा आवेदन दिन अन्य संस्थालाईझै बन्देज लगाइनु पर्छ । प्राथमिक बजारमा कम्पनी वा संस्थाले भर्न नपाउने व्यवस्थालाई निरन्तरता दिनु आवश्यक छ । तर, धनी साहुहरुको समुह कानुनको यो व्यवस्था भत्काउने प्रयासमा छ । यस्तै मेरो सेयरमार्फत् प्राथमिक सेयरमा आवेदन दिँदा लिइने शुल्कलाई व्यवस्थित गरी एकरुपता कायम गर्न प्रयास गर्नु आवश्यक छ । कुनै बैंकले शुल्कनै लिँदैन भने त्यो राम्रो । तर, बढीमा दश रुपैयासम्मको सीमा कायम गर्न सके यसले सानो पुँजिलाई पनि प्रोत्साहन गरिरहन सक्ने देखिन्छ ।

यस्तै साना लगानीकर्ता र उनको लगानीलाई प्रोत्साहन गर्न सेयरको फ््रयाक्सन कारोबारको शुरुवात गरिनु पर्छ । हामी फ््रयाक्सनमा बोनस सेयर पाउन सक्छौं भने दोस्रो बजारमा पनि फ््रयाक्सनमा सेयर किन्न र बेच्न पाउनु पर्छ । जस्तो एक हजारभन्दा बढी मूल्य भएका सेयरको फ््रयाक्सनमा सेयर कारोबार शुरु गर्न सकिने व्यवस्था गर्न सकिन्छ । यसरी फ््रयाक्सनमा कारोबार गरिको सेयरमा लाग्ने कारोबार लागत (ब्रोकर शुल्क, नामसारी शुल्क, धितोपत्र बोर्ड कमिशन) लाई शून्यमा झारिनु पर्छ । यस्तै अन्य कारोबारमा लाग्ने चर्को ब्रोकर र धितोपत्र बोर्ड कमिशन घटाइनु पर्छ । बोर्डका नयाँ अध्यक्षले ब्रोकर कमिशनमा पुनरविचार गर्ने बताइरहेका छन् ।

तर, आफ्नो कमिशनको बारेमा बोलेका छैनन् । ब्रोकर कमिशन घटाएझै गरेर लगानीकर्ताको आधुनिक र सुविधा सम्पन्न ब्रोकरको पहुँचको मागलाई अल्मल्याउने चालबाजी हुनसक्ने पनि देखिन्छ । र, उनी लगानीकर्ताको ध्यान शुरुमै ब्रोकर कमिशनतर्फ केन्द्रित गरेर आफ्नो स्वार्थसिद्ध गर्नतर्फ लागेको केही आभाष हुन्छ ।

लगानीकर्ता आफैंले गर्ने कारोबारमा लाग्ने कमिशन ब्रोकरलाई आदेश दिएर गर्ने कारोबारमा लाग्ने कमिशनको आधा भन्दा बढीले कम गरिनु पर्छ । सेयर कारोबारमा तीनवटा फरक कमिशनको व्यवस्था हुनसक्छ । फ््रयाक्सन र अडलट कारोबारमा शून्य कमिशन, आफैं गरिने कारोबारमा लाग्ने कमिशन र ब्रोकरलाई आदेश दिएर गरिने कमिशन ।

यस्तै सेयरको कागजी कारोबार हुदा ५ रुपैयाँमा हुने नामसारी विद्युतीय माध्यममा आउँदा दश गुणाले बढेर डीपी शुल्कका नाममा ५० रुपैयाँ भएको छ । यसलाई घटाएर ५ रुपैयाँमा झारिनु पर्छ । यसो गर्न सके साना लगानीकर्ताको हित हुनसक्छ भने सानो पुँजी र लगानी थप प्रोत्साहित हुन सक्छ ।

यस्तै बोर्ड अध्यक्षले अर्को सानो काम गर्न सक्छन । कम्पनीहरुले बार्षिक रुपमा बाँड्दै आएको लाभांशलाई संस्था हेरेर मासिक, त्रैमासिक, अर्धवार्षिकमा बाँड्न सक्ने व्यवस्था गर्न सकिन्छ । यसका लागि धितोपत्र बोर्डले आफु मातहतका नियामक निकायको स्वीकृति लिई कम्पनीले कम्तिमा माशिकरुपमा लाभांश वितरण गर्न सक्नेछन् भन्ने निर्देशन जारी गर्नसक्छ । जस्तो म्युचुअल फण्डलाई हरेक महिना लाभांश बाँडन सक्ने स्वीकृति दिन सकिन्छ । त्यस्तै जलविद्युत् कम्पनी ।

पुँजी बजारको विकास गर्न गर्नु पर्ने साना काम हरु धेरै छन् जुन मैले यसअघिको लेख धितोपत्र बोर्ड अध्यक्षको आँखाबाट सेयर बजारलाइ हेर्दा भन्ने शिर्षकमा पनि उल्लेख गरिसकेको छु । बजारका समस्यालाई देख्ने आँखा बोर्डको अनुसन्धान विभागसँग हुन्छ । तर, धितोपत्र बोर्डको अनुसन्धान विभाग आँखामा पट्टी बाँधेर अनुसन्धान गरिरहेको छ । यो विभागको पुनरसंरचना गर्नु बोर्ड अध्यक्षको अर्को दायित्व हो । जसले बजारका समस्याहरु नजिकबाट देख्न सकोस् ।

भनिन्छ, विकास गर्न खोज्नेले गाडीमा हुइँकिनेलाईभन्दा पनि पैदल हिँड्नेलाई हेरेर विकासको खाका कोर्छ । खुट्टामा जुत्ता हुनेलाई हेरेरभन्दा पनि जुत्तामा खुट्टा हाल्न पाउने सपना बोक्नेहरुलाई हेरेर कामहरु अगाडी बढाउने प्रयास गरिरहेको हुन्छ । धितोपत्र बोर्डका नयाँ अध्यक्षले कस्लाई हेरेर कामलाई प्राथकिमतामा राख्छन् त्यो हेर्न केही महिना हैन केही दिनमात्र कुरे हुन्छ ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इनभेष्ट इन स्टक मार्केटजस्ता कितावहरु लेखेका छन् ।)


रविन्द्र भट्टराई