धितोपत्र बोर्डको अध्यक्षका आँखाबाट सेयर बजारलाई हेर्दा



नेपालको सेयर बजारका दुईवटा महत्वपूर्ण संस्था नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अहिले नेतृत्वबिहीन अवस्थामा छन् ।

यी संस्थाको नेतृत्व चयन गर्न अर्थमन्त्रालयले प्रक्रिया अघिबढाइ इच्छुकलाई आवेदन दिन समेत सूचना प्रकाशन गरिसकेको छ । सेयर बजारसँग सरोकार राख्नेले यी संस्थाको नेतृत्वमा को आउने हुन् भनेर नजिकबाट नियाली रहेका छन् ।

प्रविधिको तीव्र विकाससँगै लगानीकर्तामा परिवर्तन प्रतिको तीव्र आकांक्षा छ । यो अवस्थामा एक वर्ष, दुई वर्ष वा पाँच वर्षपछि के गर्ने भन्दा पनि भर्खरै, आज, दिनदिनै, एक हप्ता, एक महिना, तीन महिनामा के गर्ने भनी छोटो अवधिका योजना लिएर सेयरको आक्रामक कारोबारी झैं यी संस्थामा आउने नेतृत्वले काम गर्नुपर्ने देखिन्छ । यस्तै आक्रामकता प्रस्तुत गर्न धितोपत्र बोर्डको अध्यक्षको आँखाबाट मैले देखेका केही कामहरु यस प्रकार छन् ।

प्राथमिक बजार
१) प्राथमिक निष्कासन गर्ने कम्पनीले सामूहिक लगानीकोष (म्युच्युअल फण्ड)लाई अनिवार्यरुपमा छुट्याउनु पर्ने सेयरको व्यवस्थालाई खारेज गर्ने र खुलामुखि म्युच्युअल फण्ड निष्कासन र प्रवद्र्धनमा जोड दिने ।

२) सेयरको १० कित्ता बाँडफाँट नीतिलाई धितोपत्र ऐनमा नै व्यवस्था गरी सहजै परिवर्तन गर्न नसकिने बनाउने तथा सम्भव भए १० कित्ताभन्दा कम कित्ता बाँडफाँट गर्ने व्यवस्था गर्न गृहकार्य गर्ने । यस्तै बुक बिल्डिङ अन्तर्गतको न्यूनतम ५० कित्ता बाँडफाँट गर्ने व्यवस्थालाई न्यूनतम १० कित्ता बनाई बाँडफाँट नीतिमा एकरुपता कायम गर्ने ।

३) प्राथमिक निष्कासनमा भइरहेको अधिक मागलाई सम्बोधन गर्न कम्पनीलाई पुँजिको आवश्यकता भए अधिक बाँडफाँट (ओभर अलोटमेन्ट)को व्यवस्था गर्ने । कम्पनीले चाहेमा जारी गरेकोभन्दा बढी सेयर बाँडफाँट गर्न सक्ने व्यवस्था गर्ने ।

४) सेयर बजारमा नयाँ कम्पनी ल्याई बजारलाई थप विविधिकरणयुक्त बनाउन धितोपत्र बोर्डले सम्भावित कम्पनीसँग छलफल गर्ने तथा नयाँ कम्पनी बजारमा ल्याउन मार्केटिङ गर्ने ।

दोस्रो बजार
१) दोस्रो बजारमा कम्पनीका सञ्चालक, संस्थापक तथा आधारभूत सेयरधनीको सेयर कारोबारलाई बढीभन्दा बढी पारदर्शी बनाई बजारमा पारदर्शिता कायम गर्ने ।

२) सेयर ब्रोकरकहाँ कारोबार खाता खोल्दा जस्तो कुनै कम्पनीमा संस्थापक रहेमा, सञ्चालक रहेमा, आधारभूत सेयरधनी भएमा त्यस्ता विवरण अनिवार्य खुलाउनु पर्ने र कारोबार गर्दा आफ्नो कारोबार खातामा अध्यावधिक गर्नुपर्ने व्यवस्था गर्ने ।

३) इन्ट्रा डे कारोबारलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउने र आज बेचेको सेयरको पैसाले तत्कालै पुनः सोही कम्पनीको वा चाहेको अन्य जुनसुकै कम्पनीको सेयर किन्न सक्ने बनाउने । तर आज बेचेको सेयरको पैसा भने हिसावकिताव राफसाफ भएपछि मात्र खाताबाट झिक्न पाउने व्यवस्था गर्ने ।

४) लगानीकर्ता आफैं वा ब्रोकर जोसुकै माध्यमबाट कारोबार भए पनि दोस्रो बाजारमा कारोबार भइसकेपछि तत्काल त्यसको जानकारी एसएमएस, इमेल वा दुबैमार्फत् लगानीकर्तालाई जानकारी दिने व्यवस्था गर्न लगाउने ।

५) सेयर बजारमा सानोभन्दा सानो पुँजीलाई आकर्षित गर्न तथा थोरै पुँजी वा पैसा हुनेले पनि चाहेका कम्पनीको सेयर किनेर पोर्टफोलियो बनाउन एक कित्ताभन्दा पनि कम (फ्र्याक्सनमा )सेयर किन्न पाउने व्यवस्था गर्ने ।

६) कम्पनीले बाँडेको नगद लाभांशबाट पुनः सोही कम्पनीको सेयर खरिद गर्न लगानीकर्तालाई प्रोत्साहन गर्न लाभांश पुनः लगानी (डेभिडेन्ड रि–इनभेष्टमेन्ट प्लान ) शुरुवात गर्न कानूनी व्यवस्था गर्ने ।

७) कर्मचारीले आफूले पाएको तलबको निश्चित प्रतिशत रकमबाट हरेक महिना सोही कम्पनीको सेयर कम्पनीमार्फत् किन्न पाउने गरी कर्मचारी सेयर खरिद योजना (इम्प्लोर्ई सेयर पर्चेज प्लान) सम्बन्धी नियम बनाउने ।

८) संस्थापक र सर्वसाधारण सेयरको मूल्यमा गरिएको अन्यायपूर्ण व्यवहारलाई अन्त्य गर्ने र मूल्यमा एकरुपता कायम गर्ने । यसले एउटै कम्पनीको सेयरको दुई फरक मूल्यको अवस्थालाई अन्त्य गर्नेछ ।

९) सानो पुँजीलाई बजारमा आकर्षित गर्न एक कित्ता कारोबार वा फ्र्याक्सनमा हुने सेयर कारोबारमा लाग्ने नामसारी शुल्क हटाउने तथा ब्रोकर कमिसन घटाउने ।

१०) दोस्रो बजारमा दिइने कारोबार विवरणमा नेप्सेले संस्थापक र सर्वसाधारण सेयर कारोबारको विवरण उसको वेवसाइटमार्फत् अनिवार्य दिनुपर्ने व्यवस्था गराउने । यस्तै नगद कारोबार, मार्जिन कारोबार र कुल कारोबारको अलग–अलग विवरण वेवपेजमा राख्नुपर्ने ।

सेयर ब्रोकर
१) प्राथमिक बजारमा मेचीदेखि महाकालीसम्म तथा विश्वभर रहेका नेपाली नागरिक (लगानीकर्ता)ले मेरो सेयरमार्फत् आवेदन दिन पाउने भए पनि अझै पनि दोस्रो बजारमा उनीहरुको पहुँच पुग्न सकेको छैन । यी सबैको दोस्रो बजारमा पहुँच बिस्तार गर्न बैकका सहायक कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स तत्काल प्रदान गर्ने प्रक्रिया अगाडि बढाउने । क्षेत्रीय वा प्रादेशिक ब्रोकरको अवधारणा अन्त्य गर्ने ।

२) कम्पनी ऐनमा धितोपत्र व्यवसाय गर्ने सम्पूर्ण कम्पनी पब्लिक कम्पनी हुनुपर्ने अनिवार्य व्यवस्था भए पनि हालका ५० वटा ब्रोकर कम्पनीमध्ये ९ वटा मात्र पब्लिक कम्पनी छन् । कम्पनी ऐनको व्यवस्थाअनुसार तत्काल सम्पूर्ण ब्रोकर कम्पनीलाई पब्लिक कम्पनी बनाउन निर्देशन गर्ने । नबनाए अनुमतिपत्र निलम्बन गर्ने ।

३) सूचना सम्प्रेषणमा सेयर ब्रोकरलाई थप जिम्मेवार बनाउन उनीहरुका वेवपेज बढीभन्दा बढी सूचनामूलक बनाउन निर्देशन गर्ने ।

४) सेयर कारोबारमा ब्रोकरले दिने कारोबार लिमिटलाई थप व्यवस्थित गर्दै नगद वा मार्जिन कारोबार छुट्याई ब्रोकरले दिने लिमिटको व्यवस्थालाई खारेज गरी कारोबार खातामा नगद लाएपछि र लाए जतिको मात्र सेयर किन्न पाउने व्यवस्था गर्ने । लगानीकर्तासँग पैसा नहुने तर लिमिटका कारण कम्पनीको सेयरमा नक्कली माग देखाई मूल्यमा अप्राकृतिक प्रभाव पार्ने कामलाई अन्त्य गर्ने ।

५) खातामा सेयर भए मात्र बिक्री आदेश राख्न सकिने र खातामा पैसा भए जति मात्र खरिद आदेश राख्न पाउने व्यवस्था गर्ने । यसले सेयर बजारमा पारदर्शी मूल्य निर्माणमा सहयोग पुग्नेछ ।

६) सेयरको मार्जिन कारोबार छिटोभन्दा छिटो ब्रोकरमार्फत् शुरुवात गराउने जसको माध्यमबाट सानोभन्दा सानो रकम मानौं १० हजारसम्म पनि ऋण लिएर सेयर कारोबार गर्न चाहनेको पहुँचमा पुग्नसक्ने बनाउने र लगानीकर्ताले ब्रोकरको खाताबाटै मार्जिन ऋणका लागि ब्रोकरलाई अनुरोध गर्न सक्ने प्रणालीको विकास गर्ने । यसका लागि ब्रोकर कहाँ धाउनुपर्ने अवस्था नरहने व्यवस्था गर्ने ।

सीडीएस
१) सीडीएस कम्पनीले उसको वेवपेजमा एउटामात्र खाता भएका, दुई वटा खाता भएका लगानीकर्ताको संख्या र जम्मा खाताको संख्या राख्नुपर्ने अनिवार्य व्यवस्था गर्ने । यस्तै व्यक्तिगत लगानीकर्ता र संस्थागत (कम्पनी) लगानीकर्ताको संख्या अलग– अलग राख्नुपर्ने व्यवस्था गर्ने । यसले बजारमा लगानीकर्ताको संख्यामाथि रहेको भ्रम हटाउन मद्दत गर्नेछ ।

२) सेयरधितोमा ऋण लिनेलाई थप सहजता बनाउन बैंकले नै मेरो सेयरमार्फत् ऋण माग गर्नेको सेयरधितो रोक्काको अनुरोध निक्षेप सदस्य (डीपी)लाई पठाउने र डीपीले रोक्का राख्ने र त्यसको जानकारी तत्काल बैंकले पाउने व्यवस्था गर्ने । यसले ऋण लिनेहरु बैंक र निक्षेप सदस्यकहाँ दौडनुपर्ने समस्याको अन्त्य गर्नेछ ।

३) एक डिम्याट खाताबाट अर्को डिम्याट खातामा सेयर सार्न (विओ टु विओ)लाई थप सहज बनाउने । लगानीकर्ताले मेरो सेयर लगइन गरेर त्यहीबाट यो प्रक्रियाका लागि अनुरोध गर्ने र डीपी र सीडीएस कम्पनीले प्राथमिकताअनुसार स्वीकृत गर्ने व्यवस्था मिलाउने । जस्तो जन्म मिति, नागरिकता नम्बर, नाम थरजस्ता विवरण मिलेको खण्डमा प्रक्रिया अगाडि बढ्ने व्यवस्था गर्ने । यसले लगानीकर्ता डीपी र सीडीएस कम्पनीमा दौडनुपर्ने झण्झटबाट मुक्त हुनेछन् ।

४) प्यान नलिएका लगानीकर्तालाई डिम्याट खाता खोल्दा सोही स्थानबाट प्यान पनि लिन सक्ने वा लिइदिनु पर्ने प्रणालीको विकास गर्ने ।

५) बैंकबाहेक अन्य संस्था जस्तो ब्रोकरकहाँ डिम्याट खाता खोल्दा सोही डीपीले आफ्नो प्रणालीबाट बैंकलाई सीआरएनको अनुरोध गरिदिने र सीआरएन लिईदिने व्यवस्था गर्ने । यसले डिम्याट खाता खोलेर सीआरएन लिन बैंकतर्फ दौडनुपर्ने झन्झटबाट मुक्त हुनेछ ।

६) डिम्याट खातावालाका विवरणलाई परिवर्तन हुने र नहुनेमा विभाजन गरी मेरो सेयरमार्फत् बढीभन्दा बढी सूचना जस्तैः ठेगाना, इमेल, फोन आदि खातावाला आफैंले अध्यावधिक गर्नसक्ने बनाउन निर्देशन गर्ने ।

७) बिक्री नभएको हकप्रद सेयरमा सम्पूर्ण लगानीकर्ताको पहुँचसम्म पुर्याउन मेरो सेयरमार्फत् अनलाइन बिडिङको व्यवस्था गर्ने ।

८) कम्पनीले दिएको नगद लाभांश बैंकमा जम्मा भए पनि मेरो सेयरमा पनि त्यसको रेकर्ड हुने व्यवस्था गर्ने । यो विवरणका आधारमा वर्षभरीमा सेयरबाट कति लाभांश प्राप्त भयो भन्ने गणना गर्न सजिलो होस् र ऋण लिनेलाई वा अन्य कुनै प्रयोजनका लागि सो विवरण प्रिन्ट गरी आम्दानीको स्रोतको कागजातका रुपमा प्रयोग गर्न सकियोस् ।

९) कम्पनीका सञ्चालकको चुनावमा लगानीकर्ताले मेरो सेयरमार्फत् भोट दिन पाउने व्यवस्था गर्न सीडीएसलाई निर्देशन गर्ने र कानूनी सहजताका लागि पहल गर्ने ।

१०) डिम्याट खातामा वर्षभरीको सेयर कारोबारको नाफा नोक्सानको समेत विवरण रहने व्यवस्था गरी कर गणनामा घाटालाई समेत समायोजन गर्नसक्ने व्यवस्थाका लागि सीडीएस, अर्थमन्त्रालय र कर कार्यालयबीच समन्वय गर्ने ।

११) डिम्याट खातामा हुने हरेक गतिविधि जस्तो आइपीओ, बोनस सेयर, हकप्रद सेयर, किनेको सेयर जम्मा हुँदाको जानकारी तत्कालै इमेल वा एसएमएसमार्फत् खातावालालाई दिनुपर्ने अनिवार्य व्यवस्था गर्ने ।

१२) विदेशमा बसेका नेपाली नागरिकलाई विदेशबाटै डिम्याट, बैंक खाता, कारोबार खाता खोल्न र कनेक्ट आइपीएसको सेवासम्म प्राप्त गर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैकसँग समन्वय गर्ने । यसरी खोलेका खातामा खातावालाले पैसा जम्मा गर्न र कनेक्ट आइपीएसमार्फत् ब्रोकरलाई मात्र भूक्तानी गर्न सक्ने बनाउने । र, सोही व्यक्ति नेपाल आई सम्बन्धित बैंकमा उपस्थित भएर खाताको बन्देज हटाउन अनुरोध गर्न सक्ने व्यवस्था गर्न पहल गर्ने । यसले विदेशमा बस्ने नेपालीबीच सेयर बजारमा लगानी गर्न पहुँच बिस्तार हुने, रेमिट्यान्स आउने र सेयर कारोबार बढ्ने हुन्छ ।

१३) सेयर किनबेच गर्दा लगानीकर्ताले तिर्दै आएको चर्को डीपी शुल्कलाई ५ रुपैयाँमा झार्ने गरी कानूनी परिवर्तन गर्ने गराउने ।

सूचना प्रणाली
१) कम्पनीहरुले प्रकाशित गर्ने सेयर बजारसँग सम्बन्धित सूचनालाई एउटै प्रणालिमार्फत् प्रेषित तथा प्रशारण गर्न एकीकृत सूचना प्रणाली शुरुवात गर्ने । उदाहरणका लागि बोर्डले आफ्नै प्रणाली (वेवसाइट)को विकास गर्नेछ ।। जसमा सेयर जारी गरेका तथा गर्न निवेदन दिएका सबै कम्पनीले जारी गर्ने सूचना (जस्तो वित्तीय विवरण, लाभांश घोषणाआदि) अपलोड गर्ने छन् र सूचनामा विश्वस्नियता कायम हुन गइ लगानीकर्ताले चाहेको बखत चाहेको सूचना प्राप्त गर्न सक्ने छन् । यसबाट लगानीकर्ताले एकै स्थानबाट आधिकारिक सूचना पाउने छन् ।

२) सेयर बजारमा हुनसक्ने भित्री कारोबारलाई कम गर्न हरेक सूचिकृत कम्पनीले गर्ने महत्वपूर्ण निर्णय उदाहरणका लागि लाभांश घोषणा शुक्रबारमात्रै गर्ने अनिवार्य व्यवस्था गर्ने । यस्तै नेपाल राष्ट्र बैंकको मौद्रिक नीति पनि शुक्रबार मात्र जारी गर्ने अनिवार्य व्यवस्था गर्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग समन्वय र पहल गर्ने ।

३) सेयर बजारलाई प्रभावित गर्ने कुनै निर्णय गर्ने महत्वपूर्ण बैठक भए त्यसको बैठकको जानकारी कम्पनीले अनिवार्य नेप्सेलाई दिनुपर्ने र बैठक शुरु हुनुअघि र निर्णय सार्वजनिक भएपछिको एक घण्टासम्म सम्बन्धित कम्पनीको कारोबार रोक्ने व्यवस्था गर्ने । यसले सूचनाको दुरुपयोग कम हुन जान्छ भने सूचना आइसकेपछि कारोबार खुल्न अघि धरैलाई थाहा हुन जान्छ ।

४) कम्पनीले हकप्रद सेयर जारी गरेमा मेरो सेयरमा इमेल ठेगाना भएका तथा फोन नम्बर उल्लेख भएका लगानीकर्तालाई उनीसँग सेयर भएको कम्पनीको हकप्रद सेयर खुलेको जानकारी सेयरधनीलाई अनिवार्य पठाउने व्यवस्था गर्ने । यसले हकप्रद सेयरमा भइरहेको कम आवेदनलाई सुधार गर्न मद्दत गर्नेछ ।

५) लगानीकर्ताले डिम्याट खाता खोल्दा, ब्रोकर कहाँ कारोबार खाता खोल्दा तथा लगानी व्यवस्थापक कहाँ लगानी सम्बन्धी खाता खोल्दा त्यसको सञ्चालन प्रक्रिया, शुल्क, कमिसन, नवीकरण सुरक्षा, पासवर्ड रिसेट, कारोबारमा लाग्ने कर, हिसाव किताव राफसाफआदिको विवरण समेटेर बनाएको संक्षिप्त जानकारी विवरण खाता खोल्नासाथ सेवाग्राहीलाई कागजै वा इमेलमा पठाउने बाध्यात्मक व्यवस्था गर्ने । यसले लगानीकर्ता शिक्षामा सहयोग पुग्नेछ ।

६) लगानीकर्ताको व्यक्तिगत विवरणको सुरक्षा र गोपनीयतालाई सम्मान गर्दै कानूनी व्यवस्था गर्ने ।

७) कम्पनीले सेयर बजार सम्बन्धी दिने सूचना सम्प्रेषण गर्ने तरिकामा एकरुपता कायम गर्न मापदण्ड तयार गरी तत्काल लागू गर्ने गराउने ।

८) लगानीकर्तालाई आवश्यक केही सूचना जस्तैः सञ्चालक, व्यवस्थापन टीम, संस्थापक सर्वसाधारण सेयर अनुपात, वित्तीय विवरण तथा लाभांश सम्बन्धीको संक्षिप्त विवरणको मापदण्ड बनाइ सो विवरण हरेक कम्पनीले उसको वेवसाइटमा राख्नैपर्ने व्यवस्था गर्ने । यो संक्षिप्त विवरणले लगानीकर्तालाई धेरै हदसम्म सूचित हुने अवसर प्रदान गर्ने हुन्छ ।

९) हरेक कम्पनीले सञ्चालक र व्यवस्थापन प्रमुखको योग्यता र अनुभवसहितको प्रोफाइल उसको वेवसाइटमा राख्नैपर्ने व्यवस्था गर्ने ।

शिक्षा
१) धितोपत्र व्यवसाय गर्ने संस्था जस्तो ब्रोकर, मर्चेन्ट बैंक, लगानी व्यवस्थापक तथा नियामक धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका हरेक कर्मचारीले नेपाल धितोपत्र बोर्डले तोकेको प्रणालीमा गएर स्वयम् र सम्बन्धित कम्पनी तथा निकायले तोकिएको विवरण भरी अनिवार्य दर्ता गर्ने व्यवस्था गर्ने ।

२) धितोपत्र व्यवसाय गर्ने संस्थाका कर्मचारी तथा नियामक धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सम्पूर्ण तहका कर्मचारीले धितोपत्र बजार, बैंकिङ, अर्थतन्त्र सम्बन्धित न्यूनतम ज्ञान अनिवार्य लिएको हुनुपर्ने व्यवस्था गर्ने । यस्तो ज्ञानको परीक्षा धितोपत्र बोर्डले तोके बमोजिम तोकिएको प्रणालिबाट दिनुपर्ने र त्यसको प्रमाणपत्र बोर्डको प्रणालीमा अध्यावधिक गर्नुपर्ने ।

३) धितोपत्र व्यवसाय गर्ने संस्थाका कर्मचारी तथा नियामक धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ लिमिटेडका सम्पूर्ण तहका कर्मचारीले धितोपत्र बजार, बैंकिङ, अर्थतन्त्र सम्बन्धित न्यूनतम ज्ञानमा अध्यावधिक हुन हरेक वर्ष बोर्डले तोके बमोजिमको अध्यावधिक परीक्षा अनलाइनमार्फत् दिनुपर्ने व्यवस्था गर्ने ।

४) लगानीकर्ता शिक्षालाई बढीभन्दा बढी प्रभावकारी बनाउन धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, ब्रोकर, सीडीएस कम्पनी, लगानी व्यवस्थापक, म्युच्युअल फण्डलाई आआफ्नो क्षेत्रको शिक्षामा बढीभन्दा बढी जिम्मेवार बनाउने । र, नेपाल राष्ट्र बैक, बीमा समिति, समेतसँग सहकार्य र समन्वय गरी संयुक्त पहलमा वित्तीय साक्षरता सम्बन्धी अलग्गै वेवसाइट चलाउने पहल गर्ने ।

धितोपत्र बोर्ड
१) नेपाल धितोपत्र बोर्डको प्राविधिक परिवर्तनमा लगानी बढाइ बजारको आधुनिकिकरण, अनुसन्धान, पारदर्शिता र लगानीकर्ताको हकको रक्षाका लागि थप व्यवस्थाहरु गर्ने ।

२) लगानीकर्ताका गुनासा, समस्या बुझ्न, सुन्न र समाधानका लागि लगानीकर्तालाई बोर्ड समक्ष गुनासा र समस्या राख्न प्रोत्साहित गर्ने ।

३) धितोपत्र बोर्डको अनुसन्धान विभागलाई बढीभन्दा बढी व्यवस्थित गर्ने जसले बजारका समस्याका बारेमा अध्ययन गरोस्, लगानीकर्ताका समस्याका बारेमा अध्ययन गरोस्, कानूनी जटिलता र समस्याका बारेमा अध्ययन गरोस्, नयाँ वित्तीय औजार (लगानीका विकल्प)का बारेमा अध्ययन गरोस् । जसका लागि बजारका सहभागीहरु जस्तो ब्रोकर, लगानीकर्ता, मर्चेन्ट बैंक, स्टक एक्सचेन्ज, सीडीएस कम्पनीआदिसँग नियमित छलफल र अन्तरक्रिया गरी समस्या, आवश्यकताहरु थाहा पाउने काम गरोस् । र, समाधानको सिफारिस गरोस् ।

४) नेपाल राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिष्ट्रार, विद्युत् नियमन आयोगसँग समन्वय गरी सेयर बजारसँग सम्बन्धित असमान नियम कानून वा बाँझिएका कानूनमा एकरुपता कायम गर्ने ।

५) ब्रोकर, मर्चेन्ट र्बैक, लगानी व्यवस्थापक टाट पल्टेका कारण हुने जोखिमलाई न्यूनिकरण गर्न लगानीकर्ता संरक्षण कोषको व्यवस्था गर्ने ।

६) लगानीकर्ताले सेयर ब्रोकरसँग हुने पैसाको कारोबारको जोखिमलाई न्यूनिकरण गर्न निक्षेप तथा कर्जा सुरक्षण निगमसँगको सहकार्यमा बैकमा राखेको पैसाको बीमा गरे झैं ब्रोकरले गर्ने कारोबार रकमको बीमा गर्ने निर्देशन जारि गर्ने । यसलाई लगानीकर्ता संरक्षण कोषकै रुपमा विकास गर्ने ।

७) धितोपत्र बोर्डको सञ्चालक समितिमा विभिन्न संस्था जस्तो उद्योग वाणिज्य संघ, नेपाल राष्ट्र बैंकआदिबाट हुने प्रतिनिधित्वलाई स्थायीरुपमै हटाउन धितोपत्र ऐन संशोधन गर्न पहल गर्ने ।

८) धितोपत्र बजारसँग सम्बन्धित संस्थाका कर्मचारीको एकीकृत आचारसंहिता जारी गर्ने ।

९) सेयर बजारमा लगानीका नयाँ विकल्प जस्तो इटिएफ, इन्डेक्स फण्ड, सर्टसेल, बोण्ड इन्डेक्स फण्डजस्ता विकल्पका लागि आवश्यक नियम कानून बनाउने । सरोकारवालासँगको छलफल र अन्तरक्रियामार्फत् आवश्यक नयाँ विकल्पहरुको सिर्जना गर्ने र कानून बनाउने ।

१०) सेयरको ओटीसी बजारलाई थप व्यवस्थित गर्न थप कानून बनाउने र नेप्सेको सूचिकरण प्रक्रिया पूरा गर्न नसक्ने कम्पनीले ओटीसीमार्फत् कारोबार गर्न प्रोत्साहित गर्दै ओटीसीको अनलाइन कारोबार शुरुवातका लागि आवश्यक कानूनी व्यवस्था गरी कालोपाटीमा लेखेर कारोबार गर्ने अवस्थाको अन्त्य गर्ने ।

११) धितोपत्र बजारमा एक लाख जना रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ काम गर्ने, आवश्यक अनुसन्धान गर्ने र अन्य संस्थासँग समन्वय गर्ने ।

१२) हरेक सेयरधनीको विवरण अध्यावधिक गर्न, सम्पर्कमा नआएका वा लाभांश बुझ्न नआएका, सेयर डिम्याट नगराएका सेयरधनी खोजी गर्न कम्पनीलाई अलग्गै निर्देशन जारी गर्ने । कम्पनीसँगको सहकार्यमा यस्ता हराएका सेयरधनी खोजी गर्ने अलग्गै विभागको स्थापना गरी उनीहरुको सम्पत्ति खोजि गरिदिने तथा रोजगारी सिर्जना गर्ने काम गर्ने ।

सेयर बजार विश्लेषक भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्रयाजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेष्ट इन स्टक मार्केट जस्ता कितावहरु लेखेका छन् ।


रविन्द्र भट्टराई