नेशनल लाइफ ३५ औँ वर्षमा प्रवेश



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स ३५औं वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्नो केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीका अनुसार रक्तदान कार्यक्रममा कम्पनीका ५० जना भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

साथै, वार्षिकोत्सवको अवसरमा कम्पनीले देशभरका ३४ वटा बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

कर्मचारीहरुको उपस्थितिमा कम्पनीले विभिन्न खेलकुद कार्यक्रम समेत गरेको छ । नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित कम्पनीले विगत वर्ष सरह चालु वर्षमा पनि व्यवसायिक प्रगति गर्न सफल भएको छ ।

कम्पनीले गत आवको मुनाफावाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा पेश गरेको छ ।

कम्पनीको जीवन बीमा कोषमा ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ । कम्पनीले चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँ देखि अधिकतम प्रति हजार ८५ रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको जानकारी दिएको छ ।


क्लिकमान्डु