राजनीतिक अस्थिरताले अनौपचारिक अर्थतन्त्र फस्टायोः पूर्वगभर्नर क्षेत्री



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले राजनीतिक अस्थिरताले अनौपचारिक अर्थतन्त्र फस्टाएको बताएका छन् ।

बुधबार राजधानीमा नेपाल उद्योग वाणिज्य महासंघ आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै क्षेत्रीले नाफा कमाउने ध्याउन्नमा बैंकहरुले उपभोगमा कर्जा बढाएको बताए ।

‘अहिले उपभोग खर्च बढेको छ । विगतमा १ खर्ब उपभोगमा गएको कर्जा बढेर अहिले ७ खर्ब पुगिसकेको छ,’ उनले भने ।

उपभोगमा बैंकको कर्जा बढ्दा तरलतामा देखिएको समस्या जटिल बनेको उनले टिप्पणी गरे ।

‘चुनावपछि पैसा बजारमा आउन सक्ला । तर त्यसअघि सरकारले पुँजीगत खर्च बढाउनु पर्यो,’ उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनामा हुने खर्च बढाए मात्रै पनि केही समस्या समाधान हुन्छ ।’

उनले अहिले १० खर्बको व्यापार घाटा रहेको भन्दै नगद मार्जिनको नयाँ व्यवस्थाले ठूलो मात्रामा आयात नघट्ने बताए । उनले सुन जस्ता वस्तुको आयात घटाउनुपर्नेमा जोड दिए ।


क्लिकमान्डु