रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भन्दै ७० लाख घुस लिने वन अधिकृत मिश्र विरुद्ध मुद्दा दायर



काठमाडौं । रक्तचन्दनको ठेक्का मिलाई दिन्छु भन्दै ७० लाख रुपैयाँ घुस लिने वन अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले रक्तचन्दनको ठेक्का मिलाई दिन्छु ७० लाख रुपैयाँ लिई फरार भएको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख लिएको पुष्टि भएको छ । उक्त आरोप पुष्टि भएपछि मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७० लाख रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजायको माग दाबी गरिएको छ ।

घुस बापतको रकम सेवाग्राहीलाई नै फिर्ता हुने समेत मागदावी लिने एवं मिश्रको छोरा नविन कुमार मिश्रले बुबाको घुस बापतको रकम ४० लाख बैंक खातामा जम्मा गरी सहयोग गरेको देखिएको छ ।

नविन कुमार मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र दफा ३ को उपदफा १ को खण्ड (छ) बमोजिमको कसुरमा बिगो ४० लाख कायम गरी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह नै सजाय हुन मागदावी लिइएको छ । मिश्रलाई रकम उपलब्ध गराई मिलेमतो गर्ने ग्याल्जेन एण्ड तामाङ्ग प्रालि र रसुवा ट्रेडिङ्ग कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैले २५ लाख दिएको पुष्टि भएको छ ।


क्लिकमान्डु