६ महिना नपुग्दै आन्तरिक राजस्व विभागका डिजीको सरुवा, अर्थ मन्त्रालयमा भित्रिए ५ नयाँ सहसचिव



काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक (डिजी) शोभाकान्त पौडेलको सरुवा भएको छ ।

गत भदौ २ गते विभागको महानिर्देशक बनेका पौडेलको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा सरुवा भएको हो । विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेपछि अर्थमन्त्री जनार्दन शर्मासँग पोडेलसँग सन्तुष्ट थिएनन् । बिहिबार मध्यावधी समिक्षा गरे लगत्तै शर्माले अर्थ मन्त्रालयमा नयाँ टिम ल्याएका छन् ।

अर्थ मन्त्रालयमा ४ जना नयाँ सहसचिव भित्रिएका छन् । राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक रहेका टंकप्रसाद पाण्डे, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सचिव रहेका ढुण्डी प्रसाद निरौला, प्रदेश १ को लोक सेवा आयोगमा सचिव रहेका यज्ञराज कोइराला र गृह मन्त्रालय अन्तर्गत कुनै जिम्मेवारी नपाएका राजेश्वर ज्ञवालीको अर्थ मन्त्रालयमा सरुवा भएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यस्तै बिहिबार मात्रै कर्णाली प्रदेशको अर्थ मन्त्रालयमा रहेका चक्र बुढाको अर्थ मन्त्रालयमा सरुवा भएको थियो । बुढालाई बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ । बजेट महाशाखा रहेका भुपाल बराललाई राजस्व व्यवस्थापन महाशाखामा लगिएको छ ।

राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका रामेश्वर दंगाल सचिवमा बढुवा भएपछि महाशाखा रिक्त थियो । बिहिबार मात्रै अर्थ मन्त्रालयबाट भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाको लुम्बिनी प्रदेशमा र अर्थमन्त्रालयमा रहेका महेश आचार्यको मधेश प्रदेशमा सरुवा भएको थियो ।


क्लिकमान्डु