मोदीको आडमा गौतम अडानी यसरी बने दक्षिण एशियाकै सबैभन्दा धनी
एजेन्सी । विवादास्पद पृष्ठभूमिबाट चर्चाको केन्द्रमा पुगेका र दक्षिण एशियाकै सबैभन्दा धनी व्यक्तिकारुपमा स्थापित भएका गौतम अडानी खासमा को हुन् ? र, उनी कसरी त्यो स्थानमा पुगे भन्ने बारेमा आम मानिसलाई कमैमात्र थाहा छ ।
खासमा उनी भारतीमा हुर्कंदै गएको आसेपासे पूँजीवाद (क्रोनि क्यापिटलिज्म) का एक उदाहरण हुन् । जो भारतीय सत्तारुढ भारतीय जनता पार्टी र विशेष गरी नरेन्द्र मोदीको आडमा व्यवसाय विस्तार गरिरहेका छन् ।
यस्तो लाग्छ गौतम अडानीलाई अब भारतका देवतामात्रै घोषण गर्न बाँकी छ । यतिधेरै चर्चा र प्रचार गरिएको छ कि स्वयं हिन्दु धर्ममा असाध्यै धेरै चर्चा हुने महादेव र विष्णुको अवतार भन्नमात्रै बाँकी छ ।
त्यसो त केही समय अघिसम्म दक्षिण एशियाका सबैभन्दा धनी भनिएका मुकेश अम्बानीलाई त्यसरी कहिल्यै पनि हेरिएन र लिइएन । किनकी, उनले आफ्ना पिता धिरुभाई अम्बानीको साम्राज्य आडमा आफ्नो व्यवसाय विस्तार गरेका थिए । त्यसलाई थप परिस्कृत र आधुनिक बनाएका थिए । मानिसहरुले उनलाई आदरका साथ स्वीकार गरेका थिए । यद्यपी व्यवसायको चक्रमा यतिबेला अम्बानी पछाडि परेका छन् ।
केही कम्पनीको सेयर मूल्यमा भएको गिरावटका कारण उनको आर्थिक हैसियत खस्किएको विषय सही हो । सेयर बजार सम्भावनाको बजार हो । भोलि अम्बानी फेरि त्यो स्थानमा पुग्लान् ।
तर, आज जसरी गौतम अडानीको प्रचार भइरहेको छ । त्यसको पछाडि एउटा ठूलो राजनीतिक दर्शन र शक्ति हात धोएर लागेको छ । भारतीय सत्ताको आडमा फैलिएको साम्राज्य र त्यसको प्रचारमा प्रयोग भएको संयन्त्र पनि आसेपासे पूँजीवादको अर्को विद्रुप पक्षको रुपमा स्थापित भएको छ ।
मानिसहरुलाई लाग्न सक्छ, सफलता त आखिर सफलता नै हो । हो, कुनै पनि मानिस सफल हुनुलाई सकारात्मकरुपमा नै लिनुपर्छ । तर, आम मानिसले त्यसभन्दा पछाडि रहेको धोका, गैरकानूनी क्रियाकलाप तथा राज्यशक्तिको गुप्त प्रयोगका बारेमा थाहा पाउँदैनन् । अथवा, उनीहरुलाई थाहा दिइँदैन पनि ।
सफलताको रापमा छोपिएको कर्तुतलाई सार्वजनिक गरिदिने दायित्वबाट पनि मानिसहरु चुकीरहेका छन् । तर, हत्केलाले सूर्यलाई छेक्न नसकिए जस्तै राज्यसत्ताको प्रयोग गरेर बनेको साम्राज्य एक दिन फेरी ढल्नेछ । र, भनिनेछ, यो त नियमित प्रक्रिया नै थियो ।
सामान्य हिसाब हो मुकेश अम्बानीलाई यतिबेला गौतम अडानीले पछाडि पारेका छन् । सेयर बजारमा अडानीको कम्पनी बुम छ । भर्खरै बजारमा आएको एक कम्पनीको सेयर मूल्यमा चुलिएको उच्च अंकको वृद्धिले पनि यसलाई थप बल दिएको छ ।
र, त दक्षिण एशियाको सबैभन्दा धनीहरुको दौडमा अम्बानी पगाडि परेका छन् । यसको अर्थ अम्बानी पूरै रुपमा सकिए वा उनको सबै व्यवसाय टाट पल्टियो भन्ने पनि होइन
इमान्दार व्यवसायको क्षितिजबाट हेर्दा गौतम अडानीभन्दा अम्बानी धेरै अगाडि छन् । उनको पारिवारिक विवादबाहेक हालसम्म कुनै पनि अन्य व्यवसायिक विवादका घटनाहरु सार्वजनिक भएका छैनन् ।
कुरा सन् १९७८ को हो । कलेजमा पढीरहेका एक युवा विद्यार्थी पढाइको क्रममा नै ठूलो सपना देखिरहेका थिए । जसले एकदिन अचानक कलेजको पढाइ बीचमै छाडिदिए । किनकी, हजारौं विद्यार्थी पढ्ने कलेजमा एउटा विद्यार्थीले कलेज छाड्नु सामान्य कुरा थियो । धेरै मानिसले त्यो कुराको कुनै मतलब राखेनन् ।
तर, त्यही युवा एसियाकै धनी व्यक्ति बनेका छन् । खासमा यो गौतम अडानीको कथा हो, जसको नेटवर्थ फेब्रुअरी ८ मा आइपुग्दा ८८.५ अर्ब डलरमा पुगेको थियो ।
८ फेब्रुअरीमा ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सको सूचीमा, गौतम अडानीले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पारे । जसको त्यो दिन ८७.९ अर्ब डलर बराबरको कुल सम्पत्ति थियो । तर, त्यसको एक दिनपछि अम्बानी फेरि अगाडि बढे । तर, आजसम्म आइपुग्दा अडानी अगाडि परेका छन् भने अम्बानी पछाडि धकेलिए ।
तर, फोब्र्सको शुक्रबारको विवरणअनुसार अम्बानीको कूल सम्पत्ति ९०.३ बिलियन डलर बराबर रही १०औं स्थानमा छन् भने अडानीको ८९.८ बिलियन डलर बराबरको सम्पत्ति रहेको छ । यो दौड जारी छ । चलिरहन्छ ।
घरायसी खाद्यानदेखि लिएर कोइला खानी, रेलमार्ग, विमानस्थल, बन्दरगाहदेखि विद्युत उत्पादनसम्मका दर्जनौं व्यवसायमा संलग्न छन् छन् गौतम अडानी । ती क्षेत्रमा उनको ठूलो हस्तक्षेप छ । अडानीको यो सफलताको रहस्य के हो ? उहाँको जीवन र व्यापार यात्रा कस्तो छ ? भन्ने बारेमा फेरी आम मानिसले थाहा पाउनु जरुरी नै छ ।
शुरुवाती यात्रा
विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित विवरणहरुका अनुसार अनुसार गौतम अडानीले १९७८ मा आफ्नो कलेजको पढाइ अधुरो छोडेर मुम्बईको हिरा व्यवसायमा हात हालेका थिए ।
उनको भाग्य १९८१ देखि चम्कन थाल्यो । जब उनको जेठो दाईले उनलाई अहमदाबाद बोलाए । दाजुले प्लाष्टिक ¥यापिङ कम्पनी किनेका थिए । तर, चल्न सकेन ।
कम्पनीलाई चाहिने कच्चा पदार्थ पर्याप्त मात्रामा उपलब्ध थिएन । यसलाई अवसरमा परिणत गर्दै, अडानीले कान्डला पोर्टमा प्लास्टिक ग्रेन्युल्स आयात गर्न थाले । १९८८ मा अडानी इन्टरप्राइजेज लिमिटेड बन्यो । जसले धातु, कृषि उत्पादन र कपडा जस्ता उत्पादनको कमोडिटी व्यापार शुरु गर्यो ।
केही वर्षमै यो कम्पनी र अडानी यस व्यवसायमा ठूलो नाम बन्न पुग्यो ।
अडानी इन्टरप्राइजेजका अनुसार कम्पनीको सेयर सन् १९९४ मा बीएसई र एनएसईमा सूचीकृत भएको थियो । त्यतिबेला एउटा सेयरको मूल्य १५० रुपैयाँ थियो । तर यो शुरुवातमात्रै थियो ।
मुन्दरा बन्दरगाह
सन् १९९५ मा अडानी समूहले मुन्दरा बन्दरगाह सञ्चालन गर्न थालेको थियो । कूल ८ हजार हेक्टरमा फैलिएको अडानीको मुन्दरा बन्दरगाह आज भारतको सबैभन्दा ठूलो निजी बन्दरगाहको रुपमा स्थापित छ ।
मुन्दरा बन्दरगाहले सम्पूर्ण भारतको कार्गो आयातको करीब एकचौथाई ह्यान्डल गर्छ । गुजरात, महाराष्ट्र, गोवा, केरला, आन्ध्र प्रदेश, तमिलनाडु र ओडिशा गरी ७ सामुद्रिक राज्यहरूमा अडानी समूहको १३ घरेलु बन्दरगाहहरूमा उपस्थिति छ ।
यसमा एक विशाल कोइलाबाट चल्ने पावर स्टेशन र एक विशेष आर्थिक क्षेत्र पनि छ ।
मुन्दरा बन्दरगाहमा विश्वको सबैभन्दा ठूलो कोइला अनलोडिङ क्षमता पनि छ । यो बन्दरगाह विशेष आर्थिक क्षेत्र अन्तर्गत बनेको हो, जसको अर्थ यसको प्रवद्र्धक कम्पनीले कुनै कर तिर्नु पर्दैन ।
हो, यही हो- राज्यशक्तिको दुरुपयोग भएको । व्यवसाय गरेपछि राज्यलाई कर तिर्नु पर्दैन भन्ने मान्यताको विकास सोही बन्दरगाहमा शुरुवात भएको देखिन्छ ।
यस क्षेत्रमा पावर प्लान्ट, निजी रेलवे लाइन र एक निजी एयरपोर्ट पनि छ । तर, ती कुनै पनि व्यवसायको सरकारलाई राजश्व तिर्नु पर्दैन ।
जनवरी १९९९ मा, अडानी समूहले विल एग्री बिजनेस समूह विल्मारसँग व्यवसायिक हात मिलाएर खाद्य तेल व्यवसायमा प्रवेश गर्यो ।
आज, अडानी-विल्मर कम्पनीले देशमा सबैभन्दा बढी बिक्री हुने फर्च्यून खाद्य तेल उत्पादन गर्छ । फर्च्युन आयलबाहेक, अदानी समूहले पिठो, चामल, दाल, चिनीजस्ता उपभोग्य वस्तुको क्षेत्रमा दर्जनौं उत्पादनहरू उत्पादन गर्दछ ।
सन् २००५ मा, अडानी समूहले भारतीय खाद्य निगमसँगको सहकार्यमा देशमा ठूला ठूला साइलो उत्पादन गर्न थालेको थियो । खाद्य भण्डारणका लागि साइलोजलाई प्रभावकारी मानिएको छ ।
शुरुमा, २० वर्षको सम्झौतामा, अदानी समूहले देशका विभिन्न राज्यहरूमा खाद्य भण्डरण गर्ने विशेष स्थान साइलोज बनायो ।
तिनीहरूको स्थापनाका लागि अडानी समूहले त्यस्ता एकाइहरूबाट भारतभर वितरण केन्द्रहरूमा खाद्यान्नको आवागमनलाई सहज बनाउन निजी रेल लाइनहरू पनि निर्माण गर्यो ।
आजसम्म अडानी एग्री लजिस्टिक लिमिटेडले भारतको खाद्य निगम र मध्य प्रदेश सरकारको खाद्यान्न आफ्नो भण्डारण स्थलमा राख्छ । यसमा भारतीय खाद्य निगमको ५.७५ लाख मेट्रिक टन र मध्य प्रदेश सरकारको ३ लाख मेट्रिकटन खाद्यान्न राखिएको छ ।
कोइला खानी
फर्च्युन इन्डिया म्यागजिनका अनुसार सन् २०१० मा अडानीले अष्ट्रेलियाको लिंक इनर्जीबाट १२ हजार १४७ करोडमा कोइला खानी किनेको थियो । गिली बेस्ट क्वीन आइल्याण्डको यो खानीमा ७.८ बिलियन टन खनिज भण्डार छ । जसले हरेक वर्ष ६० मिलियन टन कोइला उत्पादन गर्न सक्छ ।
इन्डोनेसियामा तेल, ग्यास र कोइलाजस्ता प्राकृतिक स्रोतहरू प्रशस्त छन् । तर, पूर्वाधारको अभावका कारण यी स्रोतहरूको पर्याप्त सदुपयोग गर्न सकिएको छैन ।
सन् २०१० मा अडानी समूहले इन्डोनेसियाको दक्षिणी सुमात्रा टापुबाट कोइला ढुवानी गर्न डेढ अर्ब डलर बराबरको पूँजी लगानीको घोषणा गर्यो । यसका लागि त्यहाँको प्रान्तीय सरकारसँग दक्षिण सुमात्रामा निर्माण हुने रेल परियोजनाका लागि सम्झौता भएको थियो ।
त्यतिबेला यो जानकारी दिँदै इन्डोनेसियाको लगानी बोर्डले अडानी समूहले दक्षिण सुमात्रा टापुको कोइला खानीबाट कोइला हटाउन ५ करोड टन क्षमताको कोइला ह्यान्डलिंग पोर्ट निर्माण गर्ने र २५० किलोमिटर रेल लाइन बिछ्याउने बताएको थियो ।
व्यापार विस्तार
अडानी साम्राज्यको कारोबार सन् २००२ मा ७६.५ करोड डलर थियो । जुन २०१४ मा बढेर १० अर्ब डलर पुगेको थियो ।
सन् २०१५ पछि अडानी समूहले सेनालाई रक्षा उपकरण आपूर्ति गर्ने काम पनि सुरु गरेको थियो । केही समयपछि प्राकृतिक ग्यासको क्षेत्रमा व्यापार विस्तार गरेको देखिन्छ ।
किनकी, सरकारमा मोदी थिए । मोदीसँग उनको विशेष सम्बन्ध रहेको भारतीय मिडियाहरुको नै दावी छ । सन् २०१७ मा सौर्य पिभी प्यानलहरू पनि उनको कम्पनीले बनाउन थाल्यो ।
अडानी समूहले २०१९ मा एयरपोर्ट क्षेत्रमा प्रवेश गरेको हो । अडानी समूहले अहमदाबाद, लखनऊ, मंगलुरु, जयपुर, गुवाहाटी र तिरुवनन्तपुरममा ६ वटा विमानस्थलको आधुनिकीकरण र सञ्चालनको लागि जिम्मेवारी लिएको छ ।
अडानी समूहले ५० वर्षसम्म सबै ६ विमानस्थल सञ्चालन, व्यवस्थापन र विकास गर्ने गरी भारतीय सरकारबाट स्वीकृति लिएको छ ।
गौतम अडानीको नेतृत्वमा रहेको अदानी समूहको मुम्बई इन्टरनेशनल एयरपोर्ट लिमिटेडमा ७४ प्रतिशत सेयर छ । मुम्बई अन्तर्राष्ट्रिय एयरपोर्ट दिल्ली पछिको सबैभन्दा ठूलो एयरपोर्ट हो ।
विवाद
गुजरात सरकारले भारतको सबैभन्दा ठूलो बन्दरगाह मुन्दरा अडानी समूहलाई कौडीको भाऊमा जग्गा दिएको आरोप लागेको छ ।
सन् २०१० को फेब्रुअरीमा, अडानीका भाई राजेश अडानीलाई भन्सार छलेको आरोपमा पक्राउ गरिएको थियो । उनी अडानी समूहका प्रबन्ध निर्देशक समेत हुन् ।
सन् २०१४ मा अष्ट्रेलियाको फेयरफ्याक्स मिडियाले गरेको एक अनुसन्धान विवरणअनुसार गुजरातमा निर्माण भइरहेको विलासी आवास परियोजनामा संलग्न ६,००० कामदारलाई असाध्यै न्यून सेवामा काम लगाएको देखिएको थियो ।
उनीहरुको दुर्दशाको बारेमा रिपोर्ट प्रकाशित गरेको थियो । प्रतिवेदनमा कामदारको दुर्दशाको लागि अडानी समूहलाई दोष लगाइएको थियो । यी कामदारलाई अडानी समूहका ठेकेदारहरूले काममा लिएका थिए ।
तर, अडानी समूहले भने आफूले कुनै कानुन नतोडेको जिकिर गर्दै आएको छ । गुजरातको राज्य नै लागेर मजदुरमाथि दमन गरिएको थियो । घटनालाई चुपचाप मिलाइएको थियो ।
मे २०१४ मा सरकारी अधिकारीले विद्युत् उत्पादन गर्ने उपकरणहरूको आयातको मूल्य लगभग १ अर्ब डलरले वृद्धि गरी ल्याएको आरोपमा सूचनाहरू जारी गरेका थिए । त्यसलाई पनि राज्यशक्तिको प्रयोग गरे दबाइयो । कुनै विवरण सार्वजनिक हुन दिइएन ।
उत्तरी अष्ट्रेलियाको कारमाइकल कोइला खानी जो क्वीन्सल्याण्ड राज्यमा छ । अडानी समूहले त्यहाँ कोइला उत्खननको अनुमति पाएको छ । अडानी समूहले सो बारेमा धेरै विरोधको सामना गरिरहेको छ ।
मोदीसँगको सम्बन्ध
प्रधानमन्त्री नरेन्द्र मोदीसँग गौतम अडानीको निकटता सन् २००२ देखि गुजरातको मुख्यमन्त्री हुँदा देखिन थालेको हो । गुजरातमा साम्प्रदायिक दंगा भड्कियो, त्यसपछि भारतीय उद्योग परिसंघ (सीआईआई)सँग सम्बद्ध उद्योगपतिहरूले त्यसबेलाको स्थिति नियन्त्रणमा मोदीको ढिलाइको लागि आलोचना गरेका थिए ।
सोही समयमा मोदीले गुजरातलाई लगानीकर्ता मैत्री गन्तव्यको रूपमा प्रस्तुत गर्न खोजिरहेका थिए । त्यसपछि गौतम अडानीले गुजरातका अन्य उद्योगपतिलाई मोदीको पक्षमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । उनले सीआईआईसँग समानान्तर अर्को संस्था स्थापना गर्ने चेतावनीसमेत दिएका थिए । त्यसबाट सबैभन्दा बढी राहत मोदीलाई मिलेको थियो ।
सन् २०१३ को मार्चमा मोदीलाई अमेरिकाको व्हार्टन स्कूल अफ बिजनेशको एक कार्यक्रममा मुख्य वक्ताको रूपमा बोलाइएको थियो । त्यहाँ शिक्षक र विद्यार्थीको विरोधपछि नरेन्द्र मोदीलाई मुख्य वक्ताबाट हटाइयो ।
त्यसपछि कार्यक्रमको मुख्य प्रायोजक अदानी समूहले आर्थिक सहयोग फिर्ता लिएको थियो ।
सन् २०१४ मा जब मोदी र उनको पार्टीले निर्वाचन जित्यो । तब, प्रधानमन्त्री बन्न मोदी उनै अडानीको जहाज चढेर नयाँ दिल्ली उत्रिएका थिए । त्यही सम्बन्धलाई प्रयोग गरेर अडानीले भारतमा यतिबेला आसेपासे पूँजीवादको विस्तार गरिरहेका छन् । (भारतीय मिडियाहरुको सहयोगमा तयार पारिएको सामग्री)