सरकारसँग चुनाव गर्ने पैसा छैन, कसरी जुटाउने भन्ने तनावमा छुः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारसँग चुनाव गर्ने पनि पैसा नभएको बताएका छन् । सरकारसँग चुनावका लागि १० अर्ब रुपैयाँमात्रै बजेट भएको तर माग भने ५० अर्ब रुपैयाँको आएको उनले जानकारी दिए ।

बिहीबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले चुनावका सन्दर्भमा बजेट जुटाउन सरकारलाई समस्या परेको सुनाए ।

‘चुनावका सन्दर्भमा अहिले एउटा समस्या छ, बजेट छुट्याइएको छ १० अर्ब तर माग आएको छ ५० अर्ब रुपैयाँ, बाँकी ४० अर्ब रुपैयाँ कहाँ खोज्ने भन्नेमा हामी ठूलो दवावमा छौं,’ मन्त्री शर्माले भने, ‘घोषणा भएको चुनाव त गर्नैपर्यो ।’

सरकारले आगामी बैशाख ३० मा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ ।

स्रोतको अभाव भएको सरकारलाई निर्वाचनले थप चाप पारेको छ, जुन कुरा अर्थमन्त्री स्वयंले स्वीकार गरिसकेका छन् ।

अर्थमन्त्रालयमा सबैभन्दा बढी बजेट सुरक्षा निकायले मागेका छन् । गृहमन्त्रालयले स्थानीय तहको निर्वाचनको लागि २६ अर्ब चाहिने भन्दै बजेट मागेको छ ।

गृहले स्थानीय तहको निर्वाचनमा खटिने सुरक्षाकर्मीको भत्ता र म्यादी प्रहरी भर्ना गरेपछि दिनुपर्ने तलब भत्ताको लागि सो खर्च लाग्ने अनुमान गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि १२ अर्ब रुपैयाँ चाहिने भनेर माग गरेको छ । यी दुबै रकम जोडेदा ३८ अर्ब हुन आउँछ ।

तर, अर्थमन्त्रीले ५० अर्ब रुपैयाँ बराबरको माथ भएको बताए पनि क’न क्षेत्रबाट कति माग आएको भन्नेबारे केही उल्लेख गरेनन् ।


क्लिकमान्डु