९० वर्ष माथिका नागरिकलाई घरमै भत्ताः महिलामन्त्री रेग्मी



काठमाडौं । सरकारले ९० वर्षभन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पुर्याउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षभन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घर घरमै बृद्धभत्ता पुर्याउने व्यवस्था गर्ने बताएकी हुन् ।

मन्त्री रेग्मीका अनुसार अब छिट्टै यो व्यवस्था लागु गर्न सरकारले कर्मचारीलाई निर्देशन दिनेछ । यो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक भत्ता लिनका लागि स्थानीय तहको कार्यालयमै पुग्नु पर्दैन । अहिले भत्ता वितरण स्थानीय तहले वडा कार्यालयबाट गर्दै आएका छन् ।

उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुने गरी विशेष कानुन निर्माण गर्ने बताइन। उनले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि सिडमा मात्रै निर्भर नेपाल विशेष कानुन निर्माण गरेर विश्वको ध्यान आकर्षित गराउने प्रयत्नमा रहेको बताइन् ।

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई हालसम्म १८९ देशले अनुमोदन गरेका मन्त्री रेग्मीले समितिमा जानकारी गराइन ।
महिला विभेद र भेदभाव अन्त्य गर्न राष्ट्रिय कार्यका लागि समेत महासन्धीले एजेन्डा तय गर्ने उनले बताइन् । पेरुकी ग्लेडिस यकोस्टा भारगास अध्यक्ष रहेको सिड कमिटीमा नेपालबाट वन्दना राणा सदस्य छिन् ।


क्लिकमान्डु