सेयर बजारमा बुझेर लगानी गर्नेलाई प्रचण्डले केही गर्न सक्दैनन्ः पूर्वगभर्नर क्षेत्री



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका अर्थशास्त्री दिपेन्द्रबहादुर क्षेत्रीले सेयर बजारबारे माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् ।

माओवादी निकट मानिने क्षेत्रीले प्रचण्डको अभिव्यक्तिको बचाउ गरेका हुन् ।

‘बुझेर लगानी गर्नेलाई प्रचण्ड त के प्रचण्डका कार्यकर्ताले पनि केहीगर्न सक्दैनन्,’ संघीय संसदमा भएको शुक्रबारको छलफलमा क्षेत्रीले भने, ‘नबुझी लगानी गर्ने वा अरूको लहैलहैमा लगानी गर्ने डुब्छ डुब्छ ।’

सेयर बजारको बरेमा भनाइ राख्दा आफ्नो हुर्मत लिने काम भएको भन्दै क्षेत्रीले संसदसमक्ष गुनासो पोखे ।

‘मैले पनि सेयर बजारबारे केही भनाइ राखेको थिएँ तर मेरो बेइज्जत गरियो,’ उनले भने, ‘मलाई झुण्याउनु पर्छ भन्नेसम्मका प्रतिक्रिया आए । यसले राम्रो शन्देश दिँदैन ।’

उनले जो जे बिषयसँग सम्बन्धित छ, त्यही कुरालाई प्रोत्साहन गर्नु बताए ।

क्षेत्रीले पछिल्लो समय अबसरबाद मौलाएको र आफ्नो कर्तव्य सबैले भुलेको भन्दै संसदको ध्यानाकर्षण गराए ।

‘समाजवादउन्मुख अर्थतन्त्र अबको बाटो हो । तर, हामीले समाजवादउन्मुख अनुकुलको नीति बनाएनौं,’ उनले भने, ‘पुँजीलाई स्वतन्त्र रूपमा छोड्नु पर्छ ।’

सेयर बजारबारे यसो भनेका थिए प्रचण्डले

केही दिनअघि प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने लगानी सेयर बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको धारणा अभिव्यक्ति दिएका थिए । अहिले यो विषय हटकेक बनेको छ । यो अभिव्यक्तिलाई लगानीकर्ताले बजार विरोधी अभिव्यक्तिको रुपमा लिएका छन् ।

प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषयमा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजनासमेत सुनाए ।

नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एशियाली बैकहरुमा हुने गरेका बताउँदै पुँजीको लगानी पुँजीमा हुनु सामराज्यवादको विकसित हुनु, उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विषेशता भएको उल्लेख उनको भनाइ थियो।

‘अहिले धितोपत्र बोर्ड, सत्ता बजार, आइएमएफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ । हामीले यी बैंकहरुले पैसा जम्मा गरेर यता उता लगानी गर्दछन् भन्ने गरेका छौं । तर, त्यस्तो होइन् । यसरी सेयर बजारमा लगानी गर्नु सामराज्यवादका विसित रुप हुन । यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सिमित पुँजीपतिहरुको हातमा संसारकै धन एक कठ्ठा गर्ने योजना हो । उसरी विश्वको पैसा सिमित पुँजीपतिहरुले हातमा लिएर ८० प्रतिशत जनतालाई भोको र नाङगो राख्ने प्रणाली पुँजीबजार हो । पुँजीबजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्नु सक्नु पर्छ’ उनले भने ‘पुँजीबजारबाट पुँजीपतिहरुले सीधै पुँजीबाट पुँजी लिने गर्दछ । अब पुँजीको लगानी उत्पादनमा हुँदैन । धितोपत्रमा र सत्ता बजारमा हुन्छ । बैंकहरुले सीधै घरजग्गा किनबेचमा लगानी लगाउँछन् । घरजग्गाको कारोबारबाट सीधै पैसा आउने गर्दछ । थोरै लगानीमा छोटो समयमा अर्बौं कमाउने गरेका छन् । अहिले विश्वभर नै सेयर बजारमा लगानी बढ्न थालेको छ ।’ प्रचण्डले भनेका थिए ।


क्लिकमान्डु