लघुबीमा कम्पनी आवश्यक छैनः अर्थमन्त्री



काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लघु बीमा कम्पनीलाई लाइसेन्स दिनु पर्ने कुनै पनि आवश्यकता नभएको बताएका छन् ।

अर्थमन्त्री शर्माले बीमा समितिको नयाँ कार्यालय भवनको शिलान्यास कार्यक्रममा बोल्दै अहिलेको बीमा बजारमा लघुु बीमा कम्पनीलाई लाइसेन्स दिनु पर्ने आवश्यकता नै नभएको बताएका हुन् ।

लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने कुराहरु उठीरहेको उनले बताए । तर, जसको आवश्यकता नै नभएको शर्माले बताए ।

‘विषयहरु उठिरहेको छ लघु बीमा कम्पनी चाहियो । बीमा कम्पनीहरु छन् त । लघु नै चाहिनु पर्ने किन ? किसानहरुले बाली बीमा गर्न पाईरहेका छैनन् ।’ उनले भने ।

कृषि र बाली बीमामा कम्पनीहरुको ध्यान नपुगेको उनले बताए । त्यस तर्फ समेत नियामक निकायको ध्यान पुग्न बाँकी रहेको शर्माले बताए ।

बाली तथा पशु बीमामा सरकारले ८० प्रतिशत अनुदान व्यवस्था गर्दा पनि त्यसतर्फ कृषकहरुको आकर्षण बढ्न नसकेको उनले बताए ।

कृषि बाली बीमामा बीमा कम्पनी र नियमनकारी नियकायको समेत ध्यान नगएकाले बाली बीमा नभएको उनको भनाइ छ ।

सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको भएपनि त्यसमा सम्बन्धित निकायको ध्यान नजाँदा कार्यान्वयनमा समस्या आएको उनको ठहर छ ।

यदि कृषि तथा बाली बीमा गरिएको थियो भने पछिल्लो समय आएको बेमौसमी वर्षाका कारणले बालीमा पुर्याएको क्षतिलाई न्यूनिकरण गर्न सहयोग पुग्ने उनले बताए ।

त्यस्तो बीमा नगर्दा पछिल्लो समय सरकारलाई थोरैथोरै राहत दिँदा पनि ठूलो दायित्व व्यहोर्नुपरेको उनको भनाइ छ ।


क्लिकमान्डु