बोरामा सिमेन्ट बेचेर उद्योग डुबाउने कि क्लिङ्कर बेचेर सिमेन्ट अथोरिटी बन्ने ?
उदयपूर । २६ बर्षपछि पहिलो पटक नाफामा गएको उदयपूर सिमेन्ट उद्योग अब कसरी चलाउने भन्ने बहस सुरु भएको छ ।
बोरामा सिमेन्ट बेचेको आधारमा उद्योग नाफामा जान नसक्ने तर अधिकतम सम्भाबना भएको क्लिङ्कर बेच्ने प्रक्रिया सुरु नगरेको कारण उदयरपूरको अबको गन्तब्य के हुने भन्ने बहस चलेको हो ।
आफूहरुले उद्योगको संचालक समितिको नेतृत्व लिएपछि सबैलाई समेटेर अगाडि बढेका कारण लामो समयपछि उद्योग नाफामा गएको संचालक समितिका अध्यक्ष अक्रुर खड्काले बताए ।
‘अहिले पनि यतिको उद्योग खोल्न ३ अर्ब भए पुग्छ, त्यतिबेला उद्योग स्थापनामा भएको खर्च निकै ठुलो हो,’ महाप्रबन्धक पौडेलले भने ।
‘यो उद्योग रुग्ण अबस्थामा पुगेको थियो, हामीले सबै पक्षलाई समेटेर उद्योग राम्रो बनाउन प्रोत्साहन गर्यौं, सबै साथीहरुले सहयोग गर्नुभयो, हामी आएपछि यहाँ कार्यरत कर्मचारीहरुसमेत निकै खुशीभएका छन्’ उद्योग संचालक समिति अध्यक्षमा खड्काले भने ।
उद्योगका महाप्रबन्धक सुरेन्द्र कुमार पौडेल आफू ठूलो उत्साह र योजनासहित गएको भएपनि समस्याका चाङ रहेको त्यही पुगेपछि थाहा पाएको बताउँछन् ।
‘निकै ठूलो उत्साहको साथ यहाँ आएको थिएँ, मैले पहिलो चुनौति नै आफू बस्ने क्वाटरबाट खेप्नु पर्यो, क्वाटर पानी चुहिने रहेछ, पहिलो सुधार त्यसैबाट सुरु गरें,’ महाप्रबन्ध पौडेल भने ।
‘बोरामा सिमेन्ट बेचेको भरमा अब यो उद्योग चल्दैन, ट्रकमा क्लिङ्कर बेच्ने अबधारणा अनुसार काम गर्नुको विकल्प मैले देखिरहेको छैन,’ पौडेलले भने ।
पौडेलका अनुसार उनी महाप्रबन्धक भएर गएको समयसम्म सबै क्वाटरका रुमहरु पानी चुहिने अबस्थामा पुगेका थिए । उद्योग संचालन संन्तोषजनक थिएन ।
२६ बर्षमा सिमेन्ट बेचेर उभो लाग्न नसकेको उद्योग अब कसरी अगाडी बढ्छ ? भन्ने प्रश्नमा उनले फरक विकल्प सुनाए ।
‘सरकारले सिमेन्टको बोरा बेचेर अगाडी जान सक्दैन भन्नेकुरा मैले मन्त्रीज्यूलाई धेरै पटक भनिसकेको छु, अहिलेका मन्त्रीज्यूले के गर्न सकिन्छ प्रपोजल ल्याउनु भन्नु भएको छ, मैले उहाँलाई यो उद्योगलाई सिमेन्ट अथोरिटी बनाउन सकिन्छ भनेको छु,’ फरक विकल्प सुनाउँदै पौडेलले भने ।
‘हामी बोरामा सिमेन्ट होइन, ट्रकमा क्लिङकर बेच्न सक्छौं, यसो गर्न सके नेपालमा भारतबाट क्लिङकर आयात गर्दै आएका ३०/३५ वटा उद्योगलाई सेवा दिन सकिन्छ, सिमेन्ट उद्योगलाई आवश्यक क्लिङ्कर र अन्य प्राविधिक सहयोग र सेवा प्रदान गर्ने अथोरिटी बनाउन सके उदयपूर सिमेन्टले नेपालको सिमेन्ट उद्योगको स्थापना र विकासमा ठूलो योगदान पुर्याउन सक्छ,’ पौडेलले थप ब्याख्या गर्दै भने ।
उनले उदयपूर सिमेन्टको क्लिङरको गुणस्तर पनि राम्रो भएकोले त्यो काम गर्न कुनै समस्या नआउन दाबी गरे । निजी क्षेत्रले ठूला ठूला उद्योग संचालन गरिसकेकोले निजी क्षेत्रका उद्योगको गुणस्तर सुधार गर्न पनि उदयपूरको क्लिङकर सहयोगी बन्न सक्ने उनको भनाइ छ । यो प्रस्तावमा उद्योगमन्त्री नविन्द्रराज जोशी पनि सहमत भएको पौडेलले सुनाए ।
फरक ढंगबाट उद्योग अगाडि नबढ्ने हो भने अबका दिन अझ चुनौतिपूर्ण हुने पौडेलको ठम्याइ छ ।
‘बोरामा सिमेन्ट बेचेको भरमा अब यो उद्योग चल्दैन, ट्रकमा क्लिङ्कर बेच्ने अबधारणा अनुसार काम गर्नुको विकल्प मैले देखिरहेको छैन,’ पौडेलले भने ।
अन्य उद्योग प्रतिष्ठानहरुको जस्तै उदयपूर सिमेन्टको एउटा साझा समस्या विद्युतको अनियमितता पनि हो ।
‘हाम्रो उद्योगमा दिनमा ६ देखि १० पटक बिजुली जान्छ, एकपटक बिजुली जाँदा करिब एक घण्टा उत्पादन रोकिन्छ, अनि कसरी हामी पूर्ण क्षमतामा उद्योग चलाउन सक्छौं ?’ उनको गुनासो छ ।
यसबारेमा आफूहरुले नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि बारम्बार जानकारी गराएको उनले बताए । ‘उहाँले यो समस्या चाँडो समाधान गर्ने बताउनु भएको छ, अझै पूरा भएको छैन,’ पौडेलले भने ।
सो उद्योग करिब १६७ हेक्टर (५०० बिगाह) जमिनमा फैलिएको छ । रोप वेबाट चुनढुङ्गा ल्याउने व्यवस्था भएको सो उद्योगको सिमेन्टमा नेपालकै उच्चकोटीको क्लिङ्कर रहेको दाबी त्यहाँ कार्यरत कर्मचारीले गरे ।
उद्योगमा २०० वटा बकेटले चुनढुङ्गा ओसार्ने गरेको छ । एउटा बकेटमा एक पटकमा १.८ टन ओसार्ने क्षमता रहेको छ । दैनिक १० हजार टन चुनढुङ्गा उद्योगमा आउने गरेको छ ।
२०४९ सालदेखि व्यवसायिक उत्पादन सुरु गरेको यो कम्पनीले आजसम्म कुनै प्रतिफल दिन सकेको छैन । चालु आर्थिक बर्षमा भने उद्योगले करिब १७ करोड खुद नाफा गर्न सफल भएको छ ।
उद्योगमा कार्यरत कर्मचारी संघ, संगठनका प्रतिनिधिहरुले बिजुलीको समस्या धेरै रहेको र उद्योगको डेडिकेटेट लाइनबाट ५०० घरधुरीले बिजुली बालिरहेको बताए । उद्योगको बिजुली ५०० परिवारले चलाउँदा उद्योगलाई मासिक २५ लाख भार थपिएको उनीहरुको भनाइ छ । सेवा सुविधाको बारेमा उनीहरुले ‘हेटौडा सिमेन्टका कर्मचारीले पाईरहेको सेवा सुबिधा हामीले पनि पाए हुन्थ्यो’ भन्ने माग रहको बताए ।
अहिले उद्योगको संचित नोक्सानी ३ अर्ब ५० करोड रहेको छ । करिब २६ बर्ष अगाडी ६ अर्ब ५० करोडमा खुलेको उद्योगमा त्यतिबेला निकै ठूलो लगानी भएको महाप्रबन्धक पौडेलको बुझाई छ ।
‘अहिले पनि यतिको उद्योग खोल्न ३ अर्ब भए पुग्छ, त्यतिबेला उद्योग स्थापनामा भएको खर्च निकै ठुलो हो,’ महाप्रबन्धक पौडेलले भने ।
उद्योगमा जापानी प्रविधि जडान गरिएको छ । यस्तो प्रविधि जडान गरिएको उद्योगमा कुनै प्राविधिक समस्या देखिए मर्मत सम्भारको लागि निकै समय लाग्ने गरेको पौडेलले सुनाए ।
‘जापानी प्रबिधि जडान भएको उद्योग बिग्रदा बनाउन समेत निकै कठिन हुने गरेको छ, दक्ष जनशक्ति र आवश्यक उपकरणको अभाबमा यस्तो हुने गरेको हो,’ उनले भने ।