बीमा व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा बढ्दै



काठमाडौं । निर्जीवन बीमा कम्पनीको व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा बढ्दै गएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा निर्जीवन बीमा व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा ७.८६ प्रतिशत छ । गत आवको सोही अवधिको तुलनामा निर्जीवन बीमा कम्पनीको कुल व्यवसायमा सामुन्द्रिक बीमाको हिस्सा २.५३ प्रतिशत विन्दुले बढेको हो ।

गत आवको पहिलो त्रैमासमा निर्जीवन बीमा व्यसायमा सामुन्द्रिक बीमाको हिस्सा ५.३३ प्रतिशत मात्रै थियो । बीमा समितिका अनुसार चालु आवको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले ७४ करोड ६७ लाख रुपैयाँको सामुन्द्रिक बीमाको व्यापार गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ६८.७९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले ४४ करोड २४ लाख रुपैयाँ बीमाशुल्क सामुन्द्रिक बीमाबाट उठाएका थिए ।

४२ हजार बीमालेख जारी

समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुमा सामुन्द्रिक बीमालेखको संख्या बढेको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा निर्जीवन बीमा कम्पनीहरुमा ४२ हजार ७५५ वटा सामुन्द्रिक बीमालेख जारी भएका छन् । गत आवको सोही अवधिमा ३४ हजार ६३९ वटा सामुन्द्रिक बीमालेख जारी भएका थिए ।

सात करोड दावी भुक्तानी

चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीहरुले सात करोड ७ साल ६३ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेका छन् ।
गत आवको यसै अवधिमा कम्पनीहरुले सामुन्द्रिक बीमाको दावीवापत ८ करोड २३ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेका थिए ।

के हो सामुद्रिक बीमा ?

सामुद्रिक बीमा अर्थात कार्गो बीमा कुनै सामान विदेशबाट ल्याउँदा अथवा विदेश लैजाँदा क्षति नहोस् भनेर गरिने बीमा हो । अर्थात एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसापसार गर्दा हुने क्षतिलाई बहन गर्नका लागि गरिने बीमा सामुन्द्रिक बीमा हो ।

सुरक्षित व्यापार गर्न तथा अनावश्यक नोक्सानीबाट बच्न निकासी पैठारी दुवै व्यापारमा सामुद्रिक बीमा आवश्यक मानिन्छ । निकासी पैठारी व्यापारमा सामान गन्तव्यमा नपुगेसम्म बिभिन्न जोखिमहरूबाट हानी नोक्सानी हुन सक्छ । त्यस्तो हानी नोक्सानीबाट हुने जोखिम बहन गर्नका लागि सामुन्द्रिक बीमा गरिन्छ ।

अझ खासगरी नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रमा सामान ल्याउन र पठाउन बढी समय लाग्छ । सामुद्रिक बीमाले निकासी पैठारीको दौरानमा हुने हानी नोक्सानीबाट आर्थिक राहत प्रदान गछ्र्र ।

सामान ल्याउने देश, लाग्ने समय र सामानको प्रकृति अनुसार बीमाशुल्क फरक फरक हुन्छ । बीमा कम्पनीहरुले सम्पूर्ण जोखिम, आधारभूत जोखिम र न्यूनतम जोखिमका आधारमा बीमाशुल्क लिने गर्छन् । सामान आयात गर्दा होस् या निर्यात गर्दा सामान चोरी भएमा, हराएमा, नष्ट भएमा त्यसको क्षतिपूर्ति सामुन्द्रिक बीमालेखले गर्ने गर्दछ ।


क्लिकमान्डु