बीमालेख धितो राखी बीमितले लिए ५४ अर्ब कर्जा, कुन कम्पनीबाट कति ?



काठमाडौं । जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी कर्जा लिन सक्ने व्यवस्था छ ।

बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्छन् ।

बीमालेख बाहेक अन्य धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रिया झनझट मुक्त मानिन्छ ।

जीवन बीमालेख सम्बन्धी निर्देशिका,२०७८ बमोजिम बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

समितिले गत असारमा नयाँ निर्देशिका जारी गर्दै बीमालेख धितो राखी प्रदान गर्ने कर्जामा कडाइ गरेको थियो । यस अघि बीमितिले दुई किस्ता प्रिमियम तिरेपछि बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था थियो ।

निर्देशिका अनुसार बीमितहरुले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ ।

साथै, एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

बीमा कम्पनीहरुले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा ब्याज लिन पाउने व्यवस्था बीमा समितिद्वारा जारी निर्देशिकाले व्यवस्था गरेको छ ।

ब्याजदरको निर्धारण गर्दा भने बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको बयाजदरभन्दा बढी नहुने गरी बीमा कम्पनीको सञ्चालक समितिको स्वीकृति लिई निर्धारण गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

चालु आवको पहिलो त्रैमासको अवधिमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुबाट बीमितले बीमालेख धितो राखी ५४ अर्ब २२ करोड रुपैयाँ कर्जा लिएका छन् ।

चालु आवको पहिलो त्रैमासको अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका बीमितले आफ्नो बीमालेख धितोमा राखि २० अर्ब ५७ करोड ३२ लाख रुपैयाँ कर्जा लिएका छन् ।

नेपाल लाइफका बीमितपछि एलआईसी नेपालका बीमितले बीमालेख धितो राखी १४ अर्ब ५८ करोड १६ लाख रुपैयाँ कर्जा लिएका छन् ।

नेशनल लाइफका बीमितले बीमलेख धितो राखी ६ अर्ब ५५ करोड ३४ लाख, एशियन लाइफका बीमितले ३ अर्ब १३ करोड ५७ लाख रुपैयाँ कर्जा लिएका छन् ।

सबैभन्दा कम रिलायवल नेपाल लाइफका बीमितले कर्जा लिएका छन् । कम्पनीका बीमितले बीमालेख धितो राखी ७ करोड ७२ लाख रुपैयाँ कर्जा लिएका छन् ।

बीमा कम्पनीलाई १ अर्ब ४३ करोड रुपैयाँ आम्दानी
चालु आवको पहिलो त्रैमासको अवधिमा १९ जीवन बीमा कम्पनीहरले बीमालेख धितो राखी कर्जा प्रवाह गरी एक अर्ब ४३ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

कम्पनीहरुले प्रकाशित गरेको चालु आवको वित्तीय विवरण अनुसार बीमालेख धितो राखी सबैभन्दा धेरै कर्जा प्रवाह नेपाल लाइफले गरेको छ भने आम्दानी पनि नेपाल लाइफ कै बढी देखिएको छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमासको अवधिमा बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा ५९ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा एलआइसी नेपालले बीमालेख धितो राखी कर्जा प्रवाहबाट ३८ करोड एक लाख रुपैयाँ आम्दानी गरेको छ ।

नेशनल लाइफले यस्तो कर्जा प्रवाह गरेवापत १४ करोड रुपैयाँ आम्दानी गरेको छ । एशियन लाइफले ५ करोड रुपैयाँ, प्राइम लाइफले ४ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

यस्तै, राष्ट्रिय बीमा संस्थान, गुराँस लाइफ, मेट लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा ३÷३ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् ।

यूनियन लाइफले २ करोड रुपैयाँ आम्दानी गरेको छ । भो महालक्ष्मी लाइफ र ज्योति लाइफले १÷१ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् भने सिटिजन लाइफ, रिलायन्स लाइफ, आईएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले करोडभन्दा कम रकम आम्दानी गरेका छन् ।

यस्तै, प्रभु लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा प्राप्त हुने आम्दानी वित्तीय विवरणमा उल्लेख गरेका छैनन् ।


क्लिकमान्डु