जीवन बीमा अभिकर्ताहरुको कमिशन खर्च १३%ले बढ्यो, कुनले कति गरे ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिaमा बीमा अभिकर्ताका लागि दिईने कमिशन खर्च १३.०६ प्रतिशतले बढेको छ ।

चालु आवको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई वितरण गर्ने रकम १३.०६ प्रतिशतले बढेर ४ अर्ब ३ लाख ९५ हजार रुपैयाँ पुगेको हो ।

गत आवको यसै अवधिमा कम्पनीहरुले अभिकर्ता कमिशनका लागि ३ अर्ब ५३ करोड ८३ लाख ५७ हजार रुपैयाँ खर्च गरेका थिए ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनमा धेरै रुपैयाँ खर्चेको छ । कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन खर्च २.८४ प्रतिशतले बढाएर ९९ करोड ६१ लाख ४ हजार रुपैयाँ पुर्याएको छ ।

गत आवको असोज महिनामा नेपाल लाइफले ९६ करोड ८६ लाख रुपैयाँ खर्च गरेको थियो ।

यस्तै, नेपाल लाइफपछि अभिकर्ता कमिशन शीर्षकमा धेरै रकम खर्च गर्ने कम्पनीमा एलआईसी नेपाल, नेशनल लाइफ, युनियन लाइफ परेका छन् ।

एलआइसी नेपालको अभिकर्ता कमिशन खर्च ७.६८ प्रतिशतले घटेर ५० करोड १४ लाख रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन शीर्षकमा ५४ करोड ३२ लाख रुपैयाँ खर्च गरेको थियो ।

यस्तै, नेशनल लाइफको अभिकर्ता कमिशन खर्च २७.४३ प्रतिशत र युनियन लाइफको अभिकर्ता कमिशन खर्च २.१५ प्रतिशतले बढेको छ ।

नेशनल लाइफले यस अवधिमा अभिकर्ताका लागि ३७ लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ । भने युनियन लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनवापत २९ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ ।

यस अवधिमा चार कम्पनीले अभिकर्ता कमिशन खर्च घटाएका छन् ।

एलआइसी नेपाल, प्राइम लाइफ, गुँरास लाइफ र राष्ट्रिय बीमा संस्थानले अभिकर्ता कमिशन खर्च घटाएका हुन् ।

बीमक र बीमितबीच समन्वय गराई मध्यस्तकर्ताको काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । अभिकर्ताहरुले बीमा पोलिसी बिक्री गरेपछि कम्पनीबाट निश्चित रकम पाउने व्यवस्था छ ।

बीमा अभिकर्ताको काम, कर्तव्य तथा उनीहरुले पोलिसी बिक्रि गरेवापत पाउने कमिशनका बारेमा बीमा ऐनले नै व्यवस्था गरेको छ ।

अभिकर्ताले पाउने कमिशन भने बीमालेख अनुसार फरक फरक हुन्छ । अभिकर्ताले बीमितले तिरेको बीमाशुल्कको पहिलो र दोस्रो बीमाशुल्कको २५ र त्यसपछि ५ प्रतिशतका दरले कमिशन पाउछन् ।


क्लिकमान्डु