नेपाल पुनर्बीमा कम्पनीको वित्तीय विवरण प्रकाशनमा किन हुन्छ ढिलाइ ?



काठमाडौं । नेपालमा हाल ४१ वटा बीमा कम्पनीहरुले बीमा व्यवसाय गर्दै आइरहेका छन् ।

४१ कम्पनीमध्ये निर्जीवन बीमा कम्पनीको संख्या २०, जीवन बीमा कम्पनीको संख्या १९ र पुनर्बीमा कम्पनीको संख्या २ छ ।

३९ बीमा कम्पनीहरुले चालु आव २०७८÷७९ को प्रथम त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् ।

तर, नेपाल पुनर्बीमा कम्पनीले गत आवको चौथो त्रैमाससम्मकै वित्तीय विवरण सार्वजनिक गर्न नसकेको अवस्था छ ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्मको मात्रै वित्तीय विवरण प्रकाशित गरेको छ ।

अहिलेसम्म गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गर्न नसक्नुमा कम्पनीहरुले विवरण पठाउनका लागि गरेको ढिला सुस्ती मुख्य कारण रहेको कम्पनीले बताएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले शनिबार आयोजना गरेको बीमा क्षेत्रका पत्रकारहरुसँग अन्तक्र्रिया तथा छलफल कार्यक्रममा समयमा नै वित्तीय विवरण प्रकाशन गर्न नसक्नुका पछाडि यस्ता समस्या रहेको प्रस्ट पारेको हो ।

कतिपय कम्पनीहरुले विवरण पठाउन ढिलाई गर्ने गरेका कारणले गर्दा समयमा नै आफूले वित्तीय विवरण सार्वजनिक गर्न नसकेको कम्पनीको दाबी छ ।

भनेको बेलामा कम्पनीहरुले तथ्यांक नपठाउनुमा उनीहरुको प्राविधिक कारण समेत रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले प्रस्ट पारे ।

कतिपय कम्पनीहरुले त नियतबशले समेत आफूले भनेको समयमै विवरण नपठाउने गरेको उनको आरोप छ ।

जस कारणले आफ्नो प्रफमेन्समा धक्का पुर्याएको रायमाझीले गुनासो पोखे ।

अन्य कम्पनीले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसक्दा आफुले गत आवको चौथो त्रैमाससम्मकै वित्तीय विवरण सार्वजनिक गर्न नसक्दा सरकार तथा नियामक निकायलाई के जवाफ दिने भन्ने अवस्था समेत नरहेको रायमाझीले बताए ।

‘अरु कम्पनीहरुले चालु आवको असोज मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरिसके । मैले गएको आर्थिक वर्षकै चौथौ त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्न सकेको छैन,’ उनले भने ।

‘कतिपय कम्पनीहरुले भनेको बेलामा केहीले प्राविधिक कारणले त केहीले नियतवश नै वित्तीय विवरण नपठाइदिने, यस्तोमा धितोपत्र बोर्डले के रिपोर्टिङ गर्ने, बीमा समितिलाई मैले के भन्ने,’ उनले भने ।

नेपाल पुनर्बीमा कम्पनी यी र यस्ता अन्य विभिन्न खालका समस्यामा गुज्रिरहेको उनको भनाइ छ ।

देशमा एक मात्रै पुनर्बीमा कम्पनीबीच निजी क्षेत्रको अर्को पुनर्बीमा कम्पनी स्थापना हुँदा प्रतिष्पर्धामा जानुपर्ने अवस्था आएको उनले बताए ।
प्रतिष्पर्धाका लागि आफू खरोरुपमा उत्रने उनले दाब्ी गरे ।

‘प्रतिष्पर्धा आएको छ, प्रतिष्पर्धामा खरोरुपमा उत्रिनु पर्ने समय आएको छ,’ उनले भने ।


क्लिकमान्डु