घरजग्गाको मूल्य वार्षिक २६.४५% बढ्यो, त्रैमासिक रुपमा सूचकांक सार्वजनिक गरिने: राष्ट्र बैंक



काठमाडौं । घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्ने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षण अनुसार सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६÷७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत छ ।

मालपोत कार्यालयबाट प्राप्त तथ्याङ्कका आधारमा यस्तो मुद्रास्फीति २०७५÷७६ को तुलनामा २०७६÷७७ मा १९.७३ प्रतिशत थियो ।

त्यसैगरी, आर्थिक वर्ष २०७७÷७८ को प्रथम ९ महिनामा यस्तो मुद्रास्फीति क्रमशः १६.३१ प्रतिशत र १२.५७ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷७८ को पहिलो ९ महिनामा घरजग्गाको कारोवारमा केही शिथिलता आएकोले घरजग्गा मुद्रास्फीति केही कमी रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा. प्रकाश श्रेष्ठले हरेक ३ महिनामा घरजग्गा मूल्यको विषय प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷७६ साललाई आधार मानेर प्रतिवेदन सार्वजनिक गर्ने छ । सो अनुसार आर्थिक वर्ष २०७६÷७७ घरजग्गाको मूल्य २६.४५ प्रतिशतले बढेको देखिएको हो ।

नेपाल राष्ट्र बैंकले देशभरमा २० जिल्लालाई नमूना मानेर घरजग्गा सर्वेक्षण गरेको हो । तथ्यांक संकलनको लागि ६ वटा बैंकलाई लिएको छ । जसमा नेपाल बैक, एनआईसी एशिया बैक, ग्लोबल आईएमई बैक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैक र प्रभु बैंक छन् ।

साथै, अब त्रैमासिकरुपमा घरजग्गाको मूल्य सूचकांक सार्वजनिक समेत गरिने कार्यक्रममा जानकारी दिइएको छ ।


क्लिकमान्डु