दुर्घटना बीमा निर्देशिका जारी, एक महिना अवधिको पनि गर्न सकिने



काठमाडौँ । बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । समितिले दुर्घटना बीमाको स्तरीकृत बीमालेख तयारी गरी त्यसका लागि आवश्यक पर्ने बीमादर समेत निर्धारण गरी प्रचलनमा ल्याउन बीमा ऐनअनुसार निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार दुर्घटना बीमालेख एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्रै जारी हुनेछ । बीमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति (घण्टा र मिनेट सहित) उल्लेख गर्नुपर्ने व्यवस्था छ ।

बीमा कम्पनीहरुले व्यक्तिगत दुर्घटना बीमालेख र सामूहिक दुर्घटना बीमालेख गरी दुई प्रकारको बीमालेख जारी गर्नुपर्नेछ ।

बीमितको अनुरोधमा निर्जीवन बीमा कम्पनीहरुले छोटो अवधिको लागि बीमालेख जारी गर्न सकिने समेत व्यवस्था गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

छोटो अवधिका बीमालेखमा लाग्ने बीमाशुल्क समेत फरक हुने निर्देशिकामा उल्लेख छ । व्यक्तिले आफ्नो आवश्यकता अनुसार एक महिनाका लागि समेत बीमालेख खरिद गर्न सक्ने व्यवस्था निर्देशिकामा व्यवस्था छ ।

निर्देशिका अनुसार एक महिनासम्मका लागि वार्षिक बीमाशुल्कको २५ प्रतिशत, एकदेखि ३ महिनाका लागि ५० प्रतिशत, ३ देखि ६ महिनाका लागि ६० प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मका लागि शतप्रतिशत बीमाशुल्क लाग्ने छ ।

बीमालेख जोखिम प्रारम्भ भएको अर्को वर्ष सोही मितिको अघिल्लो मध्यरात १२ बजे बीमा अवधि समाप्त हुने व्यवस्था निर्देशिकाले गरेको छ ।
व्यक्तिगत दुर्घटना बीमाको लागि न्यूनतम बीमादर प्रतिव्यक्ति प्रतिहजार न्यूनतम २ रुपैयाँ हुनेछ ।

बीमा समितिले जारी गरेको निर्देशिका अनुसार व्यक्तिगत दुर्घटना बीमाका लागि न्यूनतम बीमादर प्रतिव्यक्ति प्रतिहजार दुई रुपैयाँ कायम गरिएको छ ।

व्यक्तिगत दुर्घटना बीमालेखमा एकपटक बीमालेख जारी भएपश्चात बीमा अवधिभर बीमादर बढाउन वा घटाउन नपाउने व्यवस्था निर्देकिशकाले गरेको छ ।

यस्तै, सामूहिक दुर्घटना बीमा अन्तर्गत दुई देखि २५ जनासम्मको लागि प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ, २६ जनादेखि १०० सम्मको लागि प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ७५ पैसा, १०० भन्दा बढीको लागि प्रतिव्यक्ति प्रतिहजार न्यूनतम १ रुपैयाँ ५० पैसा बीमादर तोकिएको छ ।

क्षतिपूर्ति स्वरुप एक लाख रुपैयाँभन्दा बढी रकमको औषधोपचार खर्च लिन चाहेमा थप औषधोपचार खर्चका लागि थप गरिएको बीमाङ्कको पाँच प्रतिशत बीमाशुल्क कायम हुने समितिले जानकारी दिएको छ ।

बीमाशुल्क गणना गर्दा प्रतिबीमालेख एकसय रुपैयाँभन्दा कम बीमाशुल्क लिन नपाउने व्यवस्था निर्देशिकाले गरेको छ । तर, लघुबीमा अन्तर्गतपर्ने दुर्घटना बीमालेखको हकमा भने यो व्यवस्था लागू नहुने समितिको भनाइ छ ।


क्लिकमान्डु