नयाँ बानेश्वर सडकको खाल्डो पुर्न एक साता लाग्ने



काठमाडौं । सोमबार विहानदेखि नै नयाँ बानेश्वरको मुख्य सडकमा खाल्डो परेको छ । जसका कारण दिनभर यातायात आवगमन तनावग्रस्त बन्यो ।

ट्राफिकलाई त्यस क्षेत्रको व्यवस्था मिलाउन हम्मेहम्मे भयो । सडक डाईभर्सनको विकल्पमा समेत पुगेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । यो क्षेत्रको सडक १ लेनमा सञ्चालन गर्नपर्ने अवस्थामा थियो ।

काठमाडौं सडक डिभिजन कार्यालय प्रमुख नारायणप्रसाद निहुरेका अनुसार सडकमुनि रहेको ढल निकासको मंगलका कारण यो खाल्डो बनेको उनले बताए ।

‘निकै जीर्ण भइसकेको ढलमा एक्कासी पानीको चाप बढ्दा मंगल भत्किएको हुनसक्छ,’ उनले भने ।

प्रतिनिधिसभा भवनबाट आएको ढल निकासको पाइप यो मंगलमा जोडिएको छ । र, मंगल हुँदै मुख्य ढलतर्फ अर्को पाइप पठाइएको देखिन्छ । प्रायः ढल वा खानेपानीको पाइप सडकमुनि बिछ्याइन्छ । ढल सफा र मर्मत गर्न मंगल राख्ने गरिन्छ ।

यस्तो मंगलहरु विभिन्न ठाउँमा राखिन्छ । यसमा मान्छे छिरेर सफा गर्न र मर्मतसम्भार गर्न मिल्ने गरी राखिएको हुन्छ । कहिलेकाहीँ ढल निकासमा समस्या परे मंगाल उघारेर हेर्न मिल्ने पनि निहुरेले बताए ।

ढलको चाप धान्न नसकेर मंगल भत्किएको निहुरेले बताए । त्यसबाट चुहिएको पानीले सडकभित्र ठूलो खाल्डो पारेको देखिन्छ । त्यो मंगल निकै ठूलो र पुरानो पनि देखिन्छ । मंगाल ईट्टाद्वारा बनाइएका कारण फुटेको हुनसक्ने पनि उनको भनाइ छ ।

‘कहिले बनाइएको हो यकिन भइसकेको छैन । पुरानो मंगल भएकाले फुटेर सडक खाल्डो पारेको हुनसक्छ,’ उनले भने ।

अहिले यो खाल्डो एक्साभेटरले खन्दै जाँदा झन्डै पाँच मिटर लम्बाइ, त्यति नै चौडाइ र करिब १५ फिट गहिरो खाल्डो बनेको निहुरेले बताए ।

‘भित्र जतिजति ठूलो भ्वाङ पर्दै गयो, सडकको पिचले भार थेग्न नसकेपछि पिच भत्किएको देखिन्छ,’ उनले भने ।

यसपालि पहिलेभन्दा बढी मनसुन ढिलासम्म सक्रिय हुँदा अत्यधिक पानी परेको थियो । पानी परेसँगै उपत्यकाका विभिन्न ठाउँहरुमा ढल निकासमा चाप परेको देखिन्थ्ये । ढलबाट पानी सडकमा नै जमिरहेका देखिन्थ्यो ।

यो खाल्डोको निर्माण कार्य सम्पन्न गर्न झण्डै ४ देखि ५ दिन लाग्ने विभागले जानकारी दिएको छ ।

‘शुरुमा नयाँ मंगाल बनाउनका लागि काम गरिन्छ । मंगालको काम सकिएपछि मात्र खाल्डो पुर्ने काम गर्न मिल्छ,’ उनले भने, ‘खाल्डो पुर्ने काम सकिएपछि मात्र सडक कालोपत्रे हुन्छ । यो सब काम गर्न झण्डै १ हप्ता समय लाग्न सक्छ ।’


क्लिकमान्डु